‘अल्छी तिघ्रो स्वादे जिब्रो’ :: वीरेन्द्रमणि पौडेल

१ असार २०७०, शनिबार ०७:२४ मा प्रकाशित

हाम्रा पुर्खाले भन्ने गर्थे ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’ अर्थात् कामचाहिँ गर्दै नगर्ने खानचाहिँ मीठोमीठो चाहिने । कति दूरदर्शी थिए हाम्रा पुर्खा । हाम्रा पुर्खाले हिजोका दिनमा लेखेका र भनेका उखान यतिबेला हुबहु, जस्ताको तस्तै लागू हुँदै आएका छन् । आजका मान्छेले काम गर्न छाडे । हाम्रा बाबुबाजेलाई बिहान उज्यालो भएदेखि राति अबेरसम्म खेतबारीमा काम गर्न जाँगर चल्थ्यो । काम गरेकै हुनाले रोग पनि लाग्थेन । अस्पताल र डाक्टर अनि थरीथरीका औषधि नभएर पनि स्वस्थ शरीर लिएर बाँचेका थिए । तर, यतिबेला जमाना बदलियो । यो युगका नेपालीले देशभित्र काम गर्न छाडे । पहिलेपहिलेका नेपालका शासक आफू मागेर खान र जनतालाई खुवाउन लाज मान्थे । एक्काइसौँ शताब्दीका नेपालका सबै अनुहार र विचार बोकेका शासकहरूलाई मागेर खान र खुवाउन रमाइलो लाग्यो, त्यसरी खान र खुवाउनलाई नै गौरव ठाने । विक्रमसम्वत् २०१० सालमा जंगबहादुर राणा बेलायत गएर कोसेलीस्वरूप केही चिज मागेर ल्याएपछि उनकै सिको गरेर पछिल्ला शासकहरूले विदेशीहरूसँग माग्न थाले । माग्ने संस्कारलाई नै उपलब्धि ठाने । माग्न बानी पर्‍यो । माग्न लाज लाग्न छाड्यो । बिस्तारै–बिस्तारै नेपालको सरकार माग्ने सरकारको रूपमा विश्वमा चिनियो । नेपालको सरकारले कसैसँग अस्पताल माग्यो । कसैसँग बाटो माग्यो । पुल माग्यो । औषधि माग्यो । स्कुल र कलेज माग्यो । एम्बुलेन्स माग्यो । यो पनि माग्यो, त्यो पनि माग्यो । पूरै लाज पचाएर अनेकथोक माग्यो । माग्ने सरकारले मागेको माग्यै गर्‍यो । धनी र शक्तिशाली मुलुकले कठै बिचरा नेपाल † भन्दै मुसुमुसु हाँस्दै दिएको दिएकै गरे । मागेर देश चलाउने नेपाली सरकारका जनताले पनि काम गरेर खान छाडे । सत्तरीको दशकसम्म यही नेपाल हो जुन मुलुकले अन्य मुलुकलाई अन्न बेच्थ्यो । तर, आज नेपाललाई कृषिप्रधान देश भनिँदै पनि छ अनि जनतालाई अरू देशबाट अन्न मागेर ल्याएर खुवाउँदै पनि गरिँदै छ । स्थिति छर्लङ्ग छ –खेतबारीमा काम गर्न कोही तयार छैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खेत र बारी पचास प्रतिशतभन्दा बढी बाँझै छ । मुलुकभित्र काम गर्नुपर्छ भन्ने चेतना सरकारले दिन नसकेकैले होला करिब ७५ लाख नेपाली युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् । यिनलाई छाडेर नेपालमा जति बाँकी छन् यिनको दिमागमा पनि काम गरेर खानुपर्छ, उत्पादन गर्नुपर्छ भन्ने चेतना भरिएको देखिएन । काम गरेर खान सक्ने उमेरका नेपाली कोही दिनभरि तास खेलेर बस्छन्, साँझ परेपछि भट्टीमा छिर्छन् र पेटभरि मासु र रक्सी खान्छन् । कोही बिहान चिया पसल चहार्छन्, दिउँसोभरि कम्प्युटरमा खेल्छन्, साँझमा गफ गर्न निस्कन्छन् । कामको नाममा सिन्को भाँच्दैनन् । घरमा भएको खान्छन् । काङ्ग्रेस, एमाले र माओवादीलगायतका पार्टीको कुरा गर्छन् । दिन सकियो । रात सकियो । काम र उन्नतिको नाममा जिरो । कोही दिनभरि क्यारमबोर्ड र लुँडो खेल्छन् । बिहान–बेलुकाको अन्न पचाउने काम खेलेरै गर्छन् । कसैले काम गर्नुपर्छ पनि भन्दैन, खेलेर खानेको दिमागमा काम गरेर खान पर्छ भनेर आउँदा पनि आउँदैन । जसको दिमागमा आउँछ, बानी नभएकोले काम गरेर खानलाई उसलाई अल्छी लाग्छ । काम गरेर खान नसक्ने बालबालिका र बूढाबूढीको कुरा बेग्लै हो गरेर खान सक्ने खालका तमाम नेपाली जनशक्तिलाई खेतबारी र उद्योग कलकारखानामा होइन, तासको खालमा, भट्टीमा, क्यारेमबोर्डमा, फेसबुक र अन्य मनोरञ्जनका फाइल हेर्दै कम्प्युटरमा, जुलुसमा, धर्नामा, फोकटको गफमा भेटिन्छ । जहाँजहाँ भेटिन्छ सिर्फ कुरा गरिरहेको भेटिन्छ काम गरेको भेटिँदैन । यदि काम गरेको भेटियो भने उपलब्धिमूलक काममा कहीँकतै भेटिँदैन । नेपाल धेरै लामो समयदेखि यही ढङ्गले काम नगरी चलेको छ जुन अवस्था डरलाग्दो र चिन्ताजनकबाहेक अर्को हुँदै होइन ।
अनुसन्धानले देखाएको छ । छिमेकी मुलुक भारतका नागरिक नेपालका विभिन्न जिल्लामा आएर चनाचटपटे बिक्री गरेका छन् । पानीपुरी बेचेका छन् । कपाल काट्ने पसल खोलेका छन् । चनाचटपटे बेच्ने एकजनाले महिनामा बीस हजार रुपैयाँ कमाएको छ । पानीपुरी बेच्नेले बीस हजारभन्दा बढी कमाएको छ । कपाल काट्नेले महिनामा तीस हजार रुपैयाँ सजिलैसँग कमाएको छ । नरिवल र आइसक्रिम बेच्नेले पन्ध्र हजारभन्दा बढी कमाएको छ । तर, नेपाली युवाशक्ति दिनभरि बिनाकाम र अनेकथरी लाभहीन काममा अल्झिएको छ, काम गर्न अल्छी गरेको छ । यो स्थितिले नेपाललाई कहाँ पुर्‍याउँछ ? सोच्दा मात्रै पनि आङ जिरिङ्ग हुन्छ ।
कुरा नेपालको मात्रै होइन काम नगरी खाने बानी परेका अफ्रिकी मुलुक कङ्गोका जनता आफ्नै खुट्टामा उभिएर मिहिनेत गर्दा सुखी थिए । खुसी थिए । आत्मनिर्भर हुँदा उनीहरूको शान बेग्लै थियो । करिब २८ वर्षअघिदेखि जब उनीहरूले विदेशीसँग मागेर खान थाले, कङ्गो सरकारले विदेशीका अगाडि हात पसार्न थाल्यो त्यो देशका मानिसले काम गर्न छाडे । जब कङ्गो सरकारले मगन्ते संस्कारलाई पछ्यायो, कङ्गोवासीले काम गर्न छाडे तब विदेशीले दानदक्षिणा दिन बन्द गर्‍यो । यसको परिणाम कङ्गोमा लुटमार, दंगाफसाद सुरु भयो । राजनीतिक अस्थिरता चरमचुलीमा पुग्यो । हेर्दाहेर्दै कङ्गोमा विदेशीहरूले परेड खेल्न पुगे । लामो समय नबित्दै कङ्गोका जनता परनिर्भरताकै कारण भोकमरी र दु:खकष्टको भुमरीमा फस्न पुगे । यतिबेला कुरा कङ्गोको मात्रै होइन, संसारका जुनजुन राष्ट्रका नागरिक आफ्नो मुलुकमा आफ्नो सीपअनुसार काम गर्न लालायित देखिए ती देशहरूको अवस्था बिग्रिन पाएन तर जब परनिर्भरतालाई स्वीकारेर काम नगर्ने संस्कारलाई जुनजुन मुलुकले भित्र्याए ती देशको हालत ढिलोचाँडो अत्यन्तै दयनीय हुन पुग्यो । नेपालको राजनीतिक अवस्था यतिबेला तरल छ, राजनीतिमा केही हदसम्ममा गडबडीसमेत देखिएको छ । ढिलो–चाँडो राजनीतिमा सङ्लोपन आउला पनि । तर, जहाँसम्म सवाल नेपालीको काम गर्न अल्छी मान्ने, मागेर खाने स्वभावको छ, यदि यसलाई बेलैमा नसुधार्ने हो भने राजनीतिक स्थिरता कायम भए पनि नेपाल आर्थिक, सामाजिक र सबैखाले भौतिक उन्नतिका हिसाबले अघि बढ्न कदापि सक्ने छैन । अबका दिनलाई ख्यालठट्टा नसम्झिएर, नागरिक कर्तव्यलाई मनन गरी सन् १९४५ मा परमाणु बम आक्रमणबाट क्षत्विक्षत् भएको जापानले