अमेरिका कांग्रेसमा केन्द्रको हस्तक्षेप,अधिकांशको तीव्र असन्तुष्टी

१८ जेष्ठ २०७०, शनिबार १७:२० मा प्रकाशित

न्यूयोर्क, अमेरिका, १८ जेठ । पटक पटक कांग्रेस केन्द्रको हस्तक्षेप बेहोरेर कोपभाजनको शिकार बन्दै आएको अमेरिकास्थित नेपाली जनसम्पर्क समिति फेरि अर्को एकपटक यस्तै कोपभाजनको शिकार बनेको छ । पार्टी सभापति सुशील कोइराला र उनी निकट केही भरौटेहरुको आडमा अमेरिकाको जनसम्पर्क समितिमा पछिल्लो कोपभाजन भएको हो । जस अनुसार एकताको दोश्रो महाधिवेशन गर्न जिम्मेवारी सुम्पिएर अमेरिकाभर संगठन विस्तार र गठन गरी संरचना निर्माण गरिसकेका खगेन्द्र जीसी र उनको समितिलाई जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अर्जुन जोशीले बर्खास्त गरिदिएका छन् । जीसीले करीब एक वर्ष पहिले नै आफुलाई प्रष्ट म्यान्डेट दिन र अन्योलमा रहेको समितिको केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि निश्चित समय अवधि तोकेर जिम्मेवारी दिन पार्टी समक्ष आग्रह गरेका थिए । अन्यथा आफुलाई काम गर्न कठिनाई भएको भन्दै जीसीले पार्टीले स्पष्ट म्यान्डेट नदिए पदमा रहेर बस्नुको कुनै औचित्य नरहने भन्दै आफ्नो असन्तुष्टी पार्टी नेतृत्व समक्ष लिखित रुपमा जाहेर गरेका थिए ।त्यही पत्रलाई आधार बनाएर जेष्ठ १७ को मितिमा पार्टी सभापति सुशील कोइरालाको आडमा समन्वय विभाग प्रमुख अर्जुन जोशीले जीसीको राजीनामा स्वीकृत गरी एक्काइस सदस्यीय अर्को तयारी समिति गठन गरी पत्राचार गरेका छन् । यस पत्रका बारे कांग्रेसका अमेरिकाको जनसम्पर्क समिति बारे जासो राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अनभिज्ञता जाहेर गरेका छन् । यस बारेमा आफुहरुलाई कुनै जानकारी नभएको भन्दै सभापतिसंग कुरा गर्ने ती नेताहरुको भनाइ रहेको छ ।
जोशीले गरेको जीसी समितिको बर्खास्तगीसंगै जीसी समितिमा रहेका तर बीचमा राजीनामा दिएर निष्क्रिय बसेका विष्णु सुवेदीलाई संयोजक तोकिएको छ । विष्णु सुवेदी खगेन्द्र जीसी नेतृत्वप्रति असहमति राख्ने केही व्यक्तिहरु मध्ये एक हुन् । उनी अहिले अमेरिकामा तयार भएको जनसम्पर्क समितिको संरचना निर्माणमा कहीं कतै पनि संलग्न छैनन् । हाल अमेरिकाका विभिन्न राज्य र शहरमा जनसम्पर्क समितिका १८ वटा च्याप्टर गठन र महाधिवेशन प्रतिनिधि चयन समेत भई सकेका छन् । यी च्याप्टरहरु मध्ये गत वर्षको मार्चमा दश राज्यका च्याप्टर सभापतिहरुको भेला नर्थ क्यारोलिनामा सम्पन्न भएको थियो । भेलाले जीसी नेतृत्व समितिलाई नै केन्द्रीय महाधिवेशन चांडो सम्पन्न गर्ने गरी जिम्मेवारी दिन केन्द्रीय समिति समक्ष माग गरेको थियो । तर बहुमत च्याप्टर सभापतिहरुको भेलाको निर्णय समेत बेवास्ता गरी संगठनमा कुनै उल्लेख्य योगदान नै नभएका व्यक्तिलाई संयोजकको जिम्मेवारी दिएको भन्दै सभापति सुशील कोइरालाको अकर्मन्यताको अमेरिकामा रहेका कांग्रेसीहरुले चर्को आलोचना गरेका छन् । सभापति कोइराला आफ्नो स्वास्थ्य उपचारका लागि चाडै अमेरिका आउदैछन् | उनको यो गलत निर्णयका विरुद्ध आफुहरु चुप लागेर बस्न नसक्ने भन्दै आफुहरुले विरोध जनाउने च्याप्टर सभापतिहरुको प्रतिक्रिया छ ।
शुक्रवार गठित नयाँ समितिमा २१ सदस्य रहेका छन् । २१ मध्ये अधिकांशले विना परामर्श आफुहरुको नाम समावेश गरेर पार्टीको लेटर प्याडमा प्रेषित गरेको थाहा पाएपछि आफुहरु आश्चर्यमा परेको भन्दै विष्णु सुवेदी नेतृत्वमा अधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले भनेका छन्, त्यत्रो ह्याभिवेट खगेन्द्र जीसीले त्यस्तो घात,प्रतिघात र अपमान सहेर त अधिवेशन गराउन सकेनन् भने अब फुच्चे विष्णुले अधिवेशन गराउन सक्लान भन्नु बचपना बाहेक अरु केही होइन । बल्लबल्ल बनेको अमेरिका कांग्रेसको संरचना सभापति सुशील कोइरालाको कारण ध्वस्त हुन पुग्यो,यसमा नै हाम्रो चिन्ता र चासो हो ।
२१ सदस्यीय जम्वो समितिमा हिजो खगेन्द्र जीसी नेतृत्वको विरोध गर्नेहरुको बाहुल्यता रहेको छ भने कतिपय त अमेरिका कांग्रेसको संगठनभित्र नाम नसुनिएका मात्र होइन जनसम्पर्क र कांग्रेसको साधारण सदस्यता समेत नलिएका अलग राजनीतिक पृष्ठभूमिका व्यक्तिहरु पनि रहेका छन् । पत्र प्राप्त भएपछि एकअर्कामा कुराकानीका क्रममा कतिपय कांग्रेसहरुले त्यो फलानो भनेको को हो हँ भनेर सोधखोज समेत गरेका थिए । यसले पनि यो समिति औचित्यहीन रहेको अनुमान गर्न सकिन्छ । समितिमा २९ सदस्यीय सल्लाहकार समिति पनि थपिएको छ । यसले पनि सभापति कोइरालाको यो पछिल्लो निर्णय अधिवेशन गराउन नभई आफ्ना मान्छेलाई पद बाँड्न मात्र गठन गरिएको अनुमानलाई बल पुग्दछ । सल्लाहकार समितिमा पनि कतिपय त कांग्रेसको साधारण सदस्यता त्याग गरेर अमेरिका पलायन भई बसेका पूर्व कांग्रेसीहरु पनि छन् ।त्यस्तै बर्खास्त जीसी समितिका केही पदाधिकारीहरुलाई पनि जीसीसंगै सल्लाहकार समितिमा राखिएको छ ।
यस अघि अमेरिका आइपुगेका समन्वय विभाग प्रमुख जोशीले अधिवेशन गराउन निश्चित अवधि तोकेर जो कोही व्यक्तिलाई जिम्मेवारी दिने बताएका थिए । तर अहिले गठन गरिएको समितिलाई अधिवेशन गर्ने मितिका बारे स्पष्ट केही निर्देशन छैन । यसबाट पनि यो समिति गठन केवल आफ्ना निकटलाई खुशी पार्नका लागि मात्र गरिएको पुष्टी भएको छ । पत्रको बेहोरामा भनिएको छ,संयोजक खगेन्द्र जीसीले २०६८/०३/२९ मा राजीनामा दिनुभएको कारणले अमेरिकाको जनसम्पर्क समितिको अधिवेशन सम्बन्धी कार्यक्रमहरु अगाडि बढ्न नसकेको हुँदा जीसीको राजीनामा स्वीकृत गरेर अधिवेशन सम्बन्धी सम्पूर्ण काम कारवाही अगाडि बढाउन विष्णु सुवेदीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको छ । समितिलाई पूर्व अध्यक्ष तथा संयोजकहरु,नेपाली कांग्रेसका महासमिति सदस्यहरु तथा महाधिवेशन प्रतिनिधिहरु,च्याप्टरका सभापतिहरु तथा सबै साथीहरुसंग परामर्श गरी यथाशक्य छिटो महाधिवेशनको मिति तोकी महाधिवेशन सम्पन्न गर्ने व्यवस्था गर्नुहुन अनुरोध गर्दछु भनिएको छ ।
यसैबीच शुक्रवार राती कुरा गर्दै सुवेदी नेतृत्वमा गठित समितिमा रहेका एक सदस्यले यो समितिको औचित्य नरहने भन्दै आफु कुनै बैठकमा सहभागी नहुने बताए । नाम सार्वजनिक नगर्न आग्रह गर्दै उनले भने,हिजो हामीले कनेक्टिकटमा गरेको अधिवेशनमा सदस्यमा चुनाव लडेर लज्जास्पदरुपमा सबैभन्दा कम मत ल्याएर पराजित भएको त्यही विष्णु सुवेदी अहिले संयोजक बनेर केही गर्नेवाला छैन,उसको बारेमा सबैलाई थाहा छ, खगेन्द्र जीसीले त्यत्रो साथ पाउदा त अधिवेशन गर्न सकेनन् भने विचरो विष्णु सुवेदीले के गर्लान् भनेर हामी सहभागी हुने ? यो सबै पार्टी सभापति सुशील कोइरालाको कांग्रेसलाई कम्जोर बनाउने खेलको अर्को उदाहरण मात्र हो । अस्ति भर्खर नेपालमा पार्टीका विभागहरु गठन गर्दा कोइराला र उनी निकटकाहरुले जे जस्तो क्षति पुर्याए,त्यसको अर्को कडीको निरन्तरता मात्र हो अहिले अमेरिकाको जनसम्पर्क समिति गठनको प्रयास पनि । यो सबै बनेको संगठनको संरचना ध्वस्त गराउने कोइराला निकटहरुको खेल मात्र हो ।
नयाँ समितिमा रहेका २१ मध्ये अधिकांश सदस्यहरु नै बेखवर रहेको समिति गठनको खबरपछि अधिकांशले केही दिन भित्रै राजीनामा दिने वा पार्टी सभापति सुशील कोइराला यहाँ आएको बेला सामूहिक राजीनामा बुझाउने भन्ने बारेमा छलफल सुरु गरेका छन् । एक सदस्यले शुक्रवार राती भने, भर्खर छलफल शुरु भएको छ, अधिकांश साथीहरु कोही पनि यो गठन र निर्णयप्रति सन्तुष्ट भएको पाइएन । अब एक दुई दिनभित्रै साथीहरुको सामूहिक विज्ञप्ति आउन सक्छ ।
को को छन् नयाँ समितिमा ? कांग्रेस केन्द्रको पत्र जस्ताको तस्तै :

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम