हात चलुन्जेल पत्रकारिता गर्ने किशोरको रहर

१५ जेष्ठ २०७०, बुधबार ०७:४३ मा प्रकाशित

मान्छेको कसै न कसैसँग प्रेम भइरहेकै हुन्छ । कहिले कफीसँग, कहिले फेसनसँग, कहिले सिगरेटसँग, कहिले मदिरासँग, कहिले युवतीसँग । वरिष्ठ पत्रकार किशोर नेपालको प्रेमचाहिँ कलमसँग छ । नेपाली पत्रकारिता क्षेत्रका स्कुल अफ थट, अझ भनौँ एउटा आइडल किशोर नेपाल उमेरले ६० नाघ्दा पनि तरुनो कलममार्फत हरेक पुस्ताको मन जित्न सफल हुनुभएको छ । ‘प्रेम भनेको मान्छेलाई जीवित बनाउने तत्त्व हो,’ उहाँ भन्नुहुन्छ, ‘यसलाई कुनै व्याख्या चाहिँदैन ।’
मूलधारको पत्रकारिता त भइहाल्यो । ग्ल्यामरस पत्रकारिता उहाँको अलग्गै पहिचान हो । यसलाई ४५ वर्षदेखि कलम घोटेर पाएको मान्यता भन्न हिच्किचाउनुहुन्न उहाँ । कान्तिपुरको साप्ताहिक वा नागरिकको शुक्रबार उहाँको सफल डिजाइन हो । यस अर्थमा युवा पुस्तासँग जोडिएका अग्रज पत्रकार किशोर नेपाल नै हो । उहाँ भन्नुहुन्छ, ‘म छोरा उमेरका साथीहरूको टिममा काम गरिरहेको छु । उनीहरू मसँग काम गर्न रमाइलो मान्छन् ।’
वरिष्ठहरूका पनि वरिष्ठ पत्रकार नेपालको शक्ति भनेकै पछिल्लो पुस्ता र अघिल्लो पुस्ताको फरकलाई तीखो पर्यवेक्षण हो । उहाँको विचारमा पत्रकारको काम पनि यत्ति हो । पत्रकारले राजनीति, अर्थनीति, समाज वा प्रेम मात्र हेर्ने होइन । आफ्नो छोराछोरी उमेरको पुस्ताको जीवन शैली अध्ययन गर्न मन लाग्छ उहाँलाई ।
वरिष्ठ पत्रकार नेपालको जन्म २००९ साल जेठमा नुवाकोटको झिल्टुङ, अर्चलेमा भएको हो । शंकरनाथ नेपाल र विद्यावती नेपालका एक्ला सुपुत्रका रूपमा । उहाँका दुई दिदी हुनुहुन्छ, विजया ढकाल र नर्मदा रेग्मी । उहाँको बसोबास पहिलेदेखि नै काठमाडौं हो । जन्मेको मात्र नुवाकोटमा हो । आदर्श विद्यालय बत्तीसपुतली हुँदै पशुपति हाइस्कुल चाबहिलमा उहाँको स्कुले शिक्षादीक्षा भयो । कलेज पढ्नुभयो, त्रिचन्द्र र सरस्वतीमा । उहाँले संस्कृतिमा एमए र पत्रकारिताको उच्च अध्ययन गर्नुभएको छ ।
उहाँको एकमात्र सपना थियो, पत्रकार बन्ने । खास त उहाँ कलेजजीवनमा साहित्य लेखिरहनुहुन्थ्यो किशोर झुत्रेका नाममा । उहाँको पहिलो कविता भने ०२४/२५ तिर लुम्बिनी सन्देश साप्ताहिकमा ‘गौतम बुद्ध’ शीर्षकमा प्रकाशित भएको थियो । उहाँको पत्रकारिता करिअर नै चन्द्रलाल झासँग ‘नेपाल टाइम्स’मा सुरु भयो । त्यतिखेर पत्रकारितामा बिटसिट केही थिएन । अलराउन्डर हुनुुहुन्थ्यो, किशोर नेपाल ।
नेपाल टाइम्समा कलम तिखारिसकेपछि जनमतसङ्ग्रहताका जनआकाङ्क्षा नामक साप्ताहिक पत्रिका चलाउनुभयो उहाँले । देशान्तर सुरु गर्नुभयो । पहिलो रंगीन ट्याब्लेट दैनिक नयाँ सडक पनि निकाल्नुभयो उहाँले । उहाँले काम गरेका पत्रिकामा साप्ताहिक समाचार, स्वतन्त्रता, हिमालय टाइम्स, कान्तिपुर र नेपाल साप्ताहिक हुन् । हालै मात्र उहाँ नागरिक दैनिकको प्रधानसम्पादकको जिम्मेवारीबाट मुक्त हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घको सभापति रहिसकेका उहाँ तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार हुुनुहुन्थ्यो । शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा उहाँ नेपाल टेलिभिजनको अध्यक्ष र गोरखापत्रको सर्वशक्तिमान अध्यक्ष एवम् प्रधानसम्पादक हुनुभयो । प्रेस स्वतन्त्रता राज्यसँग सूचना खोसेर लिने सामथ्र्यमा भर पर्ने उहाँको मत छ । उहाँ भन्नुहुन्छ, ‘हामीले त केही पनि गर्न सकेका छैनौँ ।’ उहाँका हालसम्म रंग मण्डल, अर्कै प्रस्तर, चिन्ताका क्षणहरू, द्वन्द्व र दायित्व, शक्तिको अवतरण, पाताल र सहरको कथा गरी सात साहित्यिक कृति प्रकाशित छन् ।
खानामा उहाँको खासै रोजाइ छैन । इन्डिया गए इन्डियन चाइना गए चाइनिज र जापान गए जापानिज । अलिक हलुका खाना मनपर्छ उहाँलाई । उहाँलाई टिपटप भएर हिँड्ने शोख छ । उहाँको प्रिय ब्रान्ड बेन्टले हो । उहाँ प्राय: स्मार्ट र महँगा लुगा लगाउनुहुन्छ भन्ने चर्चा पत्रकारमाझ चल्दै आएको छ ।
उहाँ फिल्म हेर्न भ्याउनुहुन्न । तर, फिल्मको रिभ्यु भने औधी पढ्नुहुन्छ । टेलिभिजनमा आएका केही दृश्य हेरेर फिल्मको स्वाद लिनुहुन्छ । राम्रा फिल्म हलमै गएर हेरिदिनुहुन्छ । लुट उहाँलाई मन परेको फिल्म हो । नयाँ हिरोइन सबै मन पर्छन् । हिरो राजेश हमाल उहाँका साथी नै हुन् । बलिउडका प्रिय हिरोइन भने वहिदा रहमान, शर्मिला टैगोर, वैजयन्ती माला, माधुरी दीक्षित, रविना टन्डन र काजोल हुन् ।
उहाँका आइडल थुप्रै छन् । राजनेतामा कृष्णप्रसाद भट्टराई, लेखकमा बीपी कोइराला, पत्रकारमा चन्द्रलाल झा, व्यवसायीमा कुशकुमार श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ । कलाकारमा शशि शाह, नारायणगोपाल, गोपाल योञ्जन र शम्भुजित बास्कोटा, भुवन केसीहरू । उहाँको जीवनमा सम्झने क्षणहरू पनि छन् । बिर्सने क्षणहरू प्नि छन् । नेपालका ७५ जिल्ला घुम्नुभएको छ उहाँले । चार सय गाउँ पुग्नुभएको छ । नेपालमा उहाँलाई धेरै जान मनलाग्ने ठाउँ हो, पोखरा ।
सावित्री नेपालसँग पहिले मागीविवाह गर्नुभयो उहाँले ४० वर्षअगाडि झ्याइँझ्याइँ बाजा बजाएरै । त्यसपछि प्रेम गर्न थाल्नुभयो । सावित्रीलाई पैसाको सधैँ अभाव हुन्छ रे । पैसा हुँदा राम्रो सारी किन्ने रहर लाग्छ रे । उहाँहरूबीच ठाकठुक भने पर्दैन । नारीको सौन्दर्यलाई अङ्गविशेष छुट्याएर हेर्न नमिल्ने उहाँको धारणा छ । उहाँको प्रश्न छ, सौन्दर्य भनेको समष्टि हो । एउटा मात्र मनपर्नेले त्यही मात्र टिपेर विवाह गरेका छन् त ?
राम्रो अक्षर र मीठो भाषा भएकाले उहाँले अरूका लागि थुप्रै प्रेमपत्र लेख्नुभएको छ । तर, आफ्नै लागि भने कहिल्यै लेख्नुभएन । उहाँलाई कसैले लेखेन । उहाँले पनि कसैलाई लेख्नुभएन । उहाँको विचारमा सेक्सको परिभाषा गर्नैपर्दैन । त्यो प्राकृतिक हो, जैविक हो । उहाँको फिलोसफी छ– तिमी ईश्वरमा विश्वास गर्छौ भने गड गिफ्टेड, प्रकृतिमा विश्वास गर्छौं भने नेचर गिफ्टेड हो । त्यसमा बढी ध्याउन्न भएन भने यौनजीवन सुखी हुन्छ ।
उहाँको विचारमा युरोप, अमेरिका र यहाँ केही फरक छैन । हाम्रो समाज ढोंगी त होइन । नखुलेकोचाहिँ हो । हाम्रो समाज आधुनिकतामा प्रवेश गरेको ६० वर्ष त भयो । समाज परिपक्व हुन त्यतिले पुग्दैन । अश्लील पत्रकारिता गरेको भन्ने आरोपमा उहाँको भनाइ छ– संसारमा प्रचलित गसिपलाई छापेको मात्र हो । त्यो टाइम्स अफ इन्डियामा पनि छापिन्छ, हेराल्ड ट्रिब्युनमा पनि छापिन्छ । उनीहरूले छापेको सभ्य हुने, हामीले छापे असभ्य हुने ?
उहाँको प्रिय चुरोट मार्लबोरो हो । त्यसको प्रयोग कहिले घट्छ, कहिले बढ्छ । मनपर्ने ह्विस्कीचाहिँ ब्ल्याकलेबल । उहाँको स्ट्यान्डर्ड पनि त्यही हो । अहिले महिनामा एकाधपल्ट पिउनुहुन्छ । उहाँका चार छोरा हुन् । जेठा छोरा सुरेशको दुर्घटनामा निधन भयो । एक छोरा अमेरिकामा छन् र दुई पत्रकारितामै छन् ।
कुनै मुलुकमा राजदूत खाली भयो भने किशोर नेपालकै हल्ला चलिरहन्छ । खासगरी एमाओवादी अध्यक्ष प्रचण्डसँग उहाँको सम्बन्ध चर्चामा छ । राजनीतिमा पत्रकार नेपालको रुचि छैन । हात चलुन्जेल पत्रकारिता गर्ने इच्छा छ उहाँलाई ।
अन्तमा पत्रकारिता गर्न चाहनेलाई उहाँको मननीय सुझाव छ– ‘कोर्सबुक पढेर डिग्री त लिन सकिन्छ, तर पत्रकारिता गर्न सकिँदैन । मुलुकको इतिहास, आर्थिक स्थिति र वर्तमान बुझ्नुपर्‍यो । भाषा र विचार हुनुपर्‍यो । नेताको हाहाहाहुलाई मात्र धु्रवसत्य मान्नुभएन, लगनशीलता र धैर्यता चाहियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी