यूनियनको नाममा माओवादीको दादागिरी, आफ्नै कामदारका अगाडि लगानीकर्ता निरीह !

६ असार २०७०, बिहीबार ०८:०२ मा प्रकाशित

काठमाडौं, ६ असार । मुलुकमा राजनीतिक संक्रमणले जरा गाड्दै गर्दा त्यसको रोग अन्य क्षेत्रतिर पनि फैलिन थालेको छ । ‘जनयुद्ध’का नाममा ‘धनयुद्ध’ सिकेका माओवादी नेता कार्यकर्ताको सिको गर्दै शान्तिमार्गमा आएका भनिएका उनीहरुको चन्दा आतंक तथा जबरजस्तीबाट यतिबेला कयौं लगानीकर्ता पीडित बन्न पुगेको अवस्था छ । खासगरी ठूला उद्योगी तथा व्यवसायी आफ्नै जागिरे कर्मचारी तथा मजदूरबाट यूनियनका नाममा पीडित बन्न पुगेका छन् । जागिरेको बोलवाला बढ्दै जाँदा लगानीकर्ता निरीह मात्रै होइन, लगानीको भविष्य नदेख्दा चिन्तामा परिरहेका छन् । करोडौं लगानी गरेर उद्योग/व्यवसाय सञ्चालन गरिरहेको एउटा उद्योगी/व्यवसायी आफैंले पालेका कर्मचारी तथा मजदूरका अमर्यादित तथा अव्यावहारिक क्रियाकलापबाट आजित हुनु पर्दा न राज्यले चासो दिएको पाइन्छ, न त अन्य कसैले नै ।
कर्मचारी तथा मजदूरको हकहित तथा उनीहरुको सुविधाका लागि भन्दै खोल्ने गरिएका यूनियनहरु यतिबेला लगानीकर्ताको हितविपरीत लागि परेको देखिन्छ । करोडौंको लगानीमा सञ्चालित उद्योगधन्दा तथा व्यवसायमाथि माओवादीले यूनियनका नाममा गर्दै आएको ज्यादतीले सीमा नाघिसक्दा पनि लगानीकर्ताको पीडा या गुनासो सुनिदिने, उनीहरुमाथि भइरहेको जबरजस्तीपूर्ण अन्यायी व्यवहारतर्फ ध्यान कतैबाट नदिइँदा लगानीकर्ताले लगानी असुरक्षित ठान्दै त्यस्ता उद्योग÷व्यवसाय बन्द गर्नुको विकल्प छैन ।
केही दिनअघि माओवादी मजदूर तथा कर्मचारीको ज्यादतीपूर्ण व्यवहारले हजारौंको रोजीरोटी बेहोर्दै आएको सूर्य नेपाल नामको गार्मेन्ट बन्द गर्न बाध्य भए त्यसका लगानीकर्ता । सेवा–सुविधाको नाममा नसुहाउँदा माग तेस्र्याउँदै व्यवस्थापन पक्षलाई दबाब दिँदा कतिपय उद्योगधन्दा बन्दको संघारमा पुगेको अवस्था छ । माओवादीको ट्याग भिरेका उसका कार्यकर्तामा यस्तोसम्मको उच्छृंखल सोच पलाएको देखिन्छ कि लगानीकर्ताको लगानी बालुवामा पानी नै होस्, तर मजदूर र कर्मचारीलाई सुविधा
चाहियो नै ।
एउटा कथन छ, ‘न रहे बाँस, नबजे बाँसुरी !’ माओवादीको ट्याग भिरेका मजदूर तथा कर्मचारीले यूनियनका नाममा यस्तै हर्कत मच्चाइरहेको पाइन्छ । उदाहरणका लागि एउटा होटलमा कार्यरत कर्मचारी र मजदूरकै व्यवहारको चर्चा गरौं । होटल भन्ने बित्तिकै त्यहाँका मजदूर तथा कर्मचारीको व्यवहार भनौँ या उनीहरुको व्यवहारमा हुनुपर्ने मुख्य गुण भनेकै मर्यादा, नम्रता, सत्कार र शिष्टाचारपूर्ण व्यवहार र आज्ञाको पालक हुनुपर्दछ । तर यस्तो व्यवहार अचेल कुनै पनि होटलका मजदूर तथा कर्मचारीमा देख्न सकिन्न । त्यसको प्रमुख कारण आफ्नै हकहितका लागि भनेर खोलिएका राजनीतिक ‘यूनियन’ हो भन्दा फरक पर्दैन ।
यूनियनमा आवद्ध रहेका कर्मचारी या मजदूर भनौं या उनीहरुको आशीर्वाद पाएकाहरु नै किन नहोऊन्, उनीहरुको व्यवहार देख्दै होटलमा जाने पाहुनालाई झट्का लाग्ने अवस्था छ । आफ्नो माग पूरा गराउने नाममा होटलमा आएका पाहुनाको सेवा गर्नू त परैको कुरा होटलबाट पाहुना बाहिर निकालेर तालाचावी लगाइदिने, मालिकलाई नै प्रवेश गर्न नदिने, पाहुनालाई खाना÷खाजा समेत उपलब्ध नगराउने, कालोपट्टि बाँधेर काम गर्ने गरेको पाइएको छ । यस्तो व्यवहार कति सुहाउँदो हो, त्यो कसले बुझिदिने ? करोडौंको लगानी गरेर व्यवसाय गर्दै आएका होटल व्यवसायी होऊन या अन्य उद्योग या व्यवसाय गर्दै आएका लगानीकर्ता नै किन नहोऊन्, विगत डेढ दशकदेखि उनीहरुमा लगानीको सुरक्षाले चिन्तामा परिरहेका छन् । एघार वर्षसम्म माओवादी विद्रोहका नाममा कहिले चन्दा, कहिले सुराकी या अन्य राजनीतिक पार्टीमा आस्था राखेकै भरमा लगानी असुरक्षित ठानेर या धन्नै नसकेर केही उद्योगी÷व्यवसायीले आफ्ना उद्योग÷व्यवसाय बन्द गरे, कतिले धिरेधिरे धानिरहे । तर माओवादी पनि आफ्नो विद्रोहपूर्ण व्यवहारलाई पन्छ्याउँदै शान्तिपूर्ण मूल राजनीतिक लाइनमा समाहित भए पनि उद्योग÷व्यवसायमाथि उसको व्यवहार ‘भूमिगत’ कालको भन्दा फरक देखिएको छैन ।
मजदूरको अधिकार भनेको आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन हो । तर नेपालका मजदूर जो माओवादी यूनियनमा आबद्ध छन्, उनीहरु यूनियनको आडमा यतिसम्म दादागिरी मच्चाइरहेका छन् कि त्यो ‘…लाई भन्दा देख्नेलाई लाज’को अवस्था छ । करोडौं लगानी गर्ने लगानीकर्ताले आफ्नो इच्छा अनुसार कर्मचारी र मजदूर भर्ना गर्न नसक्ने अवस्था यूनियनले नै सिर्जना गराएका छन् । कसैले जानाजानी गल्ती गरिरहेको छ, या अटेरपन गरिरहेको छ अझै भनौं बद्मासी गरिरहेको छ भने त्यस्ता मजदूर या कर्मचारीमाथि कारबाही गर्न खोजीयो भने यूनियनले हस्तक्षेप गर्छ । यूनियनले मजदूर तथा कर्मचारीको हकहितका लागि काम गर्छ भने बद्मासी गर्ने मजदूर तथा कर्मचारीमाथि कारबाही पनि उसले गर्नुपर्ने होइन र ? आश्चर्यको विषय यहीँनेर छ ।
माओको देश चीनमा कुनै पनि उद्योग÷व्यवसायमा यूनियन भन्ने नै छैन । तर, माओको राजनीतिक दर्शन बोकेर हिँडेका माओवादीले किन यूनियनका नाममा यस्तो अराजकता प्रदर्शन गर्दै देशको आर्थिक मेरुदण्ड बनिरहेका ठूला उद्योग÷व्यवसायमाथि ‘ज्यादतीपूर्ण आतंक’ मच्चाइरहेका हुन् ? बुझ्न सकिएको छैन ।
उद्योग÷व्यवसायमा गठन गरिएका माओवादीका यूनियन हेर्ने माओवादी मजदूर नेताहरु यस्तैखाले गतिविधि मच्चाउन लगाएर ‘समस्या मिलाउने’ नाममा लगानीकर्ताबाट अनुचित लाभ लिन पल्केका छन् । एमाओवादीका मजदूर नेता शालिकराम जम्कट्टेल हुन् या माधव पाण्डे, रमेश पन्तहरुको ‘धन्दा’ भनेकै ठूला उद्योगी÷व्यवसायीलाई आर्थिकरुपमा सताउने रहेको छ । आफैँ धामी, आफैँ बोक्सी बन्ने जम्कट्टेल/पाण्डेहरुका क्रियाकलापले गर्दा उनीहरुका कार्यकर्ताको व्यवहार अहिले पनि विद्रोहकालमा भन्दा चर्का रहेको गुनासो पीडित व्यवसायीहरुको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।