कांग्रेसमा वाम पृष्ठभूमिका व्यक्तिलाई पाखा, पञ्चायतबाट आउनेलाई काख

१७ जेष्ठ २०७०, शुक्रबार ०६:३६ मा प्रकाशित

काठमाडौं, १७ जेठ । देशको प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाह बनेको नेपाली काङ्ग्रेस मुलुकका सबै प्रजातन्त्रवादीहरूको आस्था र भरोसाको केन्द्र बन्नेमा आशङ्का उत्पन्न भएको छ । प्रजातन्त्रका निम्ति इतिहासमा अविष्मरणीय योगदान पुर्‍याएको र भविष्यमा पनि प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहने विश्वास गरी पञ्चायती र वामपन्थी पृष्ठभूमिका कैयन व्यक्तिले आफूलाई काङ्ग्रेसमा समाहित गरेका थिए, अझै गर्दै छन् । तर, काङ्ग्रेस नेतृत्वको व्यवहार भने कसैलाई काखा र कसैलाई पाखा लगाउने प्रकारको देखिएको छ । खासगरी पञ्चायतकालमा वामपन्थी आन्दोलनमा रहेका तर आफूलाई सच्याउँदै प्रजातन्त्रका निम्ति काङ्ग्रेसमा समाहित गर्नेहरूका प्रति पार्टी नेतृत्वको व्यवहार दूराग्रहपूर्ण रहने गरेको छ ।
०४६ सालको राजनीतिक परिवर्तनपश्चात् अनेकौँ वामपन्थी पृष्ठभूमिका व्यक्तिहरू काङ्ग्रेस पार्टीमार्फत देशको सेवा गर्ने आकाङ्क्षा राखेर पार्टीमा प्रवेश गरेका थिए । भीमबहादुर श्रेष्ठ, केशरमणि पोखरेल, मोहन चापागाईं, बोधराज काफ्ले, ताराबहादुर कोइराला, धु्रव श्रेष्ठ, तारानाथ दाहाल, शम्भु धमला (धनकुटा) र चन्द्र महर्जनलगायत वाम पृष्ठभूमिका अनेकौँ व्यक्तिले आफूलाई काङ्ग्रेसमा समाहित गरे । यीमध्ये भीमबहादुर श्रेष्ठ र मोहन चापागाईंलाई तत्कालिक राष्ट्रिय सभाको सदस्य बनाइए पनि त्यसपछि उनीहरूलाई कुनै राजनीतिक जिम्मेवारी दिइएन । अहिले उनीहरूको कुनै अत्तोपत्तो छैन । चन्द्र महर्जनलाई ०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुरको दुई नं. क्षेत्रमा उम्मेदवार बनाइए पनि त्यसभन्दा माथिको जिम्मेवारीका लागि काङ्ग्रेसले महर्जनलाई उपयुक्त ठानिरहेको छैन । धु्रव श्रेष्ठ, ताराबहादुर कोइराला, शम्भु धमलालगायतका व्यक्तिहरू अहिले कहाँ कुन भूमिकामा छन्, काङ्ग्रेसले तिनको कुनै सरोकार राखिरहेको छैन । वामपन्थी पृष्ठभूमिका राजनीतिकर्मीहरूलाई सौतेनी व्यवहार गरेको महसुस गरेपछि केशरमणि पोखरेल र बोधराज काफ्लेलगायतका नेताहरू भने हालै मात्र एमालेमा फर्किएका छन् । यसरी वाम पृष्ठभूमिका व्यक्तिहरू उपेक्षित भए पनि पञ्चायतबाट काङ्ग्रेसमा आउनेहरूलाई भने उच्च महत्त्व दिइयो । केशरबहादुर विष्टलाई काङ्ग्रेस प्रवेश गर्नेबित्तिकै राष्ट्रिय सभाको सदस्य बनाइयो र संसदीय निर्वाचनमा उनलाई उम्मेदवारका रूपमा समेत प्रस्तुत गरियो । त्यति गर्दा पनि विष्ट काङ्ग्रेसमा रहन सकेनन् र अन्तत: पञ्चहरूकै पार्टीमा फर्किए । ०४६ सालमा पञ्चायती मन्त्री रहेका केशवकुमार बुढाथोकीलाई काङ्ग्रेसले अहिले केन्द्रीय सदस्य बनाएर राखेको छ । पञ्चायतबाट काङ्ग्रेसमा आएका शरत्सिंह भण्डारीलाई काङ्ग्रेसले संसदीय निर्वाचनमा टिकट मात्र दिएन मन्त्री पनि बनायो । तथापि भण्डारी काङ्ग्रेस छोडेर मधेसकेन्द्रित पार्टीको नेता बन्न पुगेका छन् ।
०४६ को आन्दोलनमा पञ्चायतद्वारा निर्मित प्रतिकार समितिमा रहेका दिलेन्द्रप्रसाद बडूलाई काङ्ग्रेसले पटकपटक मन्त्री बनायो र अहिले उनी पार्टीको केन्द्रीय सदस्यका साथै प्रवक्तासमेत बनाइएका छन् । पदम ठकुराठीलाई काङ्ग्रेसमा आउनेबित्तिकै एनआईडीसीको प्रमुख बनाइएको थियो, उनी अहिले काङ्ग्रेस छाडेर माओवादी बनेका छन् । टीकाजंग थापालाई काङ्ग्रेसमा आएपछि परराष्ट्र अध्ययन प्रतिष्ठानको प्रमुख बनाइएको थियो, औपचारिक शैक्षिक योग्यता नपुगेका करणले मात्र थापाले उक्त जिम्मेवारी परित्याग गर्नुपर्‍यो । त्यस्तै पञ्चायतबाट काङ्ग्रेसमा आएका दिलनाथ गिरी, विश्वबन्धु थापा, इन्द्रप्रसाद ढुङ्गेल, चैतन्य सुब्बा, वीरेन्द्र पोखरेलमध्ये अधिकांशले अहिले काङ्ग्रेस छोडिसकेका छन् । तर, काङ्ग्रेसमा रहँदा उनीहरूलाई पनि पार्टीले उच्च महत्त्व दिने गर्दथ्यो ।
यतिबेला मुलुक निर्वाचनमा जाने तयारी गर्दै छ र चुनावी माहौल आफ्नो पक्षमा बनाउन विभिन्न पार्टीहरूले कुनै बेला आफूसम्बद्ध रहेका र नरहेकाहरूलाई समेत पार्टीमा ल्याउन अभियान नै चलाइरहेका छन् । तर, काङ्ग्रेसले भने निष्क्रिय रहेका या काङ्ग्रेस छोडेर बाहिरिएकाहरूलाई पार्टीमा फर्काउन कुनै तत्परता लिएको छैन । अन्य पार्टीबाट आएर लामो समयदेखि काङ्ग्रेसमा क्रियाशील व्यक्तिलाई परिचालन गर्न पनि काङ्ग्रेस नेतृत्व उदासीन बनेको छ । मुलुकमा वामपन्थीहरूको बिगबिगी रहेका बेला वामपन्थी पार्टीमा लागेका व्यक्तिलाई पार्टी प्रवेश गराउन काङ्ग्रेसले विशेष योजना नै बनाउन आवश्यक भइरहेको छ । तर, काङ्ग्रेस नेतृत्व नयाँ व्यक्तिलाई पार्टीमा भित्र्याउन मात्र होइन भित्रिएका नेता कार्यकर्तालाई प्रयोग, उपयोग र परिचालन गर्नसमेत उदासीन रहँदा काङ्ग्रेसलाई कुनै न कुनै प्रकारले क्षति पुग्ने हो कि भन्ने आशङ्का बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री