अपजश आउने डरले विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन भारत हच्कियो

१२ असार २०७०, बुधबार २२:१९ मा प्रकाशित

काठमाडौं, १२ असार । निर्वाचनका लागि अर्बौ रुपैयाँबराबरको सहयोग गर्न तत्पर रहेको भारतले विद्युतीय मतदान यन्त्र भने उपलब्ध नगराउने भएको छ । प्राप्त जानकारीअनुसार भारत सरकारले विद्युतीय मतदान यन्त्र अनुदानमा दिन नसकिने कुराको जानकारी औपचारिक तवरमै निर्वाचन आयोगलाई गराइसकेको छ । तर, नेपालले त्यस्तो मेसिन भारतसँग खरिद गर्न चाहेमा भने सकारात्मक रूपमा लिइने बताइएको छ । भारतले निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाको मागबमोजिम निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने अन्य भौतिक सामग्री अनुदानमै उपलब्ध गराउने भएको छ । नेपाली सेनाले ठूला आकारका दुई हेलिकोप्टर माग गरेकोमा उक्त मागप्रति पनि भारत सकारात्मक रहेको बताइन्छ । करिब एक हजार गाडीदेखि मसीसम्म अनुदान दिन तयार भएको भारतले विद्युतीय मतदानयन्त्र मात्र उपलब्ध गराउन नचाहनुको पछाडि विशेष कारण रहेको छ । 
एक सूत्रले दिएको जानकारीअनुसार विद्युतीय मतदानयन्त्रसमेत अनुदानमा उपलब्ध गराइएमा निर्वाचनपश्चात् पराजित पक्षले आफू पराजित हुनुको सम्पूर्ण दोष त्यही यन्त्र र भारतमाथि लगाइन सक्ने देखेर भारतीय पक्ष विद्युतीय मतदानयन्त्र अनुदानमा दिन हच्किएको हो । स्मरणीय छ, भारतको बिहार प्रान्तमा भएको निर्वाचनमा आफू पराजित भएपछि त्यहाँका शक्तिशाली नेता लालुप्रसाद यादवले पनि आफ्नो पराजयको कारण यान्त्रिक गडबडी भएको भन्दै विद्युतीय मतदानयन्त्रलाई दोष दिएका थिए । नेपालीको मानसिकतालाई बुझेर नै भारतले उक्त यन्त्र अनुदानमा नदिने निर्णय गरेको बुझिएको छ । यसरी भारतले मतदानयन्त्र अनुदानमा नदिने जानकारी नेपाललाई समयमै गराइसकेको भए पनि सरकार र निर्वाचन आयोगले यस सम्बन्धमा कुनै ठोस निर्णय लिएका छैनन् । बरु दर्शाएको मौनताले सरकार र आयोग विद्युतीय मतदानयन्त्रबिना नै मतदान सम्पन्न गर्न चाहन्छन् भन्ने देखाएको छ । मतपत्र छपाइमा प्राप्त हुने कमिसनबापतको आर्थिक लाभले आकर्षित गरेको कारणले पनि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले विद्युतीय उपकरणतर्फ चासो नराख्नुभएको बताइन्छ । उप्रेतीले मतपेटिका सानो भएकोले ठूलो आकारको खरिद गर्नुपर्ने भन्दै उक्त कार्यमा विशेष अभिरुचि लिनुभएको छ । हजारौँको सङ्ख्यामा मतपेटिका खरिद गर्दा करोडौँ रुपैयाँ कमिसन प्राप्त हुने भएकोले पनि यस कार्यमा रुचि लिइएको बुझ्न सकिन्छ ।
निर्वाचनमा विद्युतीय मतदानयन्त्र (विमय) को प्रयोग हुने कुरा मात्रले पनि सचेत मतदातामा खुसी छाएको थियो । विगतका निर्वाचनमा जे भएका भए पनि अबको निर्वाचन धाँधलीरहित या कम धाँधलीयुक्त हुने आशा गरिएको थियो । विद्युतीय मतदानयन्त्र (विमय) भारतले अनुदानमा नदिने र नेपालले खरिद नगर्ने भएपछि मतपत्रमै आधारित मतदान हुने सम्भावना बढेको छ, यससँगै धाँधलीको सम्भावना पनि त्यत्तिकै बढेको छ । यता मतपत्रमा आधारित मतदान हुने उता पूर्वलडाकु तथा वाईसीएललाई म्यादी प्रहरीमा भर्ना गरेर मतदान केन्द्रमा खटाइने भएपछि जनमत जसको पक्षमा भए पनि कागजी मत अर्कैको पक्षमा हुनसक्ने सम्भावना टड्कारो हुँदै गएको छ । विद्युतीय मतदानयन्त्र (विमय) को प्रयोग भएमा काङ्ग्रेस, एमालेलगायतका धाँधली गर्न नसक्ने दलहरू लाभान्वित हुने र मतपत्रमा मात्र आधारित मतदान हुँदा त्यसको सम्पूर्ण लाभ एमाओवादी र मधेसकेन्द्रित दलका केही उम्मेदवारहरूले मात्र उठाउन सक्ने ठानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४