के भनी मनाउने गणतन्त्र दिवस ?

१५ जेष्ठ २०७०, बुधबार ०७:०५ मा प्रकाशित

काठमाडौं, १५ जेठ । आज छैठौं गणतन्त्र दिवस । मुलुक लोकतन्त्रात्मक गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको आजका दिनदेखि छैटौँ वर्ष लागेको छ । व्यवस्थापकीय दशा र दिशा सुधारका सवालमा कुनै पनि राष्ट्रका लागि पाँच–६ वर्षको अवधि कम आँक्न मिल्दैन । तर, हाम्रो सन्दर्भमा यो महत्त्वपूर्ण समय निरर्थक बगेर गएको छ । गणतन्त्र दिवस मनाइँदै गर्दा यो तिक्त यथार्थ अस्वीकार गर्नै नसक्ने अवस्थामा नेपाल र नेपाली उभिएका छौँ भन्दा कमैले मात्र अतिसयोक्ति ठान्न सक्छन् ।
के, कस्तो र कुन सन्दर्भमा कसरी ‘गणतन्त्र’ आयो भन्ने सवाल उठाइनु यतिबेला असान्दर्भिक र उच्चाटलाग्दो प्रसङ्ग बन्न सक्छ । तर, गणतन्त्रसँगै ठीक वा बेठीक अनेक किसिमका राजनीतिक प्रवृत्ति र संस्थानहरू पनि अस्तित्वमा आएका र त्यससँगै थुप्रै समस्या पनि भित्रिएका वास्तविकतासँग जति नै असहमत हुन खोजे पनि सकिन्न र मिल्दैन पनि । ‘महान्’ भनिएको जनआन्दोलन असफल हुँदा सिङ्गो समाजमा निराशा छाउँछ भन्ने विचारकहरूको कथन यतिबेला हाम्रो मुलुकमा व्यवहारत: पुष्टि भइरहेको छ । जनतामा बढिरहेको निराशा रोक्नेतर्फ नेतृत्वहरूले जानाजान पहलकदमी लिइरहेका छैनन् । निराशामाथि थप अत्यासको सन्दर्भ बनेको छ यो । वास्तवमा गणतन्त्र घोषणा हुनुलाई नै ठूलो उपलब्धि ठानिएको रहेछ भन्ने बोध आमनेपालीमा यतिबेला हुन थालेको आभास हुन्छ ।
गणतन्त्रको मर्म पक्रिएर व्यवहार गर्नेतर्फ विचार नपुर्‍याइँदा आज यसप्रति वितृष्णाको बाढी उर्लंदो छ । ६ सय १ जना सदस्य सम्मिलित संविधानसभाको बोझ पनि उठाए जनताले, तर संविधानको खेस्रासम्म पनि दिन नसकी चार वर्ष गुजारेर त्यसको अवसान भएको पनि वर्ष दिन नाघिसक्यो । संविधानसभा बचाउनेमा होइन आ–आफ्ना सरकार या प्रधानमन्त्रीको ओहोदा बचाउनेमा मात्र दलका नेताहरूको चिन्ता देखियो । प्रतिनिधिमूलक, सहभागितामूलक र समावेशी प्रजातन्त्रको नमुना पेस गर्ने कथित गणतन्त्रवादी नेताहरूको उद्घोष पानीको फोकातुल्य भएको छ । गणतन्त्रका नाममा राजतन्त्र बिर्साउने निरङ्कुशता भित्र्याउने चेष्टा यतिबेला राजनीतिक नेतृत्वको अभीष्ट बनेको अनुभूति हुँदै छ । जनआन्दोलनमा उर्लेको जनलहरले मुलुकमा दिगो शान्ति र विकारको लहर ल्याउँछ भन्ने धेरैको ठहर थियो । निरङ्कुशताको अन्त्य, लोकतन्त्रको संस्थागत विकास हुनेमा सबै ढुक्क थिए । तर, आज यी विश्वासमा धमिरा लागेको छ । दलहरूको व्यवहारसँग आमजनता मात्र होइन दलकै कार्यकर्ता र नेतातहका व्यक्ति पनि सन्तुष्ट छैनन् । यो वास्तवमै राजनीतिक दल र शीर्ष नेतृत्व हतका लागि शर्मको विषय हो । ‘क्रमभङ्ग’ र ‘छलाङ’जस्ता शब्दलाई स्थापित गर्ने (ए)माओवादी नेतृत्व गणतन्त्रलाई संस्थागत गर्ने सवालमा फगत झेली क्रियाकलापमा निमग्न देखिन्छ । अझै पनि जनतामा भ्रम मात्र दिने कोसिस गरिरहेको छ र आश्वासनसँगै अझै त्रास बाँड्न उसले छोडेको छैन भने अन्य दलहरूको निरीहता र अन्योलग्रस्त मानसिकता पनि हेर्नलायक छ ।
आजसम्म संविधान लेखेर शान्ति र विकासको मार्गमा दौडिसक्नुपर्ने हो । यसमा सबैभन्दा ठूलो जिम्मेवारी त माओवादीकै थियो । तथापि, दोषी ऊ मात्र भने अवश्य होइन, दोष सबैको छ । यहाँसम्म कि सडकमा उत्रिएर गणतन्त्र स्थापना गर्ने जनताले पनि आफूहरू दोषी रहेको यथार्थ सहज रूपमा स्वीकार्नुपर्छ । आन्दोलनमा ओर्लिएर केही दल या मुठ्ठीभर नेताहरूको पोल्टामा सत्ता सुम्पिदिनु मात्र जनताको कर्तव्य थिएन, उनीहरूमाथि निगरानी, खबरदारी र आवश्यक पर्दा कारबाहीका पनि जनता हकदार थिए । जनताले यो कर्तव्य चटक्कै भुले या सचेत रहँदारहँदै पनि सुतेर निकम्मापन प्रदर्शन गरिदिए ।
जतिसुकै इन्कार गर्न खोजिए पनि अब त बेला घर्किएको छ । सबै राजनीतिक दल तथा नेता एक भइदिएका भए आजसम्म सुधारका धेरै काम सम्पन्न हुनसक्थे । परिवर्तनप्रति आमजनतामा विकर्षण पैदा हुनुबाट रोक्न सकिन्थ्यो । आन्दोलनमा उत्रिएका जनतामा मोहभङ्गको मानसिकताले घर गर्नु कति खतरनाक हुन्छ भन्ने नेताहरूले व्यवहारत: बुझिनसकेकाले हुनुपर्छ, उनीहरू अझै आफ्नै तालसुरमा मग्न छन् । नेताहरूले मुलुकको प्रबन्धभन्दा आफ्नो र आफ्नो पार्टीको प्रबन्धतिर ध्यान दिइरहेका छन् । अझै पनि सङ्कीर्ण सोच–व्यवहारबाट नै उनीहरू परिचालित देखिन्छन् । मुलुक र जनताका लागि संविधान चाहिएको कुरा भुलेर तिनले पार्टीहरूका लागि मात्र संविधान आवश्यक रहेको सोच दर्शाइरहेका छन् ।
यी सबै विकृति र निराशाका बीच पनि गणतन्त्र दिवस मनाउने उपक्रम चलिरहेको छ । तर, जसरी आशा र विश्वास बोकेर जनताले आन्दोलनमा साथ दिएका थिए त्यसैगरी उनीहरूको मर्मलाई बुझ्न सके मात्रै जनआन्दोलन र गणतन्त्र दिवसको सार्थकता रहला । अन्यथा गणतन्त्रमा जाने सोच नै विकृत थियो भनी जनताले अर्को फैसला गर्न के बेर ? हेक्का रहोस् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा