बाढीले जनजीवन अस्तव्यस्त

४ असार २०७०, मंगलवार १६:३८ मा प्रकाशित

काठमाडौं, ४ असार । तीन दिनदेखिको लगातार वर्षासँगै आएको बाढी र पहिरोका कारण सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त भएको छ । वर्षाका कारण धेरै भूभाग डुवानमा परेको छ । महाकाली नदीमा आएको बाढीले दार्चुला जिल्लाको सदरमुकाम खलंगाका पाँच दर्जन घर, आधा दर्जनभन्दा बढी सरकारी कार्यालय तथा पसलहरु बगाएको छ । दार्चुला जिल्लाको सदरमुकाम खलंगाको वडा नम्बर ५ को बाँगाबगड तथा रिङ्नेतालका दुई दर्जन घर तथा पसल, खलंगाकै वडा नं. २ गल्फैका १० घर तथा पसल, तितरसैनस्थित स्रोत केन्द्र भवन, खलंगाका साथै दार्चुला–तिंकर सडकको बङाबगड खण्ड बगाएको छ । यसैगरी खलंगा वडा नम्बर २ गल्फैको बस्तीमा महाकाली नदी पसेर कटान गरिहेको छ । महकाली नदीको वहाव अत्यधिक तीव्र तथा पानीको सतह बढ्नका कारण खलंगाको बाँगाबगड, रिङ्नेताल, तिंकरखेडा, गल्फै, खेट्याबगडका साथै धाप, लाली, दत्तु र उकुका सयौ घर उच्च जोखिममा परेका छन् । अझै कटान जारी रहेकाले त्यहाँका वासिन्दा विस्थापित हुने क्रम जारी रहेको छ ।
गत आइतबार साँझदेखि नै नदीमा बाढी आएकाले आसपासका घरहरु खाली गरिएकोले ठूलो मानवीयय क्षति हुनबाट जोगिएको छ । सोमबार साँझसम्म ५३ वटा घर तथा पसल बगाएको छ । अझै पानी परिहेकोले क्षतिको विवरण आउने क्रम जारी रहेको छ । हालसम्म के कति क्षति पुगेको छ भन्ने एकीन हुन सकेको छैन । बाढीले दार्चुला जिल्ला अस्पतालको शव राख्ने घर तथा जनस्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, अपिनाम्पा संरक्षा क्षेत्रको कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, अगुवा स्रोत केन्द्र, जिल्ला खेलकूद विकास कार्यालय र खलंगाको खुला मञ्च बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र दुरसंचार कार्यालय परिसरको केही भाग बगाएको र अझै कटान भइरहेको छ ।
दार्चुलामा ११ सरकारी कार्यालयसहित ५९ घर बगाएको छ । दार्चुलाको डोजिजीबी भन्ने स्थानमा रहेको नयाँ झोलुंगे पुल र पुरानो पुल बगाएको छ । नेपाल भारत जोड्ने नाकाका यी पुल बगाएपछि त्यस क्षेत्रका जनता प्रभावित भएका छन् । दार्चुला जिल्लाको बह्मदेव गाविसको कालागाड लघुजलविद्युत आयोजनाको पावर हाउस समेत बगाएको छ । महाकाली नदीको जलस्तर नेपाल–भारत जोड्ने झोलुंगे पुलसम्म पुगेकोले पुल समेत जोखिममा परेको छ र आवतजावत बन्द भएको छ । बाढीले करोडौँको मालसमान बगाएको छ भने दार्चुला जिल्लाको सदरमुकाम ठप्प रहेको छ ।
यसैगरी वर्षाका कारण सेती नदी र बाहुलीगाडमा बाढी आउँदा बझांग जिल्लाको सदरमुकाम चैनपुर उच्च जोखिममा परेको छ । सेती नदी र बाहुलीगाडले ठूलो मात्रामा खेती योग्य जमिन कटान गरेको छ । सेती नदीले कोटदेबल गाविसको जिन्नाडा भन्ने ठाउँमा तीन घर बगाएको छ । सेती नदी र बाहुलीगाडको बीचमा रहेको सदरमुकाम चैनपुर यी दुईटै नदीमा अत्यधिक पानीको बहाव बढेपछि भय र त्रासमा बाँच्न वाध्य भएका छन् । वर्षा नरोकिएकोले क्षति कति भएको छ, एकीन हुन सकेको छैन । वर्षाकै कारण खोड्पे–बझाङ सडकखण्डको विभिन्न ठाउँमा पहिरो आउदा जिल्लाको यातायात सेवा अबरुद्ध भएको छ ।
उता कैलाली जिल्ला पनि वर्षाले नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण कैलालीको धनगढी, टीकापुर, भजनी, खैलाड, धनसिंपुर लगायत दर्जनौँ क्षेत्र डुबानमा परेको छ । धनगढी नगर क्षेत्र पनि डुवानमा परको छ । यहाँ त्यस्तो कुनै अप्िरय घटना नभए पनि डुबानका कारण सयौं घरपरिवार प्रभावित हुन पुगेका छन् । महाकाली नदिमा आएको भीषण बाढीले अछाम र बैतडीमा चार जनाको मृत्यु भएको छ । अछामको कुन्तीबन्डाली गाविस ३ मिनेन्द्र बोगटीको घर भत्किदा उनको पत्नी र छोरीको मृत्यु भएको हो । बैतडीको सिद्धेश्वर गाविसमा बाढीले घर भत्किदा २ को मृत्यु भएको छ भने तीन बेपत्ता छन् । कञ्चनपुर जिल्लाको दोधारा र चाँदनी तथा भीमदत्त नगरपालिका ११ को भुजेला क्षेत्रका नदि किनारको बस्तीमा महाकालीमा आएको बाढी पसेपछि करिब १ सय ५० परिवार विस्थापित भएका छन् । दोधारा गाविस ६ र ७ वडाका ४३ परिवार बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिएका छन् । त्यस्तै, चाँदनी गाविसका ६० परिवार सुरक्षित स्थानमा सरेका छन् । यता, भुजेलाका करिब ६० परिवार आफन्तकहाँ र सुरक्षित स्थानमा सरेका छन् । कञ्चनपुरको बर्मदेवमा रहेको टनकपुर बाँध उच्च जाखिममा परेको छ । बाढीले भुजेलाको जनज्योति प्रावि भत्काएको छ । यसैगरी, कुडा गाविस ५ सुन्दरपुर टोलमा बाढी पसेर ३० परिवार बिस्थापित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा