पाणिनी तपोभूमिको महत्त्व किन ओझेलमा ?

१५ जेष्ठ २०७०, बुधबार ०८:०१ मा प्रकाशित

मुक्तिनाथ भुसाल, १५ जेठ । अर्घाखाँची जिल्लाको पणेना, पोखराथोक गाविसमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल पाणिनी तपोभूमि एक प्राचीन र महत्त्वपूर्णस्थल भए पनि सो स्तरको प्रचारप्रसार नहुनुलाई स्थानीयवासी र आसपासका जिल्लावासीले ठूलो विडम्बनाका रूपमा लिएका छन् । दक्षिणतर्फ सम्म परेको तराईको भाग र उत्तरमा लस्करै हिमचुलीको बीचमा रहेको यो उच्च पहाडी भूभाग पाल्पा–अर्घाखाँचीको सीमा क्षेत्रमा पर्छ । सन्धिखर्क सदरमुकामका अलावा पाल्पा तानसेनदेखि पश्चिमतर्फ ३१ किलोमिटर यात्रामा यो पवित्र स्थानमा पुग्न सकिन्छ ।
प्राचीनकालमा पाणिनी ऋषिले यसै स्थानमा आएर तपस्या गरी अष्टाध्यायी ब्याकरण रचना गरेको सन्दर्भ प्रचलित छ । यस स्थानमा कोटीहोम, १८ पुराण, उपपुराणसहित दुई दर्जनभन्दा बढी महायज्ञ सम्पन्न भइसकेका छन् । प्रत्येक वर्षको जेठ महिनामा सार्वजनिक यज्ञ गरिने यो पवित्र धार्मिक स्थानबाट तराई र हिमाल दुवै स्पष्ट देख्न सकिन्छ । यो स्थानमा सुन्दर दह (ताल), पाणिनी मन्दिर, शिवमन्दिर, धर्मशाला, पाठशाला, यज्ञस्थललगायत थुप्रै अन्य धार्मिक प्रतीकहरू रहेका छन् । गोपाल सिद्धभूमि एवम् गोरक्षनाथ मन्दिर पनि यसै क्षेत्रमा रहेको छ ।
यो क्षेत्रमा एक हजारभन्दा बढी थरी–थरीका जडीबुटीका साथै हजारौँ जातका चराचुरुङ्गी अनि विभिन्न प्रकारका जंगली जनावर पाउन सकिन्छ । जसको कारण पनि आयुर्वेद तथा प्राकृतिक चिकित्साका दृष्टिले यो स्थान अत्यन्तै ऐतिहासिक र महत्त्वपूर्ण रहेको छ ।
गौतम बुद्ध जन्मिनुभन्दा चार सय वर्ष पहिले पाणिनी नामका ऋषिले विश्वशान्तिको कामना गर्दै तपस्या गरेको र तपस्या गर्दागर्दै यो स्थानमा उनको देहावसान भएको कारण पनि बुद्ध जन्मिएको लुम्बिनीजस्तै महत्त्वपूर्ण भएको स्थानीय विज्ञ एवम् सचेत तप्काको बुझाइ छ । पाणिनीले आफ्नो तपस्याको साथमा संस्कृत ब्याकरणको रचनासमेत गरेको कुरा धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
वर्तमान अवस्थाको कुरा गर्नुपर्दा यहाँ प्राचीनकालमा निर्माण गरिएका मन्दिरहरू जीर्ण भई भत्किन थालेका छन् । करिब ५० रोपनी जमिनमा फैलिएको तपोभूमिमा रहेका विभिन्न मन्दिरबाट मूर्ति, विभिन्न जिल्लामा समेत सुन्न सकिने सय किलो तौलको घन्टालगायतका महत्त्वपूर्ण सामानहरू चोरी भइसकेका छन् । तपोभूमि आयोजक समितिका उपाध्यक्ष यदुनाथ पोख्रेलका अनुसार यो पवित्र स्थानलाई संसारभरि चिनाउनका लागि १०८ फिट अग्लो विश्व प्रसिद्ध ज्योतिर्लिङ स्थापनार्थ धेरै काम सम्पन्न हुन लागेका छन् । त्यो क्षेत्रका वरिष्ठ समाजसेवी तथा पूर्व जिल्ला सभापति खगेन्द्र पोख्रेल भने धार्मिक धरोहर बोकेको यस पवित्र स्थानमा प्रचारप्रसारको कमी र पानीको समस्या रहेको रहेको उल्लेख गर्छन् ।
यथार्थमा भन्नुपर्दा पाणिनी तपोभूमि क्षेत्र अत्यन्तै रमणीय छ । सुन्तला, किप, काफल, भलायो, दाडिम, ज्यामिर, निबुआ, अनार, ओखर, चाँप, करबिर, वासन्ती, मालती आदि फलफूलका रूख र औषधि प्रयोगमा आउने अनेक वनस्पति, वृक्ष, बोट, लहरा, झारपात प्रशस्त रहेका छन् । मन्द शीतल हावा लहराउँदै त्यो स्थानमा पुग्दा ग्रीष्म कालमा पनि गर्मी महसुस हुँदैन । मैना, सुगा, कोइली, डाँफे, मयुरजस्ता पक्षीहरूको मधुर स्वरले मन आनन्दित हुनुको साथै मृगका बथान झ्याम्म परेका रूखमुनि बसेर सुस्ताइरहेका देख्न पाउँदा एकपटक जो–कसैले पनि स्वर्गीय आनन्दको अनुभूति गर्दछ । पाणिनी तपोभूमि यस्तो अलभ्य छ ।
पणेनाआसपास अनेकौँ प्रसिद्ध पौराणिक पुन्य स्थानहरू रहेका छन् । वायव्य दिशामा कोशभर जति टाढा दुर्वासामुनिको आश्रम रहेको छ । जुन आश्रमको नजिक रहेको त्रिवेणीमा स्नान गरी शिलास्वरूप मुनीको दर्शनले मनुस्य जीवन पुन्यको भागीदार बन्न पुग्छ भने पणेनाको उत्तर दिशातिर चार कोसजति टाढा महर्षि देवदत्तकी छोरी रुरुकन्याको तपस्थान रुरुक्षेत्र रहेको छ । जसलाई रिडी नामले पनि चिनिन्छ । त्यहाँ रहेको गण्डकी नदीको जलभित्र शालिग्रामका सुन्दर मूर्तिहरू पाउन सकिन्छ, जो साक्षात् भगवान्का स्वरूप हो भन्ने लोकमत छ । गण्डकीले ठूलो तपस्याबाट उक्त बरदान पाएको कुरा बराह पुराणमा लेखिएबाट यसको महत्त्व चुलिएको हो । पश्चिम भागमा नर्चनाचल रहेको छ । जहाँ रावणले नाचेर शिवलाई सन्तुष्ट बनाएका थिए । नर्तनाचल र पाणिनी पर्वत एउटै भएका कारण यो पर्वतको पूर्वलाई पणेना र पश्चिमलाई नरपानी भन्ने गरिन्छ ।
नर्तनाचलदेखि दक्षिण भागमा रावणको वाणद्वारा पहरो फोरेर पानी निकालिएको कारण वाणगङ्गा नामको नदी रहेको छ । नर्तनाचल र वाणगङ्गाबीचको भागमा शिवजीको विशाल मूर्ति रहेको छ भने त्यसको बगलमा रहेको पहरामा एउटा पुरुषको मूर्ति टाँसिएको छ । कला र संस्कृति बचाउको फगत थोत्रा नारा दिई नगदको खेती गर्ने धन्दामा लागेका निकायले यस अलभ्य स्थलको यथार्थलाई मनन गरी संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका साथ विकासका प्रक्रिया अघि बढाउन पहल गर्नु अपरिहार्य छ । साथसाथै यस क्षेत्रको महत्त्वलाई प्रचारप्रसारमा ल्याउने हो भने धर्म कमाउन चाहनेले देशदेशावर डुल्नै नपर्ने र पर्यटनको आनन्द लिन चाहनेका लागि पनि स्वर्गीय अनुभूति यहाँ प्राप्त हुन सक्नेमा दुईमत रहँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०