आजसम्म आइपुग्दा जति मिहिनेतसाथ काम गरेर आर्थिक रूपले सक्षम भयो त्यसरी नै नेपाली नागरिकले काम र उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ । छिमेकी चीन पनि माओकालीन समयमा धनी र सक्षम थिएन । जमिन र जनता मात्र त्यो देशमा थियो । तर, आज त्यो चीनका जनताको काम र उत्पादनप्रतिको मोहले चीनलाई संसारको ‘आर्थिक बादशाह’ बनाउनेतर्फ अगाडि बढाइरहेको छ । नेपाललाई चीन, जापान, भारत, अमेरिका, बेलायत, स्वीटजरल्यान्ड, जर्मनीलगायतका धनी र सक्षम देशको हाराहारीमा पुर्‍याउन केही गाह्रो छैन । सिर्फ कामलाई प्रेम गर्न सिक्नुपर्छ । मागेर खाने बानी परेको सरकारले जनतालाई कामका लागि प्रोत्साहन दिनुपर्छ भने सरकारले पनि माग्ने संस्कारको अन्त्य गर्नुपर्छ । माग्ने संस्कारको अन्त्य गरी काम गर्ने बानीतर्फ उन्मुख हुने हो भने नेपालमा जडीबुटी खेती गर्न सकिन्छ र नेपाली जडीबुटी निर्यातद्वारा नेपाललाई आर्थिक रूपले सम्पन्न बनाउन सकिन्छ । विकास निर्माणका नाममा अन्य झिनामसिना कुरामा नअल्झिएर नेपालको एकवर्षे बजेट सम्पूर्ण जलविद्युत् उत्पादनमा लगाएर मुलुकलाई लोडसेडिङमुक्त बनाएर विद्युत् प्रयोगद्वारा नै विभिन्न प्रकारका कलकारखाना र उद्योग सञ्चालन गर्न सकिन्छ । नेपाल विश्वको सुन्दरमध्येको सुन्दर देश हो । पर्यटन व्यवसायबाट मुलुकको आर्थिक अवस्था चाँडो फस्टाउन सक्छ । यसका लागि मुलुकभरिका युवाशक्तिलाई पर्यटकीय क्षेत्र विस्तारका लागि परिचालन गर्न सकिन्छ । मुलुकभित्रको आर्थिक परिवेशलाई सक्षम बनाउन विभिन्न जातका माछापालनका लागि युवाशक्तिलाई प्रोत्साहन दिन सकिन्छ भने विदेश निर्यात गरी आर्थिक मजबुतीका लागि आजसम्म जङ्गलमा सीमित राखिएको मृगपालन व्यवसाय सञ्चालनका लागि किसानलाई अनुमति दिन सकिन्छ । छिमेकी मुलुकहरूले बाख्रापालन व्यवसायद्वारा उत्पादित खसीबोका निर्यातद्वारा आर्थिक उन्नति गरेका छन् भने नेपालले मृगपालन व्यवसाय सञ्चालन गर्ने हो भने आर्थिक रूपले नेपाल सक्षम हुनका लागि लामो समय पर्खन पर्ने छैन । गरिब हुनु अति नै ठूलो समस्या होइन । धनी हुनु सबै समस्याको हल पनि होइन । तर, काम नगर्ने संस्कार र बानी, बेरोजगारीको अवस्था संसारको सबैभन्दा ठूलो र डरलाग्दो समस्या हो, सबै समस्याको जड हो । हरेक नेपालीलाई काम गर्ने वातावरण सिर्जना गर्ने, काम गर्न बाध्य पार्ने, काम गर्न सक्ने तर नगर्नेलाई कानुनी रूपमै दण्डित गर्ने अवस्था सिर्जना गर्ने हो भने नकारात्मक र फाल्तु कुरा गर्ने बानी परेकाहरूसमेत ठीक बाटोमा आउने छन् । मुलुकको सबैभन्दा ठूलो समस्या समाधान हुने छ । यसका लागि सरकार र राजनीतिक दल मात्र पर्याप्त नहुन सक्लान् । काम नगरी, बरालिएर, अरूको विषयमा नानाभाँती कुरा गरेर, पुर्खाले उत्पत्ति गरेका उखान ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’लाई सार्थक बनाइरहेका, पूर्णरूपले खेर गइरहेका जनशक्तिलाई ठीक मार्गमा ल्याएर राष्ट्र निर्माण प्रक्रियामा सामेल गराउन नागरिक समाजका ‘इमानदार’हरू र अन्य अन्य पेसामा आबद्धहरूले समेत एकपटक जन्मभूमिका लागि ढिलो नगरी मिहिनेत गर्नैपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा