प्रचण्डको कमाण्डमा ‘उत्पादन ब्रिगेड’ बनाईंदै

२२ जेष्ठ २०७०, बुधबार ०८:०८ मा प्रकाशित

काठमाडौं, २२ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उत्पादन ब्रिगेड बनाउने विषयलाई लिएर आन्तरिक गृहकार्य अघि बढाएका छन् । प्रचण्डले उत्पादन ब्रिगेड बनाउने विषयमा पार्टीमा सम्मिलित उद्यमी–व्यवयासीसँग शृङ्खलाबद्ध छलफल गरेपछि उत्पादन ब्रिगेडको अवधारणा, स्वरूप, नीति तथा कार्यक्रम तर्जुमा गर्न ६ सदस्यीय कार्यसमिति बनाएका छन् । अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित कार्यसमितिमा गिरिराजमणि शर्मा, शक्तिबहादुर बस्नेत, डिल्लीराज खनाल, धर्मदत्त देवकोटा र कृष्ण आचार्य सदस्य रहेका छन् ।
उत्पादन ब्रिगेडको अवधारणा तय नभए पनि ब्रिगेडको नेतृत्व भने अध्यक्ष प्रचण्डले नै गर्नेछन् । उनकै अग्रसरतामा ब्रिगेड बन्न लागेकाले यसको नेतृत्व पनि उनैले लिने पक्का भएको हो । यसको अगुवाइ पार्टी नेतृत्वले गर्छ तर यसमा सबै विचार राख्ने उद्योगी तथा युवाहरूको सहभागिता रहने कार्यसमितिका एक सदस्यले बताए । यद्यपि ब्रिगेडमा पार्टीनिकट उद्योगी, व्यापारी तथा युद्धकालमा होलटाइमर कार्यकर्ता भएकाहरू सहभागी रहनेछन् । पार्टीका केही नेताबाहेक अन्य कार्यकर्ता आर्थिक रूपमा कमजोर हँुदै गएकाले उनीहरूलाई उत्पादनमुखी काममा लगाउने र त्यसका लागि राज्य तहबाटै बजेट निकास गराउनका लागि पार्टीले उत्पादन ब्रिगेड बनाउन लागेको हो ।
पार्टी शान्तिप्रक्रियामा आएसँगै पार्टीका होलटाइमर कार्यकर्ता तितरबितर भएका तथा उनीहरूको आर्थिक अवस्था पनि नाजुक बन्दै गएकोले उनीहरूलाई एकीकृत गर्नका लागि पनि उत्पादन ब्रिगेड बनाउन लागिएको हो । द्वन्द्वकालमा धेरै संरचना ध्वस्त भएकोले त्यसलाई निर्माण गर्न र पार्टीका हजारौँ युवालाई सङ्गठित गर्न उत्पादन ब्रिगेड बनाउनु खाँचो रहेको तथा यसले उत्पादन क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यदलका सदस्य डा. डिल्लीराज खनालले जानकारी दिए ।
उत्पादन ब्रिगेड बनाउने विषयमा बुद्धिजीवी तथा ठूला उद्योगीहरूसँग छलफल गरिसकेको जानकारी गराउँदै खनालले भने, ‘उद्योगीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् र उनीहरूले सहभागिता जनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।’ ब्रिगेड बनाएर पार्टी र कार्यकर्ताले संस्थागत काम गरी मुलुकलाई उत्पादनमुखी काममा केन्द्रित गराउनु रहेकोमा जोड दिँदै खनालले भने, ‘हिजो ध्वंस भएका संरचनालाई पुनर्निर्माण गर्न युद्धस्तरमै लाग्ने गरी यसलाई अघि बढाइन्छ ।’
कार्यदलका अर्का सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले उत्पादन ब्रिगेड बनाउने पार्टीको पुरानो योजना भएको बताए । उनले भने, ‘यो नयाँ योजना होइन, पुरानै हो, काम गर्न मात्र ढिला गरिएको हो ।’ पार्टीको नेतृत्वमा उत्पादन ब्रिगेड बने पनि यसलाई राष्ट्रिय विकासको मोडलका रूपमा विकास गरिने जानकारी दिँदै बस्नेतले भने, ‘पार्टीले अघि सारेको थुप्रै योजना अहिले राष्ट्रिय योजना बनेको र उत्पादनसम्बन्धी कार्ययोजना पनि राष्ट्रिय कार्ययोजना बन्नेछ ।’ ब्रिगेडले स्थानीयस्तरबाटै आर्थिक मुद्दालाई सबल बनाउने कार्यनीतिलाई अघि बढाउने र सोहीअनुसार काम गर्नेछ । ‘उत्पादन क्षेत्रमा धेरैको सहभागिता रहे पनि ती सबै व्यक्तिगत भएकोले अब सामूहिक उत्पादनमुखी काम गर्नका लागि पार्टीले अग्रसरता लिन लागेको बस्नेतको भनाइ थियो । उनका अनुसार उत्पादन ब्रिगेडले आमजनतालाई परिचालन गर्ने, सरकारले गरेका राम्रा तथा सबल पक्ष बोकेका नीति तथा परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने, सरकार र निजी क्षेत्रका साझेदारीमा काम अघि बढाउने, एमाओवादीका हजारौँ पूर्णकालिक कार्यकर्तालाई ब्रिगेडमा सहभागी गराई उत्पादनका काममा परिचालन गराइनेछ । ‘यसलाई आन्दोलनकै रूपमा परिचालन गरिनेछ,’ उनले भने, ‘यसले पार्टीको मात्र नभएर मुलुककै आर्थिक प्रगतिमा टेवा पुग्नेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र