‘हिन्दु राज्य’ बनाउन छुट्टै दल

१० असार २०७०, सोमबार ०८:३५ मा प्रकाशित

विष्णु सुब्बा, झापा, १० असार । हिन्दु राष्ट्र कायम गराउन झापाका हिन्दुवादीहरुले छुट्टै पार्टी खोलेका छन् । आगामी संविधानसभाको निर्वाचनलाई लक्षित गरेर जिल्लाका कट्टर हिन्दुवादीहरुले हिन्दु राष्ट्र नेपाल नामक संस्था खोलेर पार्टीको रुपमा मान्यता दिने तयारीमा छन् । बिर्तामोडमा गत शुक्रबार विभिन्न पार्टीका प्रतिनिधिहरु भेला भई सो संगठनलाई औपचारिकता दिएका हुन् । २५ सदस्यीय कार्यसमिति रहेको सो संगठनको अध्यक्षमा रामचन्द्र बाँनिया छन् । त्यस्तै, समितिको उपाध्यक्षद्वय विष्णु अधिकारी, गिरीराज पौडेल, महासचिवमा हरि गौतम, सचिवमा टेकनाथ घिमिरे र कोषाध्यक्षमा पंकज पोद्दार रहेका छन् । 
संगठनले हिन्दु राष्ट्रलाई पुनस्र्थापित गराउन सडकदेखि सदनसम्म आफ्ना मुद्दालाई अगाडि बनाउने बताइएको छ । ‘हामीले बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको राष्ट्रको रुपमा हिजोको नेपाल चाहेका छौं’ नवगठित सो संगठनका उपाध्यक्ष अधिकारीले जानकारी दिए । उनी नेकपा माले सम्बद्ध अगुवा कार्यकर्ता हुन् । उनले भने– ‘हामी सबै दलका आस्थावान धार्मिक अगुवाहरुको पहलमा हिन्दु राज्यको अपरिहार्यतालाई बलियो रुपमा उठाउन संगठित भएका छौँ ।’
८१ प्रतिशत बढी हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेका नेपाललाई हिन्दु राज्य बनाइनुपर्ने उनको भनाई थियो । सो संगठनमा नेका, एमाले, एमाओवादी लगायतका मुख्य राजनीतिक दलका जिल्लास्तरीय नेताहरु संलग्न रहेका छन् । उनीहरुले सो संगठनलाई छिट्टै सार्वजनिक गर्ने तयारी गरेका छन् । हिन्दु धर्मसहितको गणतन्त्र स्थापना हुनुपर्ने मुख्य लक्ष्यका साथ सो संगठनले आगामी निर्वाचनमा समेत भाग लिने अधिकारी बताउँछन् । ‘राजा पुनस्र्थापित हुनुपर्छ भन्ने पक्षमा छैनौं’, नेता अधिकारी भन्छन्– ‘तर, गणतन्त्र नेपालमा हिन्दुराष्ट्रको विकल्प छैन ।’ उनले हिन्दु धर्म प्राचीन र विश्वमा एक मात्र नेपालमा रहेकाले समेत यो धर्मलाई कायम गराउन चाँडै दल दर्ता गर्ने तयारी रहेको बताए ।
स्मरण रहोस्, केही महिनाअघि मात्र ब्राह्मणवादीहरुले पनि हिन्दु धर्म कायम हुनुपर्ने भन्दै दमकका व्यवसायी लक्ष्मीप्रसाद संग्रौलाको अध्यक्षतामा राष्ट्रिय स्वाभिमान पार्टीको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा