धिमालले आफैँ गर्न थाले जनगणना

२३ जेष्ठ २०७०, बिहीबार ०९:३८ मा प्रकाशित

विष्णु सुब्बा, झापा, २३ जेठ । राज्यको तर्फबाट गरेको जनगणनाबाट वास्तविक सङ्ख्या पत्ता नलागेको भन्दै धिमाल जातिले आफैँले पुन: जनगणना सुरु गरेका छन् । हालै सार्वजनिक भएको जनगणनाले धिमाल जातिको वास्तविक जनसङ्ख्यालाई नसमेटेको भन्दै धिमालहरू आफैँले आफ्नो गणना थालेका हुन् । उनीहरूले आफ्ना सामाजिक संस्था धिमाल जातीय विकास केन्द्रले पूर्वी झापा, मोरङ तथा सुनसरीमा पुख्र्यौली थलो र मुख्य बसोबास रहेका क्षेत्रहरूमा गणना लिन थालेका हुन् । राष्ट्रिय जनगणनाका क्रममा सबै धिमाललाई समेट्न नसकेको र धिमाल जातिसँग सम्बन्धित तथ्याङ्क वास्तविकतामा आधारित नभएकाले तथ्याङ्क सङ्कलनको काम थालिएको केन्द्रका अध्यक्ष नगेन्द्र धिमालले बताए । पूर्वसंविधानसभा सदस्यसमेत रहेका उनले भने, ‘आदिवासी धिमालहरूको वास्तविक तथ्याङ्क निकाल्ने कार्य अन्तिम चरणमा पुर्‍याएका छौँ ।’ 
हालै सार्वजनिक भएको जनगणनामा धिमालको सङ्ख्या २६ हजार देखाइएको छ । धिमाल युवा मञ्चका अध्यक्ष अजित धिमालले भने जनसङ्ख्या धेरै भए पनि जनगणनाको तथ्याङ्कले वास्तविकता भन्दै निकै कम देखाएको बताए । गाउँ–गाउँमा रहेका धिमालका सबै बस्तीमा गणकहरू नपुगी अनुमानका भरमा गणना गर्ने काम गरिएकाले पनि तथ्याङ्क विश्वासयोग्य नभएको उनले बताए । उनले भने, ‘जनगणनाले ल्याएको तथ्याङ्क गलत भएकाले आफैँ लागेर वास्तविक तथ्याङ्क बाहिर निकाल्न लागेका छौँ ।’ केन्द्रका जनगणना तथा तथ्याङ्क सङ्कलन उपसमितिका संयोजक तेजबहादुर धिमालले सरकारले ल्याएको जनगणनाले वास्तविक धिमालहरूको चित्रण नगरेको दाबी गरे । ‘सरकारले प्रत्येक १० वर्षमा गर्ने जनगणनाको तथ्याङ्क मिथ्या छ भन्ने हाम्रो ठहर हो,’ संयोजक धिमालले भने । ‘जस्तो छ त्यस्तै तथ्याङ्क बाहिर ल्याउन काम थालेका हौँ,’ संयोजक धिमालले भने, ‘यसका लागि अब धिमाल बस्तीहरूमा गणना लिने काम धमाधम थालिएको छ ।’
गत फागुनबाट सुरु भएको गणनाको काम असार मसान्तसम्ममा पूरा हुने संयोजकले बताए । त्यसका लागि धिमाल समुदायकै एसएलसी पास गरेका युवायुवतीलाई प्रशिक्षण दिएर गणकका रूपमा खटाइएको केन्द्रले जनाएको छ । यसरी तथ्याङ्क सङ्कलन गर्ने क्रममा धिमालहरूको उमेर समूहअनुसारको सङ्ख्या, विद्यालय जाने बालबालिका, उच्चशिक्षा हासिल गर्ने, सरकारी नोकरीमा रहे–नरहेको, वैदेशिक रोजगारमा जानेलगायत विवरणहरू भर्ने काम भइरहेको संयोजक धिमालले जानकारी दिए ।
अहिलेसम्म सबै इलाकामा फारम पुगेको र लगत सङ्कलनको कामलाई तीव्रता दिएका छन् । मोरङका बेलबारी, लक्ष्मीमार्ग, भाउन्नेलगायत स्थानमा अहिले तथ्याङ्क सङ्कलनको काम भइरहेको र झापामा दमकलगायत स्थानमा जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण