दरबारमार्गका इन्सपेक्टरबाट व्यवसायी हैरान

२३ जेष्ठ २०७०, बिहीबार ०९:४४ मा प्रकाशित

काठमाडौं, २३ जेठ । उद्यमी–व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने प्रहरी आफैँ आतङ्क र अराजकताको कारण बन्यो भने साधारण जनता तथा व्यवसायीहरूले कतिसम्म सास्ती पाउन सक्छन् भन्ने कुराको दृष्टान्त राजधानीको मुटु मानिने दरबारमार्ग क्षेत्र बन्न पुगेको छ । दरबारमार्गको शान्तिसुरक्षा गर्न त्यहाँ खटाइएका प्रहरी निरीक्षक कुमुद ढुङ्गेललाई त्यहाँका व्यवसायीहरूले रक्षक नभई भक्षकका रूपमा बुझ्न थालेका छन् । खासगरी होटल, रेस्टुरेन्ट र क्यासिनो व्यवसायीहरू ढुङ्गेलको उत्ताउलो व्यवहारबाट आजित भएका छन् । बेला–कुबेला होटल, रेस्टुरेन्ट तथा क्यासिनोभित्र प्रवेश गरी मानिसलाई आतङ्कित बनाउने काम ढुङ्गेलबाट भइरहेको छ, जसका कारण ग्राहकहरूमा त्रासको स्थिति पैदा भई व्यवसायमै मन्दी आउन थालेको छ । हातहतियारसहितको प्रहरी जत्था अचानक व्यावसायिक केन्द्रहरूमा पस्ने गरेकाले ग्राहकहरू आतङ्कित भई अन्यत्र लाग्ने गरेको बताइन्छ । एक सूत्रले जनाएअनुसार निरीक्षक ढुङ्गेलको यस्तो व्यवहार काम देखाउन नभई अर्कै नियतबाट प्रेरित रहेको छ । दरबारमार्ग क्षेत्रको होटल, रेस्टुरेन्ट र क्यासिनोका ग्राहकलाई अन्यत्र भगाउने नियत यी प्रहरी निरीक्षकको भएको व्यवसायीको ठहर छ । प्राप्त जानकारीअनुसार एक उच्च प्रहरी अधिकृतको समेत लगानी रहेको होटल सोल्टीस्थित क्यासिनो माजाङमा ग्राहक बढाउन ढुङ्गेलले दरबारमार्ग क्षेत्रमा आतङ्क मच्चाएका हुन् । यिनको कार्यक्षेत्रभित्र रहेको क्यासिनो रोयल, भेनस र क्यासिनो अन्नामा विशेष कामवश पुगेका आगन्तुक (भिजिटर) हरूलाई समेत ढुङ्गेलले पक्राउ गरी दु:ख दिने गरेका छन् । दुई साताअघि अन्ना क्यासिनोमा काम गर्ने आफ्ना भिनाजु लक्ष्मण बोहोरालाई कामविशेषले भेट्न पुगेका कुनाल शर्मा र गीता कार्कीलाई समेत ढुङ्गेलले पक्राउ गरी मुद्दा चलाएका थिए । पटकपटक क्यासिनोभित्र हतियारसहितको प्रहरी जत्था प्रवेश गर्न थालेपछि क्यासिनोका विदेशी ग्राहकहरूसमेत माजाङतिर लाग्न थालेका छन् । यसरी कुनै एउटा क्यासिनोको व्यापार बढाउन अन्य क्यासिनोहरूमा आतङ्क मच्चाउन थालेपछि गुन्डा र अन्य अपराधीबाट त्यसै पनि सताइएका व्यवसायीहरू चिन्तित बन्न पुगेका छन् । क्यासिनोमा कुनै नेपाली जुवा खेल्न प्रवेश गरेमा सादा पोसाकमा सुरक्षाकर्मी खटाई नियन्त्रण लिनुपर्ने या नेपाली जुवाडेको पहिचान गरी तिनलाई पक्राउ गर्न वैकल्पिक तरिका अपनाउनुपर्ने व्यवसायीको धारणा छ । तर, ढुङ्गेलको नियत नेपाली जुवाडेलाई पक्राउ गर्नु नभई दरबारमार्ग क्षेत्रमा मनोरञ्जनका लागि पुग्ने विदेशी ग्राहकलाई नै भड्काउनु रहेको महसुस सम्बन्धित व्यवसायीले गरेका छन् । क्यासिनो सञ्चालनका लागि सरकारी नियमानुसार निश्चित कम्पनीहरूले इजाजत पाएका छन् र जुवा ऐन २०२० को दफा (८) मा ‘नेपाल सरकारले कुनै खास स्थान या क्षेत्र तोकी स्वीकृति दिएमा दफा (३) मा लेखिएको कुनै काम गरे/गराएमा यो ऐनबमोजिम कारबाही गर्ने, चलाइने र सजाय गरिने छैन’ भन्ने व्यहोरा स्पष्ट रूपमा लेखिएको छ । दफा (३) मा ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल वा आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन’ भन्ने व्यहोरा उल्लिखित छ । त्यसरी सरकारसँग इजाजत लिई नियमअनुसार सञ्चालित क्यासिनोहरू जसले राज्यलाई करोडौँ राजस्व बुझाउँछन् तिनको शान्ति, सुरक्षा र संरक्षण गर्नु प्रहरीको सामान्य कर्तव्यभित्र पर्ने देखिन्छ । तर, प्रहरी निरीक्षक ढुङ्गेलले भने नियमविपरीत व्यवसाय नै धराशायी बनाउने व्यवहार प्रस्तुत गरिरहेका छन् ।

को हुन् कुमुद ढुङ्गेल ?

काठमाडौंको गोकर्णमा घर भएका कुमुद ढुङ्गेल तत्कालिक प्रहरी महानिरीक्षक श्यामभक्त थापाको अनुकम्पाबाट प्रहरी सेवामा प्रवेश गर्ने अवसर पाएका व्यक्ति हुन् । काठमाडौं प्रहरी परिसरअन्तर्गत लामो समय घुमुवाका रूपमा काम गर्ने मौका पाएका उनले सीबीआईको घुमुवाका रूपमा पनि काम गरेका थिए । एक समय नक्सालको सानो डेरामा जीवन गुजारा गरिरहेका यिनले अहिले काठमाडौंको हाँडीगाउँमा सुविधासम्पन्न बङ्ला बनाएका छन् । राजन भुजेल, समीर बस्नेतलगायतका व्यक्तिहरूमार्फत महँगो ब्याजमा करोडौँ रुपैयाँ ‘लगानी’ गर्ने गरेका उनको यतिबेला दश करोडभन्दा बढीको सम्पत्ति देखिन्छ । ढुङ्गेलले एक लाख रुपैयाँ लगानी गरेबापत प्रतिदित एक हजार रुपैयाँ ब्याजबापत असुल्ने गरेको पाइन्छ । यसरी एक लाख लगानी गरेर उनले महिनाको तीस हजार र वर्षको तीन लाख पैसठ्ठी हजारको दरले कमाई गर्ने गरेका छन् । जब कि उनको यस्तो कारोबार तीन करोडभन्दा कम नरहेको जानकारहरूको अनुमान छ । लामो समय घुमुवाको रूपमा रहेकोले ढुङ्गेललाई आम्दानीका गुप्त बाटाहरूको बारेमा राम्रो जानकारी भएको उनका निकटवर्तीहरूको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर