अब लक्ष्मण खड्काले देश बनाउने !

१ असार २०७०, शनिबार ०७:३८ मा प्रकाशित

काठमाडौं, १ असार । आफूलाई ‘नेपालको खलाँसी’ भनी चिनाउन रुचाउने लक्ष्मणसिंह खड्कालाई सिंहदरबारको मूलढोकामा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा सरसफाइ तथा रङरोगन गरेको अवस्थामा राजधानीवासी प्रायः सबैले देखेकै हुनुपर्छ । पृथ्वनारायणको मात्र नभई अन्य राजाहरू, शहिदहरू, साहित्यकार एवम् नेपालका विभूतिहरूका शालिकको सरसफाइ, संरक्षण र सिँगारपटारमा व्यक्तिगत खर्च र पसिना बगाइरहेका हुन्छन् लक्ष्मण खड्का । उनको यस्तो व्यवहार या शैलीमा गहिरो राष्ट्रप्रेम या नागरिकले राष्ट्रप्रति निर्वाह गर्नुपर्ने दायित्वबोध कुट–कुट भरिएको सहज अनुभूति गर्न सकिन्छ । हरदम सेतो वस्त्रमा देखिने लक्ष्मणसिंह नेपालका नेता र राजनीतिक दलहरू मुलुक र मुलुकवासीप्रति कृतघ्न रहेको आरोप लगाउँछन् । नेता भनिएकाहरू सत्ता–शक्तिका लागि विदेशी भूमिमा ‘आशीर्वाद’ थाप्न जाँदा आफू राष्ट्रनिर्माताको शालिक फोर्न आउने भिजिलान्ते जमातसँग एक्लै प्रतिकारमा उत्रेको घटना सम्झँदै खड्का भन्छन्, ‘नेपालमा नेता त छ्यासछ्यास्ती देखिए तर काम लाग्ने एकजना पनि भएनन्, हाम्रा नेता घर–परिवारका लागि मात्र नेता भए, देश र जनताका लागि होइन ।’ दलहरू बाह्य प्रभावमा परेकाले कुनै पनि निर्णय स्वविवेकले यिनीहरूले गर्न सक्दैनन् भन्छन् खड्का ।
हरदम सेतो वस्त्रमा देखिने उनी पृथ्वीनारायण शाहदेखि लक्ष्मीप्रसाद देवकोटासम्मका सालिक सफा गरिरहेका, सिँगारपटार गरिरहेका हुन्छन् । नेता र राजनीतिक दलहरु कृतघ्न बने पनि आफू राष्ट्र र राष्ट्रका ऐतिहासिक एवम् महत्वपूर्ण पात्रहरूप्रति कृतघ्न बन्न नसक्ने बताउँछन् । शहिदका नाममा अर्बौं बजेट छुट्याए पनि शहिदका शालिकको कन्तविजोग भएको आफू देख्न नसक्ने उनको भनाइ छ । ८३ हजार मेगावाट विद्युत् क्षमता भएको मुलुकमा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नुलाई नेपालीको दुर्भाग्य ठान्ने खड्का यो पनि नेताहरूकै अक्षमताका कारण भएको आरोप लगाउँछन् । कसैले नगरे पनि आफू एक्लै भए पनि यो मुलुकमा उज्यालो दिन ल्याउन कम्मर कसेर लागेको दाबी गर्ने खड्काले प्रत्येक नेपालीले आफूले राष्ट्रका लागि गर्न लागेको कामका निम्ति एक–एक रुपैयाँ दान गर्न आह्वान गरेका छन् । यसका लागि खड्काले विभिन्न बैंकमा खाता पनि खोलिसकेका छन् । उनले नेपाल बैंकको बचत खाता नंबर २१७१००१८०९२२, लुम्बिनी बैंकको १०२०५८७९, नविल बैंकको १७१००१७५०१३०४, बैंक अफ काठमाण्डूको ०३००००००३६२५ एनपीआर, एनएमबी बैंकको ००४००००७७९५ आर, एभरेष्ट बैंकको ००१००५०१२१४७७७, मेगा बैंकको ००१००५०१८५०१८, लक्ष्मी बैंकको ०००७२०१०००७७७२, स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीआर १८–२४६४६८३–०१, नेपाल इन्भेष्टमेन्ट बैंकको ०३२०५०३०२५६३४६ र गुडविल फाइनान्सको बचत खाता नंबर १०१०६०१४८२ मा सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिए ।
जम्मा भएको रकम मुलुकको समग्र हितमा प्राथमिकताका आधारमा विशेषगरी मुलुकका दुर्गम स्थानका जनताका लागि औषधि उपचार, शिक्षा तथा अन्य आधारभूत आवश्यकताका विषयमा खर्च गरिने र सहयोग रकमबाट विकासका प्रतिफलको साथसाथै दाताले २० वर्षपछि दिएकोभन्दा दोब्बर फिर्ता पाउने अनौठो घोषणा पनि खड्काले गरेका छन् । आफू मुलुक सिंगार्ने यो अभियानका एक्लो अभियन्ता रहेको उनको दाबी छ भने आगामी दशैंको अवसर पारेर आफ्नो अवधारणालाई व्यवहारमा उतार्ने कामको औपचारिक सुरुवात गर्ने उनको सोचाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा