कोइरालाले ‘ग्याङ अफ फोर’को घेराबन्दी तोड्ने

२३ जेष्ठ २०७०, बिहीबार ०९:२८ मा प्रकाशित

काठमाडौं, २३ जेठ । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले घेराबन्दै तोड्दै आफ्नोवरिपरि जमेको सहयोगीरुपी ‘फोहोर’ सफा गर्नुहुने भएको छ । पार्टीकै एकथरी नेताहरू सभापति कोइरालालाई असफल प्रमाणित गर्न अहोरात्र लागिपरेका बेला आफ्नैवरिपरिका समेत आफूलाई विवादमा फसाउन अग्रसर रहेको पाइएपछि कोइराला झस्किनुभएको बुझिएको छ । कोइरालाको वरिपरि झुम्मिएर उहाँलाई नै विवादमा तान्न ०४६ सालको जनआन्दोलनमा प्रतिकार समितिमा बसेर ‘राजनीतिको अनुभव’ सङ्गालिसकेका दिलेन्द्रप्रसाद बडू, राजनीतिक जीवनमा पटकपटक मौका पाएर पनि कहिल्यै चुनाव जित्न नसकेका दिलबहादुर घर्ती र गोपाल पहाडी तथा कुनै समय छत्तीसे समूहमा सक्रिय भएका आनन्द ढुङ्गानाको भूमिका प्रमुख रहेको सभापति स्वयम्ले महसुस गर्नुभएको बताइन्छ । ‘ग्याङ अफ फोर’का रूपमा समेत चिनिने उनीहरूको चङ्गुलबाट बाहिर निस्कने मानसिक तयारीमा कोइराला पुगिसक्नुभएको छ । 

तर, ‘ग्याङ अफ फोर’बाट मुक्तिको अन्तिम प्रयास कहिले र कसरी हुनेछ सो बुझ्न सकिएको छैन । बडूलाई पार्टी प्रवक्ताबाट हटाएर त्यस्तो प्रक्रिया सुरु गर्नुपर्ने सुझाव सभापति कोइरालाका शुभचिन्तकहरूले दिइरहेका छन् । बडू, घर्ती, पहाडी र ढुङ्गानालाई उनीहरूको आफ्नो ल्याकतअनुसारको काम भने दिइने बुझिएको छ । पछिल्लोपटक ४२ विभागको गठनका क्रममा ‘ग्याङ अफ फोर’ले जथाभावी गरेपछि सभापति सुशील कोइराला विवादमा तानिनुभएको थियो । विभाग गठनमा भएको त्रुटि सच्याउन सभापति कोइराला तयार हुनुभएकोले मात्र त्यस विषयलाई लिएर उत्पन्न आक्रोश मत्थर भएको थियो । अब कोइरालाले विभाग गठनमा भएको त्रुटि सच्याउने प्रक्रिया कहिलेदेखि सुरु गर्नुहुने हो सोको औपचारिक जानकारी प्राप्त हुन सकेको छैन । तर, आगामी एक साताभित्रै विभाग गठनको पुनर्मूल्याङ्कन गरी सुधारको प्रक्रिया सुरु गरिने बुझिएको छ । विभाग गठनमा भएको त्रुटि सच्याउन सभापति कोइरालाका सहयोगी लक्ष्मण ढकालले विशेष भूमिका निर्वाह गरेको जानकारी पाएपछि ‘ग्याङ अफ फोर’ले ढकाललाई पन्छाउने योजना बनाएको थियो । तर, सोह्र वर्षदखि सहयोगी रहँदै आएका ढकाललाई पन्छाउन सभापति राजी हुनुभएन । त्यसैबीच नेता डा. शशांक कोइरालाको निवासस्थानमा सभापति कोइराला बस्नुहुने चर्चा पनि चल्यो र उक्त खबरले पत्रपत्रिकामा महत्त्वपूर्ण स्थान पनि पायो । तर, अन्तत: कोइराला महाराजगञ्जको हालकै आवासमा यथावत् रहने निचोडमा पुग्नुभएको छ । कोइराला डा. शशांकको घरमा सर्ने खबरले नेतृ सुजाता कोइराला क्रूद्ध भएको बताइन्छ । नेता डा. शेखर कोइराला र नेतृ सुजाताको विमति रहेका कारण उत्पन्न तनावका बीच सभापति कोइरालाले यथास्थानमा बसोबास गर्ने निर्णय लिनुभएको बताइएको छ । उहाँको सहयोगीका रूपमा लक्ष्मण ढकाल पनि यथावत् रहनुहुने बुझिएको छ ।
यसरी सभापति सुशील कोइरालाले साँघुरो घेराबन्दीबाट मुक्त हुने जुन सोच बताउनुभएको छ, त्यसले काङ्ग्रेसमा सकारात्मक सन्देश प्रवाहित हुने विश्वास गरिएको छ । तर, कतिपयले भने कोइराला घेराबन्दी तोड्न अझै पनि सफल नहुनुहुने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही