भारत भ्रमणबाट देउवा उत्साहित, भारतले समयमै चुनाव चाहेको धारणा

२७ जेष्ठ २०७०, सोमबार १६:११ मा प्रकाशित

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतले समयमै संविधानसभा चुनाव होस् भनी चाहेको बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति भारतद्वारा सोमबार नयाँ दिल्लीमा आयोजित स्वागत कार्यक्रममा बोल्दै चुनावका लागि भारतीय सहयोग आवश्यक रहेको बताउनुभयो । ‘चुनावका लागि भारतको सहयोग आवश्यक छ,’ पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, ‘भारत नेपालको शान्ति, समृद्धी र स्थिरता चाहन्छ ।’ भ्रमणका दौरान भारतीय नेता र अधिकारीहरुसँगको भेटबाट आफू उत्साही भएको बताउनुभयो । नेपालको भविष्य नेपालीहरुले बनाउने त्यसमा अन्तराष्ट्रिय समुदायको सद्भाव र सहयोग अनिवार्य रहेको उहाँको भनाई थियो । चुनावका लागि आवश्यक सहयोग दिन भारतीय पक्ष तयार रहेको बताउनुभयो ।

दुई देशबीच भएका विगतका सहमति र सम्झौता कार्यान्वयनमा देउवाको जोड थियो । सहमति कार्यान्वयन गर्दै आवश्यक सहमति बनाउनुपर्ने बताउनुभयो । भारतले नेपालको विकासमा दिइआएको सहयोग अझै बढ्नेमा देउवाको विश्वास थियो ।
भारत प्रवासमा रहेका नेपालीहरुले जनआन्दोलनका अलावा नेपालको विकासमा उल्लेख्य भूमिका खेलेकोमा प्रशंशा गर्नुभयो । नेपाली जनसम्पर्क समिति भारतको योगदान अविस्मरणीय रहेको भन्दै नेपालमा आर्थिक विकासलाई गति दिन उत्तिकै भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेता देउवाले आजै भारतीय विदेशमन्त्री सलमान खुर्सिद, विदेशसचिव रन्जन मथाल, केन्द्रीय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेटी वर्तमान राजनीति, चुनावको तयारीलगायतका विषयमा छलफल गर्नुभएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । भेटमा द्विपक्षीय सहयोगका बारे छलफल भएको थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आसन्न चुनावका लागि नेपाली जनता आतुर रहेको भन्दै भारतले सहयोग गर्न देखाएको तत्परताबाट आफूहरु खुशी भएको बताउनुभयो । नेपालमा लोकतन्त्र स्थापना र विकासमा भारतको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले प्रवासमा रहेका नेपालीहरुको योगदानको प्रशंशा गर्नुभयो । प्रवासमा नेपालीहरु असुरक्षित रहेको घटनाहरु सार्वजनिक हुनुले दुःखित भएको भन्दै त्यसबारे कुरा उठाउने बताउनुभयो ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपालीहरुको हक हितका लागि दरिलोसँग कुरा राख्न नेताहरुसँग आग्रह गर्नुभयो । नेपालीहरुले पछिल्लो समय बढी समस्या भोगिरहेकाले भारतीय पक्षसँग त्यसबारे छलफल हुन आवश्यक रहेको बताउनुभयो ।
भारतका समाजवादी नेता सुधीन्द्र भदौरियाले भारतको स्वतन्त्रता संग्रामदेखि नेपालका नेताहरुको भूमिका उल्लेख गर्दै नेपालमा शान्ति, विकास र प्रगतिका लागि भारत सहयोगका लागि सधै तत्पर रहेको बताउनुभयो । उहाँले नेपालका समयमै चुनाव हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ भारत शाखाका संयोजक सन्दीप रानाले गर्नुभएको थियो भने स्वागत मन्तव्य टेकराज पोख्रेलले गर्नुभएको थियो ।
नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा अखिल भारतीय एकता मञ्चका अध्यक्ष लक्ष्मण पन्तले र प्रवासी नेपाली संघ भारतका प्रतिनिधि सुर्य वस्यालले प्रवासी नेपालीहरूले भोगेको समस्याहरुबारे प्रकाश पार्नुभएको थियो । नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले सभालाई नेपाल सरकार र राजनीतिक दलहरूलाई बुझाएको १२ बुँदे ज्ञापन पत्र पूर्वप्रधानमन्त्री देउवालाई बुझाउँदै भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसमक्ष सम्बन्धीत विषयमाबारे छलफल गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही