विषपुरुषको करामत :: कृष्ण अविरल

२७ जेष्ठ २०७०, सोमबार ०६:२८ मा प्रकाशित

त्यसबेला घाम नागढुङ्गाको डाँडाबाट ओरालो लाग्ने क्रममा थियो । चराहरू आ–आफ्नो गुँड फर्कने तयारीमा थिए । सहरका सार्वजनिक सवारीसाधनहरूमा ठेलमठेल र कोचाकोच सुरु भइसकेको थियो । मानिसको अघोषित म्याराथुनले सडकहरू भरिन थालेका थिए । पाकेटमार र यौनकर्मीहरूका लागि भने भर्खरै दिन सुरु भएको देखिन्थ्यो ।
विनिता भान्साभित्र पसिन् । युवकले बैठककोठा वरिपरि नजर घुमायो ।
बैठककोठाको झ्यालमा टाँगिएको बाक्लोखालको किमती पर्दाबाट बेलुकीपखको घाम छिर्न उकुसमुकुस गरिरहेको थियो । छालाको सोफामा नरम खालको जापानी चकटी ओछ्याइएको थियो । भर्खरै किनेको जस्तो लाग्ने नेपाली गलैँचाले भुइँमा मृदुमुस्कान छाडिरहेथ्यो । भित्तामा ३२ इन्चको एलसीडी टीभी झुन्डिएको देखिन्थ्यो । त्यसको छेउमा रहेको सिसाको टेबुलमा सामसुङ कम्पनीको टेपलाई बुट्टेदार रुमालले आधा देखिनेगरी छोपिएको थियो । त्यसको मुनिको तलामा भीसीआर थियो, माथिको भाग पूरै छोपिएको । केही सीडीहरू भीसीआरमाथि असरल्ल देखिन्थे । त्यसभन्दा पर्तिर करुवाजस्तो देखिने चाइनिज फूलदानीमा प्लास्टिकका फूलहरू लत्रिरहेका । छेउमा टेलिफोन सेट चुपचाप रमिता हेरिरहेथ्यो, मौनव्रत बसेझैँ ।
उसले भित्तामा टाँगिएका फोटाहरूमा पालैपालो नजर घुमायो । एलसीडी टीभीको दायाँबायाँ सिँढी आकारमा विनिताका पोजपोजका फोटा सजाइएका थिए । ती फोटामा विनिताले थरीथरीका मुस्कानलाई सङ्ग्रह गरेजस्तो लाग्थ्यो । त्यहाँ गोवा, यूएसए, पेरिस आदि ठाउँमा खिचिएका थुप्रै फोटा थिए । ती फोटामा विनितासँग हाकिम थिए । कतिपय सामूहिक पनि । तर, पतिसँगको उनको फोटो कतै थिएन ।
बरु छोराको फोटो थियो, बाबुसँगको । बालखैमा खिचेको ।
एकैछिनमा विनिता दुई बोतल टुबोर्ग बियर, कलश आकारको सिसाको गिलास र काजु राखेको प्लेटसहितको किस्ती बोकेर हाजिर भइन् ।
‘आज ज्वाइँ मेजमा नै गर्न लाग्यौ कि क्या हो ?’ युवकले जिस्क्यायो । अनि किस्ती राखेकै छेउमा बस्यो ।
‘यति नाथेमा पनि ज्वाइँ मेजमान हुन्छ ?’ विनिता फेरि भान्साभित्र पसिन् । फर्कंदा उसको हातमा तात्तातो चिकेन फ्राईको प्लेट थियो ।
त्यसपछि उनी ‘तिमी पिउँदै गर है, म एकछिनमा आउँछु’ भन्दै अलप भइन् ।
युवक एकान्त मेटाउन रिमोट समाएर टीभी सर्च गर्न थाल्यो । बेडरुमबाट पुलुक्क चियाएर विनिताले हेरिन् । अनि भनिन्, ‘तिमीले फेसन च्यानल खोज्या होला, सिक्स्टी नाइनमा आउँछ ।’
‘कसरी थाहा पायौ ?’
‘के ठान्छौ यार ?’ विनिता भित्रैबाट बोलिन्, ‘तिम्रो मनको कुरा पनि बुझ्न सक्तिनँ म ।’
उसले ६९ नै थिच्यो अनि मुसुक्क हाँस्यो । अङ्ग्रेजी अक्षर ६ र ९ को संयोजनले उसलाई बेग्लै खालको अनुभूतिको स्विमिङपुलमा पौडी खेलायो ।
भित्र पस्नासाथ विनिताले लिपिस्टिक राखिएको बट्टा खोलिन् । एकछिन् अलमलमा परिन्, कुन कलरको लगाउने भनेर । एकछिन् यूएसएबाट ल्याएको कलेजी कलर रोजिन् । अनि ड्रेसिङ टेबुलअगाडि बसेर ओठलाई सजाउन थालिन् । सजाउँदै गर्दा उनी पटकपटक मुस्काइन्, ऐनामा देखिएको आफ्नै तस्बिरसँग जिस्कँदै ।
त्यसपछि गालामा लिपपोत गरिन् । आँखालाई गाजलले सजाइन् । चिम्टीले समातेर परेलालाई मिलाइन् । निस्कनुअघि सबैभन्दा दामी अत्तर जिउमा छर्किन बिर्सिनन् ।
मेकअप गरिसकेपछि दराजको ऐनाअगाडि उभिएर सप्रिएका फर्सीजस्ता नितम्बलाई फर्काई–फर्काई समग्रमा आफूलाई नियालिन् । गाला पनि त्यसैगरी हेरिन्, पालैपालो । ऐनामा देखिएको आफ्नै तस्बिरसँग जिस्कँदै अलिकति हाँसिन् पनि ।
कुनै कमी नभएको महसुस भएपछि उनी बैठकमा प्रविष्ट भइन्, मृदुमुस्कानका साथ ।
‘के हो ? च्वाँक बनेर आयौ त ?’ काजु चपाउँदै गरेको युवकले जिस्क्याउन चाह्यो । आफ्ना लागि त्यत्रोविधि शृङ्गार गरेर आउँछे भने प्रशंसा किन नगरिदिउँm भन्ठानेर ।
‘उस्, यति त सामान्य कुरा हो नि, हामी आइमाईका लागि ।’ वास्तवमा विनिता साँच्चै मख्ख परेकी थिइन् ।
रित्तिन लागेको युवकको गिलासमा उनले बियर थपिदिइन् । अब उनीहरू सँगै बसेर बियर पिउन थाले ।
पिउँदै गर्दा उनले उसको जुठो गिलास आफूले तानिन् । अनि आफ्नो गिलासचाहिँ उसको छेउमा राखिदिइन् । ‘किन नि ?’ उसलाई अचम्म लाग्यो ।
‘एक–अर्काको जुठो खायो भने माया बढ्छ रे क्या !’ जुठो बियर एक घुट्को पिइसकेर मासुको चोक्टो चपाउँदै गर्दा उनले भनिन् । बोल्दै गर्दा अनुहारमा खुसी फक्रेको देखिन्थ्यो गोदावरीजस्तो ।
‘अघि त्यत्रो मुखै जोड्दा पनि जुठो खान पुगेन ?’ उसले फेरि जिस्क्याउन चाह्यो ।
‘पुगेन र त ।’ बियर खन्याउँदै गर्दा कर्केनजर पार्दै उनी बोलिन् ।
‘तिमीलाई जति भए पनि नपुग्ने । उस्तै त तिम्रो फेला पर्‍यो भने थलै पर्छ ।’
‘पहिला आउँदा काबु भएकाले मसँग तर्केकाथ्यौ कि क्या हो ?’ कर्केआँखाले हेर्दै उनले भनिन्, ‘अस्तिअस्ति मैले फोन गर्दा नउठाउनुको कारण बुझिहालेँ नि !’
‘फोन नउठाएको कारण चँै बिजी भएरै हो ।’ अलिकति हाँसेर उसले कटाक्ष गर्‍यो, काजु चपाउँदै– ‘साँच्चै भन्ने हो भने एकपल्ट भेटेपछि जो पनि तिमीसँग पल्किन्छ ।’
‘भो मलाई नफुक्र्याऊ ।’ मासुको कमलोजस्तो लाग्ने चोक्टो टिप्दै उसले भनी, ‘सबैको उस्तै त हो नि । उस्तै काप, उस्तै रौँ, उस्तै प्वाल ।’
‘होइन, तिम्रो तरबुजामा बेग्लै चार्म छ के । तिमीसँग जस्तो स्वाद अरूसँग आउँदै आउँदैन ।’
‘उस् उस्, तिमी नि तिमी ?’ उनले युवकको तिघ्रामा प्याट्ट हिर्काइन् । पित्के हाँसो मिसाउँदै भनिन्, ‘तिमी मलाई बित्थामा बेलुन बनाउने कुरा गर्छौ ।’
ऊ विनिताको अनुहारतिर ‘फु…..’ गरेर फुकिदिन्छ ।
‘के गरेको ?’ ऊ छक्क पर्छे ।
‘फुकेको नि !’ युवकले भन्यो, ‘अघि बेलुन बनायौ भन्या होइन ?’
फेरि दुवै खुलेरै हाँसे ।
हाँसो रोकिएपछि युवकले सोध्यो, ‘तिमीलाई दाउरे र देउताको कथा थाहा छ ?’
‘दाउरे र बन्चरोको कथा त पहिला स्कुलमा पढेको हो । कतै त्यही त होइन ?’
‘हो, त्यसैको मोर्डनाइज कथा हो ।’
‘सुनूँ न त ।’ विनिताले काजु चपाउँदै चासो देखाई ।
‘एकपटक दाउरे आफ्नी श्रीमतीलाई लिएर दाउरा काट्न जङ्गलतिर गएछ । पोखरीतिर ढल्किएको रूखको हाँगामा बसेर दाउरा काट्न थालेछ । श्रीमतीचाहिँ पोखरीमा खसेका दाउरा टिपेर भेला पार्दै रहिछन् ।’
‘अनि ?’ ऊ थप जिज्ञासु भई ।
बियरको घुट्को लगाएर उसले कथाको विस्तार लगायो, ‘दाउरा झिक्ने क्रममा चिप्लिएर पोखरीभित्रै डुबिछन् । दाउरेले हेर्दाहेर्दै उसकी श्रीमती डुबेर बेपत्ता भइछन् । त्यसपछि दाउरे रूखबाट ओर्लिएर अलापविलाप गर्दै रुन थालेछ ।
उसको रुवाइ सुनेपछि जलदेउताको मन पग्लिएछ । पोखरीबाट प्रकट हुँदै उनले भनेछन्, ‘बत्स, तिमी किन यसरी रोइरहेका छौ ? के भयो तिमीलाई ?’
दाउरेले रुँदै यथार्थ बताएछ ।
‘त्यही कारणले तिमी रोएका हौ त ?’
‘हो प्रभु ।’ उसले हात जोड्दै भनेछ ।
‘तिम्री श्रीमती कस्ती थिइन् ?’ जलदेउताले सोधेछन् ।
‘कस्ती भनुँ प्रभु ? ऐश्वर्य रायका जस्ता आँखा, एन्जोलिना जोलीको जस्तो अनुहार, कट्रिनाको जस्तो लचकदार जिउ, करिश्मा मानन्धरको जस्तो बोली थियो प्रभु !’
‘साँच्चै ? तिमीले झुट बोलेका त होइनौ ?’ जलदेउताको अनुहारमा प्रफुल्लता देखिएछ । उनले घुटुक्क थुक निलेछन् ।
‘हो प्रभु, म हजुरसँग कसरी झुट बोल्न सक्छु ?’ दाउरेले आशालु नजरले हात जोड्दै भनेछ ।
‘त्यसो भए तिम्री श्रीमती फिर्ता पाउँदैनौ ।’ जलदेउताले भनेछन् र तुरुन्तै पोखरीभित्र अलप भएछन् ।
‘हा हा हा !’ विनिता डल्लो पर्ने गरी हाँसी । हाँसोकै बीचमा भनी, ‘भनेपछि दाउरेकी श्रीमतीलाई जलदेउताले आफ्नी बनाए हैन त ?’
युवकले मन्द हाँसोकै बीचमा बियर घुट्क्यायो । अनि भन्यो, ‘सुन्दरी भनेपछि देउता पनि भोग्न बाँकी राख्दैनन् भन्या क्या !’
रमाइला गफसँगै कुनामा बियरका रित्ता बोतल थपिँदै गए । उनीहरूका आँखा र अनुहार लालुपाते गाढा हुँदै गयो । ठट्टा, बियर, चिकेनफ्राई, काजु, फेरि बियर । अनि…………. !
दुईबीच जे–जे हुनसक्थ्यो, त्यो सबै भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा