गालीका निम्ति योग्य : नेता मात्र कि हामी पनि ? :: देवप्रकाश त्रिपाठी

१५ जेष्ठ २०७०, बुधबार ०६:४८ मा प्रकाशित

देशको दुर्दशाको निम्ति नेताहरू जिम्मेवार रहेको ठानेर धेरै नेपाली नेतालाई गाली गर्दै मरे–मर्दै छन् । तर, नेपालमा त्यस्ता नेता पनि भए जसले जनतालाई गाली गर्दै मरे । नेपालमा जनता र शासक सबैलाई गाली मात्र नभई श्रापै दिएर इहलीला समाप्त गर्ने प्रथम व्यक्तिका रूपमा काजी भीम मल्लकी पत्नीलाई लिन सकिन्छ । उनी राजनीतिकर्मी थिइनन् र राजनीतिकर्मीहरूमा जनतालाई आलोचना गर्ने साहस र सामथ्र्य हुँदैन पनि । भीम मल्लकी सती जसले देशलाई क्षति पुग्ने कुनै काम गरेकी थिइनन् र आफ्ना पतिले देशको सेवा गरिरहेको र देशसेवक पतिलाई आफूले सेवा गर्न पाएकोमा सती सन्तुष्ट थिइन् । तिब्बतसँगको युद्धमा विजय प्राप्त गरेर देशको सान राख्न सकेबापत राजाको स्यावासी र जनताको स्तुति प्राप्त गर्ने आशा गर्दै फर्किएका भीम मल्लले दरबारको ढोकैमा काटिएर ज्यान गुमाउनुपरेपछि सतीले ‘यो मुलुकमा राम्रो गर्नेको कहिल्यै भलो नहोस्’ भन्ने श्राप दिँदै आफूलाई पति भीमसँगै चित्तामा जलाएकी थिइन् । त्यसपछि यो देशमा राम्रो गर्नेको भलो भएजस्तो महसुस गरिएको छैन । आधुनिक नेपालका निर्माता एवम् संस्थापक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपालको एकीकरण गरिदिएका कारण अहिले उपेक्षित, आलोचित र अपमानित भएका छन् । पोखरामा रहेको उनको भव्य सालिक उखेलेर कुनै लखन थापाको मूर्ति ठड्याइएको छ । कुनै पनि देशवासीका लागि देशको स्थापना गरिदिने व्यक्ति सबभन्दा महान् हुन्, देशका गौरव हुन् । चङ्गेज खाँजस्तो आततायीलाई राष्ट्रिय विभूतिको दर्जा दिएर उनको नाममा मङ्गोलियनहरू गौरव गर्छन्, किनभने चङ्गेजले मुलुकको सीमा विस्तार तथा सान राख्नमा सर्वाधिक महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
फ्रान्समा नेपोलिएन र जर्मनीमा विश्मार्कले जुन सम्मान पाएका छन् त्यस्तै सम्मान नेपालबाहेक संसारभरिका सबै राष्ट्रका संस्थापक या प्रवद्र्धकहरूले पाइरहेका छन् । सतीकै श्रापको प्रभावले होला यहाँ पृथ्वीनारायण शाह अपमानित भएका छन् भने राम्रो काम गर्न खोज्ने अन्य कतिपय महामानव उपेक्षित हुनु अस्वाभाविक होइन । पृथ्वीनारायणपछि यस मुलुकलाई सर्वाधिक योगदान गर्ने व्यक्ति जंगबहादुर राणा हुन् । इतिहासको निष्पक्ष अध्ययन–विश्लेषण गर्दा जंगबहादुरको देन अनुभूत गर्न सकिन्छ । तर, हामी नेपाली उनलाई पनि सम्मान गर्दैनौँ, बरु उपेक्षा र तिरष्कार गर्छौं– एक खलपात्रका रूपमा उनको चित्र स्मरण गर्दछौँ । आँखैअगाडि सोह्र हजारभन्दा बढी निर्दोष नेपालीको हत्याको स्रोतका कारण बनेकाहरू देशको मालिक बनिरहँदा केवल बाइस व्यक्तिको हत्यामा सामेल भएका जंगबहादुर राणालाई चाहिँ हामी दुत्कार्दै छौँ । त्यस्तै, देशको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउने मातृकाप्रसाद कोइराला, बीपी कोइराला, डा. डिल्लीरमण रेग्मी र टंकप्रसाद आचार्यले पनि उपेक्षा र अपमानकै बीच धर्तीबाट बिदा लिएका हुन् । राजा महेन्द्रका कैयन् काम दूरगामी दृष्टिले राष्ट्रिय महत्त्वका छन् । राजा महेन्द्रले अवलम्बन गर्नुभएको नीतिले प्रजातान्त्रिक आन्दोलनलाई क्षति पुर्‍याएकोमा उनको आलोचना हुनुलाई जायज मान्न सकिन्छ, तर हामी राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको सुदृढीकरणमा उनले पुर्‍याएको योगदानका निम्ति धन्यवाद दिन आवश्यक ठान्दैनौँ । महाराजा पृथ्वीनारायण शाह, राजा महेन्द्र र श्री ३ जंगबहादुर राणा जनताबाट विधिवत् निर्वाचित प्रतिनिधि थिएनन् र तिनलाई सामान्य जनताको कोटिमा राख्न पनि सकिन्न । उनीहरूले नेपाली जनतालाई गाली गरेनन्, गर्नुपर्ने कारण थिएन र तिनमा त्यस्तो सामथ्र्य पनि शायद थिएन । नेपालको इतिहासमा नेपाली जनतालाई गाली गर्ने सामथ्र्य र साहस केवल तीन नेताहरूले दर्शाएका हुन्– गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रूपचन्द्र विष्टले । जनताका नाममा आफ्नो निजी आकाङ्क्षा पूर्ति गर्न इच्छुक र अग्रसरहरूले जनतालाई गाली गर्ने हिम्मत कहिल्यै गर्दा रहेनछन् । जनताको आलोचना गर्न उच्च नैतिक साहस र इमानदारीको आवश्यकता हुन्छ, ती महामानव जसले जनताको सार्वजनिक रूपमै आलोचना गर्ने हिम्मत गरे, उनीहरूले देशको आकाङ्क्षामा आफूलाई पूर्ण रूपले समर्पण गरेका थिए, तिनलाई देशबाट लिनुपर्ने केही थिएन केवल दिनैपर्ने मात्र थियो । देवता र दानवबीचको सङ्घर्षमा को देव र को दानव हुन् भन्ने हेक्का हामी नेपाली जनताले राखेनौँ, राख्न आवश्यक ठानेनौँ या देवता र दानवबीचको भिन्नता स्पष्ट देख्दादेख्दै पनि दानवलाई साथ दिएको अनुभूति शायद ती नेतालाई भयो र जनताको आलोचना गरे । निजी स्वार्थको सीमाभित्र रहने हरकोहीमा जनतालाई सार्वजनिक रूपमा आलोचना गर्ने हिम्मत हुन सक्दैन । यस अर्थमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रूपचन्द्र विष्टलाई निजी आकाङ्क्षाको दायराभन्दा माथि उठेका देश र जनताप्रति समर्पित इमानदार नेताका रूपमा बुझ्न सकिन्छ । ०४६ को राजनीतिक परिवर्तनपछि दुई दशकसम्म सर्वाधिक शक्तिशाली भूमिकामा रहेका गिरिजाप्रसाद कोइराला र अहिले उचाइमा रहेका ‘नेता’ प्रचण्डलगायतले जनतालाई समेत आलोचना गर्ने हिम्मत कहिल्यै गरेनन्, गर्ने कुरा पनि भएन । किनभने जनताको नाममा सबभन्दा बढी लाभ हासिल गर्ने प्रमुख पात्रका कोटिमा प्रचण्ड, गिरिजाप्रसाद र विजय गच्छदारलगायत पर्न आउँछन्, जनतालाई कुनै न कुनै रूपले भुलभुलैयामा राखेर आफ्नो गन्तव्य हासिल गर्नुपर्नेहरूमा जनताको आलोचना गर्ने ल्याकत नरहनु स्वाभाविक छ । गणेशमानजी, किशुनजी र रूपचन्द्रजी तीनैजनाको विचारमा नेपालको बर्बादीका निम्ति यहाँका राजनीतिकर्मी र कर्मचारी तथा प्रशासक मात्र जिम्मेवार छैनन् हामी जनता तीभन्दा बढी दोषी छौँ । रूपचन्द्र विष्टले हामीलाई जगाउन जीवनभर अथक प्रयत्न गरिरहे, तर हामी जाग्न कहिल्यै तयार भएनौँ । कृष्णप्रसाद भट्टराईले देश र प्रजातन्त्रका विरुद्ध भइरहेका षड्यन्त्रप्रति हामीलाई सजग गराउन खोजे हामीले कृष्णप्रसाद भट्टराईकै बद्ख्वाइँ गर्‍याँै । गणेशमान सिंहले हाम्रो पशुवत् व्यवहारप्रति असन्तुष्टि प्रकट गरे, हामीले गणेशनजीलाई नै परित्याग गर्‍यौँ । नेपाल र नेपालीको भन्दा विदेशीको हितप्रति संवेदनशील कथित नेताहरूले अँध्यारा कुनाबाट हाम्रा राष्ट्रिय पहिचान मेट्न धर्मनिरपेक्षताको जाल फ्याँके, हामीले स्वागत गर्‍यौँ, विश्वमा ५१ मुलुक इस्लामिक र ७२ मुलुक इसाई पहिचानमा सगौरव बाँचिरहेको यथार्थ बिर्सेर हामीले एक मात्र हिन्दू राष्ट्रको पहिचान मेट्ने अग्रसरता लियौँ । नेपाललाई धराशायी बनाउने जातीय भडकाव मात्र कामयावी हुनसक्ने ठानेर हाम्रा ‘नेता’मार्फत हामीलाई जातीय द्वन्द्वमा अलमल्याउने–फसाउने षड्यन्त्र रचियो– हामी जातीय द्वन्द्वका निम्ति पनि तयार भइदियौँ । नयाँ संविधानको झाँसा दिएर देशलाई अराजकताको भुमरीमा पिल्स्याउने नियोजित जालसाजी भयो, हामीले त्यस्तो कपटपूर्ण चालबाजीको पनि स्वागत–सत्कार गर्‍यौँ । त्यसपछि हामी भन्दै छौँ, ‘हामी जनता ठीक नेता मात्र बेठीक ।’ साधारण जनता र पार्टीका सामान्य कार्यकर्ता एवम् समर्थकलाई कुनै पनि नेता कति भ्रष्ट र को कति इमानदार छन् भन्ने हेक्का नभएको होइन । तर, बेइमानलाई बिदावारी गरेर इमानदारलाई ठाउँ दिनुपर्ने आवाज हामी कोही पनि उठाउँदैनौँ । काङ्ग्रेसका शेरबहादुर देउवाको विगतको हैसियत काङ्ग्रेस कार्यकर्ता र जनताको ठूलो हिस्साबाट छिपेको छैन र उनको वर्तमान हैसियतको राज पनि जनताले बुझेका छन् । तर, देउवालाई छोडेर शंकर पाण्डेलाई नेता मान्न काङ्ग्रेसका कुनै कार्यकर्ता तयार छैनन् । एमालेका वामदेव गौतमको छवि स्वच्छ मानिन्न, वामदेवलाई भ्रष्ट ठान्नेहरू कोही पनि मुकुन्द न्यौपानेतिर सरिरहेका छैनन् । मुकुन्द एमालेको स्वच्छ छविका इमानदार नेता मानिन्छन्, तर पार्टीले उनलाई कुनै महत्त्वपूर्ण ओहोदा दिएको छैन र एमाले कार्यकर्ताले पनि वामदेवको हैसियतमा मुकुन्दलाई पुर्‍याउने अग्रसरता लिएका छैनन्, बरु उनीहरू वामदेवकै वरिपरि झुम्मिन्छन् । काङ्ग्रेसका पूर्णबहादुर खड्कालाई पनि स्वच्छ, इमानदार मानिन्छ, तर खड्कालाई माथिल्लो तहको जिम्मेवारी सुम्पन्न न काङ्ग्रेसको नेतृत्व तयार छ न कार्यकर्तामा नै उनको ओहोदाको उचाइ बढाउने तत्परता देखिन्छ । एमाओवादीमा प्रचण्डको छवि सात वर्षमै नराम्रोसँग धमिलिएको छ । तर, उनलाई विस्थापित गरेर नरबहादुर कर्माचार्यलाई जिम्मेवारी सुम्पन्न एमाओवादीका कुनै कार्यकर्ता तयार छैनन् । नेताहरूमध्ये केही अधिक दुर्गन्धित भएका छन्, हामी जनता फेरि पनि तिनको विकल्प खोज्न चाहँदैनौँ, दुर्गन्धित नेताहरूबाट नै देशमा सुगन्ध फैलाउने काम हुने आशा र भरोसा हामी राख्दैछौँ । दुर्गन्धित नेतालाई काँध हाल्ने र तिनलाई काँध दिएर गौरव महसुस गर्ने हामी जनताचाहिँ आफूहरू स्वच्छ भएको आत्मरति लिँदै छौँ । वास्तवमा मुलुकमा भ्रष्टहरूको राज कायम रहनुमा हामी जनता पनि उत्तिकै जिम्मेवार छौँ । हाम्रो यस्तो प्रवृत्तिमाथि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रूपचनद्र विष्टले मात्र असहमति जनाउने साहस गरे । उहाँहरूले देश र जनताका निम्ति केही गर्न खोज्दाखोज्दै पनि हामी जनता जसरी ती नेताहरूबाट टाढियौँ, त्यसले हाम्रो योग्यता र नियतमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले यहाँ मिर्जा गालिवको एउटा सायरी स्मरण हुन्छ– ‘धुल थी चेहरे पे मै आइने साफ करता रहा ।’ हामी अनुहारमा लागेको फोहोर ऐना सफा गरेर मेटाउन खोज्दै छौँ, अनुहारको धुलो हटाऊँ हाम्रो अनुहार सफा देखाउन ऐना बाध्य हुनेछ । देश र जनताप्रति पूर्ण समर्पित एवम् इमानदार नेता जुनसुकै काँटी र कोटिका भए पनि साथ तिनैलाई हुनुपर्नेमा अन्यथा भइरहेको छ । त्यसैले पहिले हामी आफूलाई सच्याऊँ, हाम्रो सोच र दृष्टि सुधार गरौँ देशको सुधार हुनेमा शङ्का गरिरहनुपर्ने छैन । गणेशमान, कृष्णप्रसाद र रूपचन्द्रहरूले हाम्रो आलोचना गर्दै धर्तीबाट बिदा लिनुको अर्थ उत्खनन् गरौँ, देशले सही दिशा र गन्तव्य अवश्य लिनेछ ।

[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

हरिविनाेद अधिकारी नेपाली कांग्रेसको महाधिवेशनले अझै पूर्णता पाएको छैन किनभने सभापतिद्वारा मनोनयन गर्ने ३३ वटा सदस्यहरुमध्ये १३जनामात्र मनोनयन गरिएको छ

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पुष्पा भुसाल पदाधिकारी आकांक्षी हुन् । पार्टीको संसदीय दलका सचेतक एवं केन्द्रीय सदस्य रहेकी भुसाल समग्र महिलाको

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४-२७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम