सरकार युद्ध चाहन्छ : विप्लव

२९ जेष्ठ २०७०, बुधबार ०८:४९ मा प्रकाशित

चार दलको सहमतिमा हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनको विरोधमा आन्दोलन गरिरहेको नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द ‘निर्वाचनमा भाग लिने कि नलिने ?’ भनी सोधिएको सवालको जवाफमा भन्छन्– ‘हामीले प्रजातान्त्रिक र सहमतिको जुन मान्यता र सर्तहरू अघि सारेका छौँ, त्यो पूरा नभएसम्म निर्वाचन सफल हुने सम्भावना हामीले देखेका छैनौँ ।’

० तपाईंहरू निर्वाचन बिथोल्नुहुन्छ ?
– सरकारको दायित्व निर्वाचन गराउने हो, उसले त्यसका लागि प्रयास गर्ला, तर यो चुनावको अर्थ छैन । जुन चुनावले पार्टीहरू, बुद्धिजीवीहरू, नागरिकहरू कसैलाई पनि सन्तुष्टि दिन सकेको छैन भने यसले समाधान दिन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । नेपालको इतिहासमा सहमति कि चुनाव भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । अहिलेको विवाद पनि त्यही छ– पहिला चुनाव कि पहिला सहमति । हाम्रो भनाइ पहिला सहमति त्यसपछि चुनाव हो । हामी चुनावको विरोधी होइनौं त्यसका लागि तयारै छाँै । तर, पहिला सहमति गर्नुपर्‍यो ।
० चुनावले समाधान देला ?
– चार दलका नेताहरू र पार्टीभित्र पनि निर्वाचनको विषयमा एकमत छैन । जुन नेताहरू चुनावको वकालत गर्दै हिँडेका छन् उनीहरू पनि
निर्वाचन हुनेमा विश्वस्त छैनन् । त्यसैले यस्तो अवस्थामा हुने निर्वाचनले मुलुकलाई समाधान दिन सक्दैन । संविधान लेख्न चुनावको आवश्यकतै छैन, सहमति मात्रै आवश्यक छ । हिजो चुनाव भएकै हो, त्यसले समाधानभन्दा पनि भाँडभैलौ मात्रै दियो ।
० संविधानसभाले संविधान दिनुपर्छ, होइन र ?
– त्यस्तो होइन, संविधानसभाबाट मात्र संविधान बनेको सबै देशमा उदाहरण छैन । ठूला–ठूला प्रजातान्त्रिक, समाजवादी देशहरूका संविधान विभिन्न प्रक्रियाबाट बनेका छन् । हामीले चुनावबाट संविधान बन्छ भने बनाऊँ भनेर निर्वाचनमा भाग लिएका हौँ नि, तर बनेन नि † चार वर्षमा त सबैभन्दा बढी विश्वास गरिएका नेता र संविधानसभा नै बद्नाम भयो । त्यसैले यसले चुनाव होइन सहमति आजको आवश्यकता हो भन्ने देखिन्छ ।
० चुनावको विपक्षमा जाँदा तपाईंहरूकै दललाई घाटा हुन्छ भनेर भनिँदै छ नि ?
– त्यस्तो होइन, हामी जनतासँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छौँ । जनता चुनावको पक्षमा छैनन् । दुई–चारजना मान्छेले चुनावको पक्षमा भएको फर्जी कुरा गरेका हुन् । हामी आफ्नो ऐजन्डा लिएर हिँडेका छौँ । हामी जित्ने–हार्ने, लोकप्रिय–अलोकप्रिय के हुने भन्ने कुरा हाम्रो हो । जसले संविधान, राष्ट्रियता, स्वाधीनता चाहँदैन त्यसले गर्ने कुरा हो यो ।
० सबैले चुनाव चाहेको बेला अब तपाईंहरूको गठबन्धनको औचित्य के ?
… हामीले चुनावको विरोध गरेका छैनाँै । हामीले अहिलेको अवस्थामा सहमति नभई चुनाव हुनै सक्दैन वा चुनावै भए पनि त्यसले परिणाम दिन सक्दैन भनेर भनेका छौँ ।
० तपाईंहरूसँगको सहमतिबिना चुनाव भए तपाईंहरू के गर्नुहुन्छ ?
– त्यसको लेखाजोखा सरकारले गर्नुपर्छ । सरकारले जनताको अवहेलना गर्‍यो, हेप्यो, पार्टीलाई एक्ल्याउन र बाइपास गर्न खोज्यो भने त्यसको परिणाम राम्रो आउँदैन । खिलराज रेग्मी आफैँले भनिसक्नुभएको छ म बाध्यतामा आएको भनेर । उहाँलाई आत्मविश्वास नै छैन निर्वाचन गराउने । निर्वाचन गर्न खोजे हामी बहिस्कार गर्छौं । जनताको बहिस्कारको नेतृत्व गर्छौं । चुनाव त काङ्ग्रेस र एमालेले पनि बहिस्कार गर्दै आएको कुरा हो नि । हामीले पनि गर्दै आएका हाँै । सहमतिबिना निर्वाचन गराउनुको अर्थ सरकार चुनाव चाहँदैन, युद्ध चाहन्छ भन्ने प्रस्ट हुन्छ ।
० तपाईंको पार्टीभित्र चुनावमा जाने–नजाने विषयमा विवाद छ रे नि ?
– होइन त्यस्तो केही छैन । हाम्रो पार्टीले एक मतले निर्णय गरेको हो । यो बाहिर चलाइएको हल्ला मात्रै हो । हामी चुनावको विषयमा एकमत छाँै ।
० चुनाव घोषणा गरेपछि तपाईंहरूको पार्टीमा पहिरो जान्छ भनिन्छ ?
– राजनीतिमा चुनौतीको सामना गर्नुपर्छ, त्यो मजै हुन्छ । समाज बदल्ने अभियानमा लागेका हामीलाई अरूसँगको प्रतिस्पर्धासँग कुनै चिन्ता छैन ।
० तपाईंहरूले किन फेरि युद्धको कुरा गर्नुभएको ?
– हामीले युद्धको कुरा गरेकै छैनौँ । जसरी आज देशलाई विभाजन गरेर सहमति नगरी केही मान्छेले रातारात निर्णय गरेर बाधा अड्काउ फुकाउ गरेर जनतामाथि थोपर्ने काम गरेका छन् यसले पो युद्ध निम्त्याउँछ त । हामी त सहमतिको कुरा गरिरहेका छौँ । सहमतिको कुराचाहिँ नसुन्ने युद्ध जन्माउने जुन खेल चलिरहेको छ यसलाई चिन्नुपर्छ, प्रस्ट बनाउनुपर्छ ।
० जनतामा जान दल खोलेको होइन र ?
– हो, हामी जनतामै छौँ । आकाशमा त छैनाँै । चारजना मान्छेले गरेको निर्णयलाई जनताको भावना भन्न मिल्दैन । रातभरि निर्णय गरेर बिहानबाटै गल्ती गर्‍यौँ भन्ने नेताहरूको स्वभाव त तपाईं–हामीले देखेकै छौँ नि । चार दलले जसरी निर्णय गरिरहेका छन् त्यसले देशलाई शान्ति र संविधानतिर लैजाँदैन । बुद्धि भए सहमति गर्नैपर्छ ।
० चुनाव गर्न के गर्नुपर्छ ?
– संविधानसभाको निर्वाचन हुनका लागि पहिला नै अब संविधान बन्छ कि बन्दैन भन्ने कुराको सुनिश्चितता चाहिन्छ । संविधानमा के–के लेख्ने, के–के नलेख्ने, बढीमा कतिसम्म जान सकिन्छ भन्ने कुरा निश्चित हुनुपर्छ । विगतमा पनि यही नभएकोले नै संविधान नबनेको हो । अब पहिला सहमति गर्नुपर्छ ।
० एमाओवादीसँग एकताको सम्भावना कत्तिको छ ?
– एमाओवादीसँग पार्टी एकताको कुनै सम्भावना छैन । जुन इश्युमा हामी छुट्टिएका थियौँ त्यो इश्यु अहिले पनि कायम छ । यस्तो अवस्थामा एकताको कुरै हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको