विश्वप्रसिद्ध धर्मगुरुद्वारा न्यूयोर्कमा प्रवचन

१३ असार २०७०, बिहीबार ०२:१३ मा प्रकाशित

न्यूयोर्क – गत जुन १६ तारिखका दिन शेर्पा किदुग भवनमा विश्वप्रसिद्ध लेखक, साहित्यकार तथा औतारी धर्मगुरु सोग्याल रिन्पोछेले न्यूयोर्कका युवा विद्यार्थीलाई सुखी, खुसी र सार्थक जीवनसम्बन्धी प्रवचन दिनुभयो । प्रवचनमा उहाँले व्यस्त र तनावग्रस्त आधुनिक जीवनमा बुद्धको ज्ञानको उपयोगिता, दैनिक जीवनमा बौद्ध शिक्षाको प्रयोजन अनि दुःखबाट मुक्त रहन बौद्ध ज्ञानमा आधारित उपायहरुका साथै ध्यान विधि पनि बताउनु भएको थिए ।

करिब साढे तीन घण्टा लामो प्रवचनमा रिन्पोछेले विश्व शान्ति, करुणा र प्रज्ञा गरी तीन मूलभूत विषयमा आधारित भगवान् बुद्धका उपदेशलाई सारांशमा व्यक्त गर्न सकिने बताउँदै श्लोक वाचन गर्नुभएको थियो । असल कर्मको फल राम्रो हुने बताउनुहुँदै उहाँले मानव जीवन अमूल्य भएकाले यसको भरपूर उपयोग गर्नुपर्ने बताउनु भयो । प्रवचनमा रिन्पोछेले आफ्नो सामथ्र्र्यले भ्याएसम्म अरुको कल्याण गर्नु र नसके अरुलाई हानि पुग्ने कार्य पनि नगर्न बारम्बार सम्झाउनु भयो । अंग्रेजी साहित्यमा विशेष दखल भएका रिन्पोछेले प्रवचनका क्रममा विभिन्न रोचक प्रसंग, सान्दर्भिक उदाहरण र मीठा उखानहरु जोड्दै वातावरणलाई आनन्दमय बनाएका थिए ।

बुद्धका अमूल्य शिक्षाहरुलाई तन, वचन र मनले स्वीकार गरी व्यवहारमा उतार्न सके त्यसबाट लाभ लिन सकिने जानकारी दिंदै उहाँले दैनिक जीवनमा यसलाई लागू गर्न दृढ संकल्पको आवश्यकता पर्ने बताउनुभयो । नियमित रुपमा ध्यान गर्ने व्यक्तिको मस्तिष्कमै आमूल परिवर्तन हुने तथ्य आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको यथार्थ औंल्याउँदै रिन्पाछेले भन्नुभयो, ‘तन र वचनभन्दा मन बढी शक्तिशाली हुने र मनले नै सबै कुरा नियन्त्रण गर्ने हुनाले सर्वप्रथम मनलाई नै तालिम दिन
ध्यान जरुरी छ ।’

शेर्पा किदुग र वज्र टीभीले संयुक्त रुपमा आयोजना गरेको सो प्रवचन कार्यक्रमको शुरुमा शेर्पा किदुगका महासचिव सांगे शेर्पाले स्वागत मन्तव्य दिनुका साथै कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । किदुगका संस्थापक अध्यक्ष सोनाम ग्याल्छेन शेर्पाले रिन्पोछेको संक्षिप्त जीवनी सुनाउनुभएको थियो । प्रवचन सुन्न न्यूयोर्कका शेर्पा समुदायका लामाहरुलगायत हिमाली मूलका शेर्पा, तामाङ, गुरुङ, मनांगे र मुस्ताङीहरु सहित भुटानी, तिब्बती, सिक्किमी र अन्य श्रश्र पश्चिमी मुलुकका मानिसहरु जम्मा भएका थिए । अनलाइन बुकिङमार्फत वितरण गरिएको निशुल्क टिकट २ हप्तापहिल्यै सकिएपछि बहुसंख्यक विद्यार्थीहरुको अनुरोधमा आयोजकहरुले शेर्पा किदुगको तल्लो तल्लामा समेत प्रोजेक्टरमार्फत सुन्न र हेर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

आयोजक वज्र टीभीका संस्थापक तथा निर्देशक थुप्तेन चाक्रिशारले शेर्पा किदुगका सदस्यहरुबाट आफू प्रभावित भएको बताउँदै भविष्यमा यस्ता कार्यक्रमहरु आयोजना गर्न थप उत्साह मिलेको बताए । त्यसै गरी किदुगका अध्यक्ष आङ गेल्जेन शेर्पाले यस प्रकारको कार्यक्रम आफैंमा पहिलो अनुभव भएको र युवापिढीको बौद्ध दर्शनप्रतिको लगावलाई मध्यनजर गर्दै छिट्टै अन्य कार्यक्रमहरु पनि ल्याउने जानकारी दिनुभयो । सोग्याल रिन्पोछेले दिनुभएको प्रवचन व्यावहारिक, वैज्ञानिक मात्र नभई आधुनिक संसारका लागि अत्यन्त लाभदायी भएको अधिकांश विद्यार्थीले प्रतिक्रिया दिएका थिए ।

नजिकबाट रिन्पोछे
धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकार्य हुनुहुन्छ । महागुरु ज्याम्याङ खेन्चे छोकी लोडो, क्याब्जे दुजोम रिन्पोछे र दिल्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाँले लण्डनको क्याम्ब्रिज युनिभर्सिटीबाट मास्टर्स डिग्री सिध्याउनुभयो । जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा उहाँले लेख्नुभएको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख मानिसले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा अनुवाद भइसकेका छन् । ३० लाखभन्दा बढीको संख्यामा छापिएको सो पुस्तक हाल ८० देशहरुमा विक्री वितरण भइरहेका छन् ।

संसारका कतिपय विश्वविद्यालयहरुको पाठ्यक्रममा समावेश भइसकेका छन् भने अन्य संस्थान, अनुसन्धानाशाला, अस्पताललगायत डाक्टर र नर्सहरुले समेत व्यापक रुपमा प्रयोग गर्न थालेका छन् । रिन्पोछे रिग्पा नामक अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका संस्थापक तथा निर्देशक हुनुहुन्छ । उक्त संस्थाको ३० वटा देशहरुमा जम्मा १ सय ३० वटा शाखाहरु खुलिसकेका छन् । उहाँले विगत तीन दशकदेखि यूरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरुमा आध्यात्मिक शिक्षाहरु प्रदान गर्दै आउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत