पार्टी एकताका लागि प्रचण्ड र वैद्य सुटुक्क महराको घरमा

११ असार २०७०, मंगलवार २२:१६ मा प्रकाशित

काठमाडौं, ११ असार । ‘हाम्रा पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रघाती तथा लालगद्दार भएर निस्के, अब उनीसँग रहेर काम गर्न सकिन्न !’ तत्कालीन एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले यस्तै अभिव्यक्ति दिँदै मूलपार्टी त्यागेर लगभग एक वर्षअघि नेकपा–माओवादी नामको नयाँ पार्टी जन्माएका थिए । उनले त्यतिबेला पुरानो पार्टीले क्रान्तिको कार्यदिशा भूलेको तथा संसदीय भासमा लगेर पार्टी–क्रान्तिलाई नै रसातलमा पु¥याएको आरोप लगाएका थिए । तर, यतिबेला उनै ‘लालगद्दार’ प्रचण्डको त्यही पुरानो पार्टीसँग आफूले जन्माएको नयाँ ‘क्रान्तिकारी’ पार्टीलाई विलय गराउने अभ्यासमा मोहन वैद्य जुटेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड र ड्यास माओवादी अध्यक्ष वैद्यबीच पार्टी एकीकरणसम्बन्धी घनीभूत छलफल चल्न थालेको बुझिएको छ । 

एमाओवादीका एक केन्द्रीय नेताका अनुसार प्रचण्ड र वैद्यबीच पार्टी एकीकरणका विषयमा पटक–पटक गोप्य भेटवार्ता तथा फोनसम्वाद भएका छन् । पार्टी एकताका लागि गरिएका प्रत्येक छलफल वा वार्ता सकारात्मक बन्दै गएको पनि स्रोतको दाबी छ । उनीहरूबीच मंगलबार दिउँसो पनि पार्टी एकताकै विषयमा निर्णायक तवरको भेटवर्ता भएको छ ।
एमाओवादीका प्रभावशाली एवम् मध्यमार्गी नेता कृष्णबहादुर महराको ललितपुरस्थित निवासमा भएको गोप्य भेटवार्तामा पार्टी एकीकरण गर्ने विषयमा प्रचण्ड र वैद्य सहमतिनजिक पुगेको स्रोतको भनाइ छ । एकीकरणका विषयमा महरानिवासमा यसअघि पनि पटक–पटक भेटवार्ता भएका थिए । सूत्रका अनुसार एमाओवादीका महरा तथा माओवादीका नेत्रविक्रम चन्दको विशेष पहलबाट उनीहरूबीच पार्टी एकीकरणका विषयमा छलफलका उपक्रम सम्भव भएको हो । पार्टीका शीर्ष नेताहरूलाई समेत जानकारी नदिई मंगलबार महरानिवासमा भएको गोप्य छलफलमा प्रचण्ड र वैद्यबीच पार्टीको भावी कार्ययोजना तथा पार्टी एकीकरण गर्दा कसरी गर्ने भन्ने प्राविधिक पक्षमा आधारित छलफल भएको बताइन्छ ।
स्रोतले जनाएअनुसार आगामी निर्वाचनअघि नै पार्टी एकीकरण कार्य सम्पन्न गरेर निर्वाचनमा सहभागी भई भरसक दुईतिहाइ बहुमत ल्याएर पार्टीलाई शक्तिशाली बनाउने, निर्वाचनपछि सरकारको नेतृत्व प्रचण्डले गरेर पार्टीनेतृत्व (अध्यक्ष)को जिम्मेवारी वैद्यको पोल्टामा हालिदिने मौखिक सहमतिसमेत भएको छ । प्रचण्डले ‘पार्टी एकता हुने निश्चित भएर नै तपाईंको स्थान खाली छोडेको हुँ’ भन्दै वैद्यलाई फुस्ल्याएका थिए । यस विषयमा छिट्टै सहमतिमा पुगी निर्वाचनमा सहभागी हुनुपर्ने वैद्यसमक्ष प्रचण्डको प्रस्ताव थियो । जवाफमा वैद्यले आफ्नोभन्दा पनि अन्य साथीहरूलाई कसरी मिलाउने भन्ने समस्या रहेको बताएका थिए । बताइएअनुसार उनले यस विषयलाई आफूले पार्टीको केन्द्रीय कमिटी बैठकमा राखी सकारात्मक निर्णय गर्ने वचन दिएका छन् । प्रचण्डले भने पार्टी एकीकरण हुँदा कुनै पनि सहमति गर्न सकिने धारणा राखेका थिए ।
पार्टी एकीकरणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट चर्को दबाब आएको भन्दै छलफलमा पार्टी एकीकरणको विकल्प नरहेको निष्कर्ष निकालिएको छ । चिनियाँ नेताहरूले पनि नेपाल भ्रमणका क्रममा आफूहरूबीच एकतामा जोड दिएको भन्दै एकता हुनुअघि दुवै पक्षले राखेका सर्त र पार्टीको नयाँ कार्यदिशाबारे स्पष्ट हुनुपर्नेमा पनि प्रचण्ड र वैद्य एकमत भएको बुझिएको छ ।
मंगलबार दिउँसो चिनिया“ स्टेट काउन्सिलर याङ जेइचीसँगको भेटलगतै वैद्यसँग भेट गर्न पुगेका प्रचण्डले चिनियाँ नेताहरूसँगको भेटमा भएका कुराहरूसमेत वैद्यलाई जानकारी गराएका थिए । वैद्यसँग भेट गर्नुअघि प्रचण्डले माओवादी सचिव नेत्रविक्रम चन्दसँग पनि भेट गरेका थिए । चन्दले पार्टी एकीकरणका लागि प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरासँग पटक–पटक छलफल गरिसकेका छन् ।
‘अहिले पार्टी एकीकरणका विकल्प हामीले देखेका छैनौँ,’ प्रचण्डनिकट एक नेताले भने, ‘त्यसैले हामी सबै पार्टी एकीकरणको अभियानमा लागेका छौँ, अध्यक्षजी पनि त्यसैमा लागिरहनुभएको छ ।’ उनले छिट्टै पार्टी एकीकरण हुने सङ्केत देखिएको जिकिर गर्दै भने, ‘यसबीचमा कतैबाट चलखेल भएन भने हामी छिट्टै संयुक्त पार्टी बन्नेछौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा