नवनियुक्त न्यायाधीशलाई झलनाथको शपथ !

५ असार २०७०, बुधबार ०७:२३ मा प्रकाशित

काठमाडौं, ५ असार । निष्पक्ष न्याय दिने शपथ लिएलगत्तै न्यायाधीशहरू राजनीतिक दलका नेताको ‘दर्शनभेट’ गर्न पुगेपछि देशको न्यायिक निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । राजनीतिक भागबन्डाको आधारमा अन्य निकायमा राजनीतिक नियुक्ति हुने गरेको भए पनि न्यायाधीशहरूको नियुक्ति भागबन्डाको आधारमा नहुने अपेक्षा गरिएको थियो । तर, एमालेको भागमा दशजना न्यायाधीरू परेको खबरसँगै न्यायाधीशको नियुक्तिसमेत दलगत भागबन्डाको आधारमा भएको पुष्टि हुन पुगेको छ ।
आइतबार पुनरावेदन तथा जिल्ला अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ खाएलगत्तै एमालेको कोटाबाट न्यायाधीश बनेका १० जना न्यायाधीशले भने आफूलाई नियुक्तिका लागि सिफारिस गर्ने पार्टी एमालेको मुख्यालय पुगेर पार्टी अध्यक्ष झलनाथ खनाललाई भेटी कृतज्ञता चढाए । आफूहरूलाई न्यायाधीश बनाउने पार्टी र पार्टी नेताहरूको अहितमा कुनै काम नगर्ने अध्यक्ष खनालसमक्ष अर्को शपथसमेत लिएर उनीहरू फर्केका छन् । शपथ लिएपछि कार्यभार सम्हाल्नुको सट्टा न्यायाधीशहरू दलको कार्यालयमा गई आफ्नो पदीय मर्यादा र आचरणलाई तिलाञ्जली दिँदै न्यायालयको ओझ नै सामाप्त पारेर न्यायालयमाथिको जनविश्वासलाई तोड्ने काम गरेको भन्दै न्यायालयभित्र चर्को विरोध सुरु भएको छ । सर्वोच्च अदालतस्थित न्यायपरिषद्को सचिवालयमा आयोजित समारोहमा न्यायपरिषद्का अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माबाट शपथ लिएर अन्य न्यायाधीश आफ्नो घर तथा कार्यालयमा गए पनि एमालेको कोटामा न्यायाधीश बन्न सफल दश न्यायाधीश भने रात पारेर सोझै एमाले मुख्यालयमा पुगेका थिए । यसरी एमाले मुख्यालयमा पुग्ने नवनियुक्त न्यायाधीशहरूमा हरि भण्डारी, राजेश्वर तिवारी, रमेश राजभण्डारी, श्रीमण गौतम, यमुना भट्टराई, जगन्नाथ महतो, केशव जोशी, रमेश थापा, मनोज शर्मा, नीलम पौडेल रहेका छन् । उनीहरूले एमाले अध्यक्ष खनाल र राज्य व्यवस्था समिति सदस्य अष्टलक्ष्मी शाक्यको आशीर्वाद लिएका थिए ।
भेटमा अध्यक्ष खनालले नवनियुक्त न्यायाधीशलाई बधाई दिँदै आफ्नो पद र प्रतिष्ठाको ख्याल गरी न्याय सम्पादन गर्न सुझाव दिएका थिए । न्यायालयमाथि चौतर्फी हमला भएको भन्दै यसप्रति सजग रहन पनि उनले सुझाएका थिए । न्यायाधीशहरूलाई पार्टी कार्यालयमा स्वागत गर्न अध्यक्षसँगै कार्यालयमा एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी राज्यव्यवस्था समितिकी शाक्यले पार्टीले न्यायाधीश हुनुभन्दा पहिले दिएको जिम्मेवारी तथा बरबुझारथका लागि मात्र पार्टी कार्यालयमा आएको जानकारी दिइन् । ‘उहाँहरू पार्टीको जिम्मेवारी छाड्न र निष्पक्ष न्याय दिने प्रतिबद्धता जनाउन मात्र आउनुभएको हो,’ शाक्यले घटना र विचारसँग भनिन्, ‘यस्तो नचाहिने कुराको पछि लाग्ने काम मात्र भएको हो, न्यायाधीश भइसकेका मानिसले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरामा उहाँहरूलाई राम्रो ज्ञान छ ।’ ‘उहाँहरू देशको न्यायाधीश हो, हामीले त्यसैअनुसाको व्यवहार गर्नुपर्छ, त्यसैले उहाँहरूको प्रतिष्ठामा आँच आउने कुनै काम र कुरा गर्नु हुँदैन,’ उनले थपिन्, ‘न्यायाधीशहरूसँगको भेटको केही कुरा भएको छैन, यो कुरा उठाउनु राम्रो होइन, यत्तिकै छाडिदिनुस् ।’
शाक्यले न्यायाधीशहरूलाई पार्टीसँग गरेको प्रतिबद्धताअनुसार काम गर्न भन्दै शपथ खुवाएको कुरालाई यत्तिकै छाड्नुस् भनी न्यायसम्पादनका क्रममा गर्नुपर्ने काममा कुनै असर नपार्ने बताए पनि आमनेपाली जनतालाई यस घटनाले निराश तुल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर