अख्तियारका गीताको सिता बटुल्ने काइदा

२९ जेष्ठ २०७०, बुधबार २१:०३ मा प्रकाशित

काठमाडौं, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक कर्मचारीले दश लाख रुपैयाँ लिएर अनियमिततामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिने प्रयत्न गरिरहेको समाचार प्राप्त भएको छ । अख्तियार सूत्रबाट प्राप्त जानकारीअनुसार नक्कली नेपाली नागरिकता लिने ज्योतिलाल साह कलवारविरुद्ध आयोगमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी गीताप्रसाद तिमल्सिनाले निज कलवारबाट अनुचित लाभ लिएर अनुसन्धानसमेत नगरी कागजात तामेलीमा पठाउने तयारी गरेका छन् ।

विगत केही वर्षदेखि वीरगञ्जलाई केन्द्र बनाएर विभिन्न अवैध व्यापार गर्दै आएका भारतीय नागरिक ज्योतिलाल साह कलवारले झुटो व्यहोरा पेस गरी ०६३ फागुन २८ गते पर्साको विन्ध्यवासिनी गाविस वडा नं. ६ बाट नेपाली नागरिकता लिएका थिए । स्थानीय बासिन्दाले यस कुराको जानकारी पाएपछि गत वर्षको आखिरीतिर त्यस नामका व्यक्ति गाउँमै नभएको तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । त्यसरी स्थानीय बासिन्दाकै तर्फबाट उजुरी परेपछि अख्तियारले गत वैशाख ५ गते जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखी सो सम्बन्धमा प्रतिक्रिया मागी पठाएको थियो । पर्सा जिल्ला प्रशासन कार्यालयले अख्तियारको पत्रको जवाफ पठाए–नपाएको बुझ्न सकिएको छैन । तर, ज्योतिलालले काठमाडौं आएर उजुरीमाथि छानबिन नै नगरी तामेलीमा पठाउन लगाउने प्रयत्न गरिरहेका छन् ।

यसै कामका लागि ६ दिनअघि मात्र काठमाडौं आएका ज्योतिलाल सुन्धारास्थित सोनी होटलमा बसिरहेका छन् र राजेशमान सिंह नामक एक व्यक्तिमार्फत गीता प्रसादसँग सम्पर्क गरिरहेका छन् । गीताप्रसाद तिमल्सिना आफैँ उज्यालोमा चाहिँ अहिलेसम्म होटल पुगेका छैनन् तर उनका लागि ‘बार्गेनिङ’ गर्ने काम राजेशमान सिंहले गरेका छन् । यसैक्रममा गत शुक्रबार रुपैयाँ दश लाखमा गीताप्रसादसँग कुरा मिलाइएको जानकारी राजेशमानले ज्योतिलाललाई दिएका छन् । ज्योतिलाल त्यस्ता व्यक्ति हुन् जो भारतबाट वीरगञ्ज आउँदा खालिहात आएका थिए । वीरगञ्जमा डेरा लिएर विभिन्न सामानको तस्करी गराउने उनले अहिले वीरगञ्जमै करोडौँको सम्पत्ति जोडिसकेका छन् । ०६३ सालमा मधेसका केही जिल्लामा आन्दोलन सुरु भएपछि वीरगञ्जमा पहाडीयाहरूलाई विभिन्न डर–त्रास देखाई भगाउने र सस्तो मूल्यमा घरजग्गा हडप्ने कार्यलाई पनि ज्योतिलालले आफ्नो ‘व्यवसाय’ बनाएका थिए । अहिले पनि मौका पाउनासाथ ज्योतिलाल साम्प्रदायिक दङ्गा भड्काउन सक्रिय भइहाल्छन् । उनको यस्तो असामाजिक व्यवहारले वीरगञ्जका स्थानीय बासिन्दालाई हैरान तुल्याएको बताइन्छ ।

पहाडीयाहरूका विरुद्ध जाइलाग्दा आफू खाँटी नेपाली मधेसी भएको ठानी स्थानीय बासिन्दाको सद्भाव प्राप्त हुने र पहाडीयालाई तर्साएर खेद्न सक्दा मूल्यवान घरजग्गा पनि सस्तोमा पाइने हुनाले ज्योतिलाल साम्प्रदायिक सद्भाव खलबल्याउन सधैँ अग्रसर रहने गरेको बताइन्छ । तर, त्यति गर्दागर्दै पनि निजले वीरगञ्जबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने आँट भने गर्न सकेनन् र विन्ध्यावासिनी गाविस पुगे । गाउँलेले ज्योतिलाल नामक एक भारतीयले नागरिकताको प्रमाणपत्र लिएको जानकारी पाएपछि तथ्य प्रमाणसहित अख्तियारमा उजुरी दिएका थिए । तर, अहिले दशौँ लाख खर्च गरेर भए पनि आफ्नो कागजात तामेलीमा पठाउन उनले गीताप्रसादको सहारा लिएका छन् । गीताप्रसादलाई दश लाख बुझाएपछि आफ्नो नागरिकतामाथि छानबिन तथा अनुसन्धानको प्रक्रिया अघि नबढ्ने र सदाका लागि मुद्दा टुङ्गिने विश्वास ज्योतिलाले गरेका छन् ।

गीताप्रसाद तिमल्सिनाको छवि अख्तियारभित्र पनि स्वच्छ मानिँदैन । गीताको व्यवहारले आफूहरूको प्रतिष्ठा र अख्तियारको मर्यादामा समेत धक्का पुगेको महसुस अख्तियारका कर्मचारीले गरेका छन् । अख्तियारमा गृह मन्त्रालयअन्तर्गतको काम हेर्ने गीताप्रसादले छानीछानी प्रहरीहरूविरुद्ध उजुरी पार्ने र त्यसरी उजुरी पर्नेबित्तिकै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरी प्रतिक्रिया माग गर्ने, तर प्रधान कार्यालयबाट जस्तो जवाफ प्राप्त भए पनि अभियोगीलाई बयानका लागि बोलाई ‘बार्गेनिङ’गर्ने गरेको चर्चा अख्तियारकै कर्मचारीबीच हुने गरेको छ । बार्गेनिङका क्रममा ‘मोलतोल’ मिले मुद्दा अनुसन्धान गर्नु नपर्ने भनी कागजात तामेलीमा राखेर टुङ्ग्याइदिने, मोलतोल नमिलेमा सम्बन्धित व्यक्तिको बयान गराउने र थप अनुसन्धान भन्दै तारेखमा राखी सताउने कार्यमा गीताप्रसादले विशेष रुचि लिने गरेको बताइन्छ । यतिखेर गीताप्रसाद झुटो विवरण पेस गरी नागरिकता लिने ज्योतिलाललाई बचाएर दश लाख रुपैयाँ पचाउने अन्तिम तयारीमा त छन्, तर प्रमुख आयुक्त लोकमानसिंह कार्कीले यस कुराको जानकारी प्राप्त गर्नुभएमा गीताप्रसादले कस्तो सजाय भोग्नुपर्ने हुन्छ, प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको