बजेट कुम्ल्याउन चलचित्र महोत्सवको तयारी

१५ जेष्ठ २०७०, बुधबार ०८:२३ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ, १५ जेठ । महोत्सवको आयोजना किन र कसका लागि गरिन्छ ? जवाफ सहज छ– जुन विषयको महोत्सव गरिन्छ, त्यसप्रति जनचासो बढाउनु महोत्सवको उद्देश्य हुनुपर्छ । अनि त्यसको प्रचारप्रसार हुँदा त्यसको बारेमा सकारात्मक सन्देश जानुपर्छ । त्यसो भएमा मात्र महोत्सवको सार्थकता झल्किन्छ ।
तर, एउटा महोत्सव यस्तो हुन लागेको छ कि यो महोत्सवको आयोजनाले सीमित व्यक्ति मात्र मोटाउने र उनीहरूले सजिलै चलखेल गर्न पाउने भएका छन् न कि जुन विषयको महोत्सवले त्यो क्षेत्रमा खासै प्रभाव पार्ने छैन । सीधै भन्नुपर्दा जनताको करबाट चलेको रकमको दुरुपयोग गर्दै बजेट कुम्ल्याउन प्रस्तुत महोत्सवको आयोजना हुन लागेको कुरा घामजस्तै छर्लङ्ग भएका छ अब ।
प्रसङ्ग हो चलचित्र विकास बोर्डले शनिबार, आइतबार र सोमबार तीन दिन धरानमा गर्न लागेको चलचित्र महोत्सव । यो महोत्सव किन गरिँदै छ ? यसबारे चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता आफैँ अनविज्ञ छन् । न त यो समय विकास बोर्ड स्थापनाको वार्षिक समय हो न त कुनै ऐतिहासिक दिन हो नेपाली चलचित्रको । बिनाअर्थ, तुक अनि उद्देश्यले गर्न लागिएको तीनदिने चलचित्र महोत्सवको यतिबेला चलचित्रकर्मीहरू नै खुलेर विरोधमा उत्रिएका छन् । असारभित्र बजेट सकाउनुपर्ने र नसकाएमा फ्रिज भएर उल्टै मन्त्रालय फर्कने डर र लोभका कारण झारा टार्न आयोजना गर्न लागिएको चलचित्र महोत्सवको उपलब्धि शून्यप्राय: हुने निश्चित छ । यो महोत्सवमा सहभागी हुने व्यक्तिहरू बढी गैरचलचित्रकर्मी हुने भएकाले पनि विशुद्ध चलचित्रकर्मी भने चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले आफ्ना आसेपासेलाई महोत्सवमा काम दिएर उनीहरूले आफ्ना लागि लगाएको गुन तिर्न सजिलो माध्यम बनाएको आरोप सिनेकर्मीहरूले लगाएका छन् । सिनेमा नचलेर निर्माताहरू घर न घाटको अवस्थामा छन् । नेपाली सिनेमा चलाउने हलहरू दिनदिनै बन्द भइरहेका छन् । ‘त्यसतर्फ चलचित्र विकास बोर्डको वास्ता छैन तर बजेट कुम्ल्याउन बेमौसमको महोत्सव गरेर के गर्न खोजेको… ?’ एक चलचित्रकर्मीको आक्रोश छ ।
धर्मेन्द्र मरवैता चलचित्र विकास बोर्डको अध्यक्ष बन्दा धेरै विरोध भयो उनको । विकास बोर्डमा छिर्न नदिने अड्डी कसेकाहरू यतिबेला अध्यक्षको नजिकको मान्छे बनेका छन् भने उनलाई साथ दिनेहरू पराई भइरहेको अवस्थामा अब मरवैताको विकास बोर्डप्रति हेर्ने नजर सकारात्मक नभएको स्पष्ट भएको छ । ‘जीवनभर चलचित्र क्षेत्रमा बस्नेलाई पो भोलि चलचित्रकर्मीले के भन्लान् भन्ने चिन्ता हुन्छ र उसले बुझेर काम गर्छ तर बोर्डलाई महरा बनाउनेलाई के मतलब नेपाली सिनेमाको भविष्यको । आफ्नो समय हुञ्जेल कुम्ल्याउने योजनामा आएका अध्यक्षबाट अब आशा नगरौँ– चलचित्रकर्मीहरूको गुनासो छ ।
महोत्सवमा सहभागी हुन प्लेन चढ्ने मामिलामा पनि घोटाला भएको छ । आफ्नो तारिफ गर्ने र वरिपरि घुम्नेलाई अध्यक्षले प्लेनमा चढाएर लैजाने भएका छन् भने अरूहरूलाई काठमाडौंबाट सीधै धरानसम्म गाडीमा । उनले सिनेकर्मीहरूलाई पनि सहभागी हुन जानैपर्छ भन्ने आग्रहसहितको होइन कि आए आओस् नआए नआओस् भन्ने मनसायको पत्र लेखेका छन् । जाबो सम्बोधनमा पनि कन्जुस गर्ने चलचित्र विकास बोर्डका अध्यक्षको महोत्सव कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । एक सातामा चार–चारवटा सिनेमा जुधेर निर्माताहरू धोती न टोपीको अवस्थामा छन्– यतातिर बोर्डको ध्यान छैन र यो कुरालाई समन्वय गरेर अगाडि बढ्ने सोच उनमा छैन । तर, आएको बजेट बिनाकारण फजुल खर्च गरेर उडाउनमा नै व्यस्त देखिन्छन् उनी । यसतर्फ सञ्चार मन्त्रालय पनि सजग हुने कि ? बिनाकारण, बिनाअर्थ र बिनाउद्देश्य गरिएको कुनै पनि कामको परिणाम सकारात्मक आउँदैन र यसले दूरगामी रूपमा पनि सकारात्मक प्रभाव पार्दैन । त्यसकारण यस्ता अर्थहीन कार्यक्रमको आयोजनाले सीमित व्यक्ति र सीमित स्वार्थलाई फाइदा त पुग्ला तर चलचित्र क्षेत्रमा यसको अगुवाइ गर्नेको नाम जहिले पनि धब्बाकै रूपमा हुने गर्छ । यो महोत्सवले अब अझै धेरै चलचित्रकर्मी र चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताबीचको दूरीमा लामै धर्को र ठूलो खाडल सिर्जना हुने देखिन्छ । चलचित्रको विकास र विस्तार गर्न सरकारले दिएको बजेटको गलत र फजुल खर्च गरेर प्लेन, रक्सी र होटल बसाइमा खर्च गर्दा भोलिको परिणाम कस्तो आउँला ? अध्यक्षलाई चेतना भया…।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

लमजुङ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६

काठमाडौँ । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिचल्लीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको