वैद्यलाई मनाउन चौतर्फी प्रयास जारी, चीनले पनि दियो दबाब

१२ असार २०७०, बुधबार ०७:३२ मा प्रकाशित

काठमाडौं, १२ असार । नेकपा–माओवादीलगायत ३३ दल निर्वाचन बिथोल्न प्रतिबद्ध भएपछि चुनाव पक्षधर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू माओवादीलाई ‘लाइन’मा ल्याउन क्रियाशील भएका छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी र मधेसी मोर्चा तथा चुनावी सरकारले माओवादीलाई समझदारीमा ल्याउन नसकेपछि अन्तर्राष्ट्रिय समुदाय मोहन वैद्यमाथि दबाब सिर्जना गर्न लागिपरेका छन् । छिमेकी भारतले त निकै अघिदेखि नै नेपालको निर्वाचन प्रक्रियालाई हरतरहले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएकै थियो, अब अर्को छिमेकी चाइनाले पनि चुनावको पक्षमा वातावरण बनाउन सहयोग पुर्‍याउने बुझिएको छ । 
यतिबेला नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी नेकपा माओवादीलाई चुनावी प्रक्रियामा सामेल हुन आग्रह गर्ने वचन दिएको छ । तर, चिनियाँ जोड माओवादी पार्टी एकीकरण गरी चुनावी वातावरण बनाउनु रहेको बताइन्छ । अमेरिकालगायत पश्चिमा मुलुकहरू पनि पछिल्लो समयमा निर्वाचनका पक्षमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउँदै विभिन्न ढङ्गले क्रियाशील हुन थालेका छन् । एक सूत्रबाट प्राप्त जानकारीअनुसार संयुक्त राज्य अमेरिकाको एक विशेष टोली पनि आगामी केही हप्ताभित्रै नेपाल आएर चुनावको पक्षमा वातावरण थप सुदृढ बनाउन सहयोग पुर्‍याउने भएको छ ।
यसरी भारत, चीन, अमेरिका र युरोपेली समुदायसमेत ‘वैद्य’लाई मनाउन क्रियाशील भएपछि माओवादी पनि चुनावमा सहभागी हुन बाध्य हुने विश्वास गरिएको छ । कदाचित माओवादीलगायतका दलहरू चुनावमा सहभागी हुन राजी नभए कुनै पनि हालतमा निर्वाचन गराउन सरकारलाई हरतरहको सहयोग पुर्‍याउने वचन अन्तर्राष्ट्रिय समुदायले दिलाएका छन् । यसको सीधा अर्थ माओवादीलाई ‘हरेक प्रकारले फकाउने, कुनै हालतमा नमाने ठटाउने’ नीति राज्यले लिने स्थिति बन्नेछ । माओवादी चुनावमा सहभागी हुन राजी भएमा उच्चस्तरीय राजनीतिक संयन्त्र विस्तार गरी उनीहरूलाई समेत सामेल गराउने र सरकारमा पनि माओवादीको सिफारिसमा एक वा बढीमा दुईजनासम्म मन्त्री थप गरिदिने सोच चुनावपक्षीय शक्तिहरूले बनाएका छन् । त्यसैगरी समानुपातिकतर्फ सभासद्हरूको सङ्ख्या थप गरिदिने पनि बताइएको छ । समानुपातिक सभासद्हरूको सङ्ख्या बढाइएमा अशोक राई नेतृत्वको जातीय पार्टी र उपेन्द्र यादव नेतृत्वको क्षेत्रीयतावादी समूह पनि चुनावमा सहभागी हुन आउने विश्वास गरिएको छ । हरहालतमा निर्वाचन सम्पन्न गराउन अन्तर्राष्ट्रिय समुदायको जोड भएपछि सरकार पनि चुनावी वातावरण बनाउन थप क्रियाशील हुने भएको छ । चुनाव गराएर छाडिन्छ भन्ने सन्देश दिइएमा निर्वाचनको विपक्षमा रहेका शक्तिहरू एक्लिँदै जाने स्थिति बन्ने आशा सरकारले गरेको छ । आगामी सातादेखि सरकार आक्रामक ढङ्गले चुनावको पक्षमा वातावरण बनाउन सक्रिय हुने बुझिएको छ ।
यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू चुनावको पक्षमा सक्रिय हुने तयारीमा रहेको भए पनि माओवादीले वर्तमान सरकार विस्थापित गरी सर्वदलीय सरकार गठन गरिनुपर्ने, संविधानका विवादित विषयमा राजनीतिक दलबीच पहिले नै ठोस सहमति बन्नुपर्ने, खिलराज रेग्मी नेतृत्वमा सरकार निर्माण गर्ने क्रममा भएका सहमति खारेज हुनुपर्नेलगायतका सर्त अहिले पनि यथावत् राखेको छ । मतभिन्नता र विवाद यसरी यथावत् रहेको परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय शक्तिहरूको तीव्र दबाब भए पनि माओवादी कसरी सहमतिमा आउला– जिज्ञाशा र चिन्ताको विषय बनेको छ । अन्तर्राष्ट्रिय शक्तिहरूको क्रियाशीलताले माओवादीलाई सहमतिमा आउन बल नपुर्‍याए पनि सरकार र चुनावमा जान तयार भएका दलहरूको मनोबल बढाउन भने सहयोग पुर्‍याउने ठानिएको छ । सरकार र चुनावपक्षीय दलहरूको मनोबल बढेमा जसरी भए पनि चुनाव सम्पन्न हुने स्थिति त बन्नसक्ला, तर माओवादी थप आक्रोशित बन्ने र मुलुकमा नयाँ प्रकारले द्वन्द्व पैदा गर्ने सम्भावना पनि त्यत्तिकै देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा