जैसवालद्वारा करौंडो रकम ठगी, पीडितहरुद्वारा सामूहिक आत्मदाहको चेतावनी

२१ जेष्ठ २०७०, मंगलवार १७:४८ मा प्रकाशित

काठमाडौं, २१ जेठ । काठमाडौंमा जसलाई जे चाहिएको छ, त्यही पुरयाइदिने भन्दै करोडौंको ठगी गर्दै आएको बीरगन्जको महाबीरप्रसाद जैसवालका बारेमा पीडितहरुले प्रहरीमा मुद्धा दायर गर्दा पनि उसलाई पक्रनुको सट्टा प्रहरीले नै ठगलाई संरक्षण गरेपछि पीडितहरुले आत्मदाह गर्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पीडितहरुले बताएअनुसार उसले कसैलाई जागिर लगाइदिने र कसैलाई विदेश पठाइदिने भन्दै यसरी करोडौंको ठगी गरेको हो ।
अहिलेका मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीदेखि गृहमन्त्री माधव घिमीरे र अर्थमन्त्री शंकरप्रसाद कोइराला, मुख्य सचिव लिलामणी पौडेलसँग मात्रै उसले सम्बन्ध देखाउने गरेको छैन कि राष्ट्रपति डा. रामबरण यादव, प्रहरी प्रमुख कुबेर सिंह राना, प्रधानसेनापति प्रज्ज्वल शमसेर राणा लगायतसँग पनि आफ्नो सम्बन्ध भएको र नाता पर्ने झूठो विवरण दिएर ठग्ने गरेको छ ।
महाबीरबाट ठगिएकाहरुले विगतमा तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि मुख्य सचिव लिलामणी पौडेल सम्मलाई जानकारी  गराउनुका साथै जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा उजुरी दर्ता गराएको भएपनि  उनीहरुले कुनै वास्ता नगरेको आरोप लगाएका छन् ।
प्रहरीमा उजुरी दिएको भन्दै उसले कतिपय पीडितलाई खुलेआम फोनबाट ज्यानमार्ने धम्की दिएको र यसबारेमा प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि पक्राउ गर्ने तर्फ कुनै चासो नदिएको पीडित मध्येका एक शितल यादव बताउँछन् । ठगिएका अर्का युवक जनकपुरका रामप्रकाश साहले पत्रकार सम्मेलनमा भने– ‘पत्रपत्रिकामा समाचार आएपछि नै प्रहरीले पक्राउ गर्नुपर्नेमा उजुरी हाल्दा पनि पक्राउ गर्दैन । प्रहरी आफैं अवैध काममा संलग्न छ भन्ने यसले देखाउँछ । यस्तो मुलुकमा बाँचेर के फाइदा भनेर हामी आत्मदाहको तयारीमा लागेका हौं ।’ महाबीरले ठमेलको  बलिउड नामको सैलुनका सञ्चालक श्रीकृष्ण यादवलाई  विदेश पठाइदिन्छु भनेर १ लाख ५० हजार रुपियाँ लिएकोमा  ८ महिना बित्दापनि न विदेश पठायो न त रकम नै फिर्ता दियो । ठगिने अर्का पात्र शितल यादवसँग उनकी भाञ्जीलाई एमबीबीएसमा नाम निकालिदिन्छु भनेर  २ लाख ५० हजार रुपियाँ लिएकोमा न कतै नाम निस्क्यो न त रकम नै फिर्ता गरयो । यादव भन्छन्– ‘५० हजार रुपियाँ त त्यो सँग कुरा गर्दै मेरो मोबाइलमा खर्च भइसक्यो ।  अन्य केहीलाई भने कसैलाई विदेश जानु छ भने भीसा लगाइदिने ग्यारेन्टी गर्ने भन्दै रकम असुलेको पाइएको छ । रकम असुली सकेपछि चाहिं ऊ कहिल्यै पनि भेट्दैन  ।
पर्सा जिल्लाको जगरनाथपुर स्थायी घर भएकोे महाबीरप्रसाद जैसवालले कतिपयलाई महाबीर यादव भनेर समेत चिनाउने गरेको छ । ठमेलकै नाम्चे होटलमा ३ महिना बसेको उसले केही समय साहुलाई रकम दिए जस्तै पनि गर्यो । ठूला —ठूला कुरा गर्ने उसले फट्याई गर्ला भन्ने साहुले ठानेनन् । तर, अन्तिममा ३ महिना बसेर  ५० हजार रुपियाँ नतिरी ऊ भाग्यो । साहु भन्छन्– ‘फोन गर्दा भइहाल्छ भन्छ, तर कहिल्यै दिंदैन ।’ ६ महिना अघिदेखि त उसले राजधानीमा .बा  २ च .१२०५ नम्बरको टोयटा कोरला गाडी नै गायब पारिदियो । उक्त गाडी बेच्ने कुरा हुँदा उसले  प्रसंगबश सुनेको रहेछ । गाडी धनीले कुरा निकाल्दा म किनिदिन्छु भनेछ । त्यसपछि टेकुतिरका एक जना गुप्ता थरका व्यापारीलाई  गाडी बेचाइदिने भनेछ । ‘गाडीको पैसा भोलि दिन्छु अहिले यति छ भनेर ५ हजार रुपियाँ दिएर ऊ गएछ ।’ तर, अझै ३ लाख रुपियाँ तिर्न बाँकी रहेपनि टोयोटा कोरला ब्रान्डको सो गाडी नै अहिले जैसवालले  गायब बनाएछ । गाडि धनी भन्छन्—‘यो मुलुक कस्तो भइसकेछ । यहाँ सरकार छ भन्नु नै लाजमर्दो भइसक्यो ।’ यसैगरी नयाँ बानेश्वरको एउटा सेकुवा पसलमा सेकुवा खान जाने गरेको यो ठगले  त्यहाँ प्रसंगवश सेकुवा साहुजीको श्रीमतिले कतै जागीर खान रहर गरेको जानकारी पायो ।  जैसवालले भोलिपल्टै आएर भन्यो– ‘मेरो मान्छे छ । अलिअलि खुवाउनुपर्छ । म गरिदिन्छु ।’  त्यसपछि साहुले गरिबी निवारण कोषमा श्रीमतिलाई जागिर हुने आशामा जैसवाललाई १ लाख ५० हजार रुपियाँ दिए । रकम लिएपछि  ऊ कहिल्यै पनि फर्केर गएन । उसले अहिले सम्म राजधानीमा  दर्जनौं मानिसको करोडौं रुपियाँ ठगेको  पीडितहरु बताउँछन् । उसको फोन नम्बर  छ—९८५५०२१३३१ । त्यस्तै अरु नम्बर ९७२१५५१७०३ र ९८०२०५७५५५ हुन् । उसकी जेठी श्रीमति पुष्पाको नम्बरचाहिं ९८४५४५३४५७ हो ।  ऊ राजधानीमा जग्गाको काम गर्ने रमेश श्रेष्ठ, (मोबाइल नम्बर ९७२५१६४८८९सँग समेत नियमित सम्पर्कमा रहेर ठगी धन्दा चलाई रहेको पीडितहरुले बताएका छन् ।वीरगञ्जमा पनि ठगी तथा अपहरण जस्ता काण्डमा जैसवाल मुछिएको प्रहरीको भनाई रहेको छ । त्यसैले ऊ भाग्दै हिंडेको  र नयाँ निशाना काठमाडौंबासीलाई बनाएको हो । हाल कपाल पुरै खौरेर रुमालले मुख छोप्दै हिंड्ने जैसवाल एकताका स्कूटर पनि चढ्ने गर्दथ्यो ।जसको नम्बर बा ४३ प ३९७५ हो । उसले आफूले तिर्नुपर्ने रकम लिनका लागि कहिलेकाँही एभरेष्ट बैंक लिमिटेड ठमेल शाखाको ०३५००५०१२००३४८ नम्बरको बचत खाताको चेक पनि दिने गरेको छ । तर, त्यो चेक सधैं बाउन्स हुने गर्छ ।  एक जना पीडित भन्छन्—घण्टौ लाइन लागेर चेक साट्न बसियो । तर  रकम नै रहेनछ । त्यो चेक दिन ऊ आफैं आउनुको सटटा जग्गाको काम गर्ने तिनै रमेशलाई हस्तान्तरण गर्नु भनेर लगाउने गरेको छ । बिभिन्न देशहरुमा रोजगारीका लागि लैजाने बहाना गर्दै  गृह जिल्ला पर्सामा पनि जैसवालले  केही स्थानीयहरुसँग रकम असुली गरी फरार भएको  बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जैसवाल २०६० सालमा ठगी अभियोगमा नै पक्राउ परेको थियो । तत्कालिन समयमा प्रहरी कार्यालयमा उजुरी परेपछि उ पक्राउ परेपनि पछि छुटेकोे जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा फाँटका प्रहरी निरीक्षक व्दारिका घिमिरेले बताए । ऊ अहिले कान्छी श्रीमतीको् साथमा राजधानीमा बस्दै आइरहेको पारिवारिकस्रोतले जनाएको छ ।  कतिको विदेशबाट पठाएको रकम नै ‘म राखिदिन्छु ,एक डेढ महिनामै दोब्बर बनाएर फिर्ता गर्छु ’भनेर समेत उसले रकम असुलिरहेको पीडितहरुले बताएका छन् । उसले आफ्नो परिचय दिंदा कसैलाई ‘कलेजमा पढाउछु’  भन्ने गरेको छ भने कसैलाई चाहिं म आफैं डाक्टर हुँ भन्ने गरेको छ । बासुलिङ्ग सुगर मिल, धनगढी र नेशनल मेडिकल कलेज बीरगञ्जको संचालक समितिको सदस्य समेत रहेको बताउने तथा  सिंगापुरमा रेष्टुरेन्ट छ, त्यहाँ लगेर काम दिन्छु भन्दै ठग्ने गरेको समेत पाइएको छ । उसले किड्नीको व्यापार समेत गर्नुका साथै नक्कली भारु पनि लिएर हिंड्ने गरेको पीडितहरुले बताएका छन् । कतिपयसँग चाहीं आफूलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइले नेपाल हेर्न खटाएको र भारतीयहरुलाई सिध्याइदिने पनि धम्की दिंने गरेको छ । उसले जनकपुरका ५जना युवालाई काठमाडौं विश्वविद्यालयमा एमविवएसमा भर्ना गराइदिने भनेर  १५ लाख रुपियाँ लिएको १० महिना भएको छ । उनीहरुलाई एभरेष्ट बैंकको १० लाखको चेक दिएपनि न त्यहाँ रकम छ न त उसले रकम नै फिर्ता गरेको छ । उनीहरु भन्छन् —७ महिना भइसक्यो सधैं भरेभोलि भन्छ । प्रहरीलाई भन्दा वास्ता नै गर्दैन । अब आत्महत्या गर्नुको विकल्प रहेन । पीडितहरुले गुनासो गर्दै भने—फोन नम्बर सहित प्रहरीलाई उजुरी गर्दापनि कुनै मतलब हुँदैन र ठगले उल्टै फोन गरेर धम्की दिन छोडेको छैन भने  यस्तो देशमा बाँच्नु भन्दा अब मर्नु नै बेश भइसक्यो  । हामीले न्याय खोज्न कहाँ जाने ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको