‘थ्रेस होल्ड’को त कुरै उठेको थिएन :: अग्नि सापकोटा (प्रवक्ता, एमाओवादी)

१४ जेष्ठ २०७०, मंगलवार ०८:४८ मा प्रकाशित

० अहिलेको अवस्थामा एमाओवादी संविधानसभाको निर्वाचन नै चाहँदैन भनी मानिसहरुले भन्न थाले नि, किन होला ?
– कसले त्यसो भन्न सक्छ ? अहिलेको राजनीतिक प्रक्रिया या परिपाटी र एमाओवादी पार्टीले लिएको पहलकदमी जस्ता तथ्यप्रति पूरै अनभिज्ञ व्यक्तिले मात्रै यस्तो आक्षेप लगाउन सक्छ । कि चाहिँ त्यस्तो व्यक्ति घोर पूर्वाग्रहबाट ग्रसित हुनुपर्छ । नत्र यसरी यथार्थविपरितको कुरा किन गर्छ कसैले ? हामीले पाईखाई आउको सरकार छोडेको नै चुनावमा जानका लागि हो, अनि हामी नै चुनाव नचाहने कसरी हुन सक्छौँ ? मनोगत कुरा गरेर त भएन नि ! सरकार छोडेर केन्द्रीय समितिको बैठक बसी चुनावका लागि कार्यक्रम र योजनाहरू बनायौँ, विभिन्न समितिहरू गठन गरेका छौँ र अहोरात्र चुनावी माहोल निमाृणकै लागि अहोरात्र लागिरेहका छौँ हामी भने एमाओवादी चुनाव चाहँदैन भन्नु त दिनलाई रात पार्नु मात्रै होइन र ?
० चुनावभन्दा सरकारको नेतृत्व पुनः हत्याउन चाहन्छ एमाओवादी नेतृत्व भन्ने आरोपको मूहानचाहिँ के होला त ?
– यस्तो अराजनीतिक र मनोगत आरोपको मुहान खोज्ने कुरामा समय खर्च गर्नु नै बेकार हो । जनताको नयाँ जनादेृशले बाहेक अहिले मुलुकको समस्याको निकास अरु कुराले दिन सक्दैन भन्नेमा हाम्रो पार्टी दृढ छ । यति कुरा सबैले बुझ्नु उचित हुन्छ । हामी छिटोभन्दा छिटो चुनावमा जान चाहन्छौँ, यसका लागि सरकारले वातावरण बनाओस्, मिति तोकोस् भन्ने हाम्रो चाहना र माग पनि छ ।
० चुनावको मिति र वातावरणका लागि त दलहरूबीच सहमति हुनुप¥यो नि होइन र ?
– हो, त्यसैले त हामी भनिरहेका छौँ कि अत्यन्त जरुरी परेको कुरामा मात्र वाधाहरू फुकाऔँ, अनेक विवादतिर नपसौँ । तर, यहाँ ‘थ्रेस होल्ड’ र के–के जस्ता अनावश्यक कुरा घुसाएर वातावरण विथोल्न खोजिँदैछ ।
० ‘थ्रेस होल्ड’ त आवश्यक कुरा हो नि होइन र ?
– कुनै पनि राम्रो कुरा हो भने त्यो सबैलाई चाहिन्छ । तर, यतिबेलाको आवश्यकता त जसरी हुन्छ संविधानसभाको निर्वाचन गराउने पो हो । सकेसम्म विवाद नहुने गरी नियम–कानूनहरू ल्याउनुपर्छ नि यस्तो परिवेशमा त । तर, यहाँ त विवाद साम्य गर्ने भन्दा कसरी नयाँ–नयाँ विवाद झिकेर अल्झाउने भन्नेमा पो प्रतिष्पर्धा गर्न खोजेको देखिँदैछ । हामी गाँठो फुकाउन खोज्ने अरुहरू गाँठो कस्न खोज्ने भएपछि गल्ती कसको ?
० यो विषयमा तपाईंहरूले पनि पहिले सहमति जनाएकै हो, अहिले यसरी दुईधारे कुरा गर्न मिल्छ र ?
– सहमति भएका कुराबाट हामी दाया–बायाँ चलेका छैनौँ । ‘थ्रेस होल्ड’को बारेमा सहमतिको कुरा त कुरै छोडौँ दलहरूबीच चर्चासम्म पनि चलेको छैन । चर्चा नै नउठेको मुद्दामा सहमति भएको भनेर काङ्ग्रेस–एमालेहरूले दिउँसो रात पार्न खोजेका छन् । उनीहरूको चालबाजी अत्यन्त खतर्नाक र मनस्थिति अत्यन्त कमजोर देखियो । उचित, वस्तुनिष्ठ, व्यवहारिक र वैज्ञानिक कुरा पो गर्ने हो त, अव्यवहारिक कुरा झिकेर वातावरण विथोल्न खोज्नु राजनीतिक धर्म हो र ? यो सबै हेर्दा त काङ्गैस–एमाले कात्तिक–मङ्सिरमा पनि चुनाव चाहँदैन भन्ने गम्भीर आशङ्का हामीभित्र पैदा भएको छ ।
० काङ्ग्रेस–एमालेले स्पष्ट शब्दमा भनिसक्यो कि एक प्रतिशतको ‘थ्रेस होल्ड’ पनि चाहिन्छ र ६०१ नभई ४ सय ९१ मात्र सदस्य सङ्ख्या हुनुपर्छ ! अब कुरा कसरी मिल्छ त ?
– देशलाई झन् अराजकतातिर लैजाने भए त जे–जेमा अडान लिइरहे पनि भयो, होइन भने मिल्ने कुरा गर्नुप¥यो । अनावश्यक अडान छोड्नु प¥यो । सडकमा उत्रिएका पार्टीहरूलाई ‘यो पनि दिन्नौँ, त्यो पनि मान्दैनौँ’ भन्दै झन् भड्काएर उग्र तुल्याउने कि टेबुलमा तानेर ल्याई छलफलबाट निचोड खोज्ने ? हामीले ६०१ नै हुनुपर्छ भनेर कहाँ भनेका छौँ र ? सबैको सुनुवाई गरौँ पो भनेको त । चुनाव सम्पन्न गर्नका लागि रेग्मी सरकारको राजीनामा र २५ बुँदे बाहेकका कुरामा हामी लचकदार बन्छौँ भनिरहेका छौ नि हामीले । चुनावको मिति घोषणा गरेर अघि बढे कुराहरू मिल्दै जान्छन् भन्ने हामीलाई लाग्छ ।
० खिलराज रेग्मीले पछिल्लो पटक आफू चुनाव गराउन आतुर रहेको कुरा गर्नुभएको छ, उहाँको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ तपाईं ?
– पछिल्लो चरणमा सरकारले तदारुकता देखाएको छ भन्ने हामीलाई पनि लागेको छ । हाम्रा अध्यक्षसँग पनि मन्त्रिपरिषदका अध्यक्षले आफू गम्भीरताका साथ निर्वाचन गराउन लागिपरेको बताउनुभएको छ । तर, प्रमुख भनिएका दलका नेताहरूले नै उहाँसँग भेटेर अहिले निर्वाचनको मिति घोषणा गर्न हतार गर्नु पर्दैन भन्न थालेकाले उहाँलाई अप्ठ्यारो परेको होला भन्ने हाम्रो ठम्याई छ । काङ्ग्रेस र एमालेका नेताहरु मिलेरै त्यसो भनिरहेका छन् ।
० तपाईंहरू मधेसी मोर्चासँग मिल्न हुने अनि काङ्ग्रेस–एमाले मिलेकोचाहिँ तपाईंहरू देख्नै नसक्ने किन नि ?
– उनीहरू मिल्नु हुँदैन भनेको होइन र पार्टी नै एक भए पनि हामीलाई कुनै डाह–छटपटी हुँदैन । तर, दोहोरो कुरा गरेर मुलुकलाई अल्मल्याउनु ठिक होइन भन्ने हाम्रो कुरा हो । प्रमुख दलहरूले अनावश्यक कुरामा पोजिसन लिएर व्यवधान खडा गर्न भएन भन्न भन्ने हाम्रो भनाई हो । टेबुलमा बसौँ, छलफल गरौँ, आधारभूत कुराबाहेक अन्य विषय त छलफलबाट फेरवदल गर्न सकिन्छ भन्ने हो । सबै पार्टीलाई चुनावमा ल्याउनुपर्छ पनि भन्ने, अनि उनीहरुका जम्मै कुरा निषेध गर्न खोजेपछि कुरा कसरी मिल्ला त ?
० तर, वैद्य नेतृत्वको नेकपा–माओवादीलाई चुनावमा नल्याउन त तपाईंहरू नै भित्री खेल खेलिरहनुभएको गम्भीर आरोप लगाएका छन् नि काङ्ग्रेस–एमालेका नेताहरूले त ?
– यो गम्भीर होइन हास्यास्पद आरोप हो । हामी त किरणजीको अलग पार्टी दर्ता कार्यमा सहजता पुगोस् भनी दशहजार नागरिकता नंबरको प्रावधान नै अनावश्यक छ भनिरहेका छौँ । दश हजार व्यक्ति जुटाउन उहाँहरूलाई कुनै अप्ठ्यारो पनि नपर्ला, तर उहाँहरूप्रति सदासयता राखेर हामी उक्त प्रावधान अनावश्यक रहेको कुरा गरिरहेका छौँ भने उहाँहरूलाई चुनावमा नल्याउन हामी कसरी खेल खेल्न सक्छौँ ?
० वैद्यजीहरूले यो सरकार विघटन हुनुपर्ने कुरा गरेका छन्, यसमा तपाईंहरू सहमत हुन सक्नुहुन्छ त ?
– सरकार नै विघटन भएपछि त यो प्रक्रिया नै छिन्नभिन्न हुन्छ नि । यो कुरा त व्यवहारिक हुन सक्दैन । उहाँहरूको यो कुरा त बालहठ जस्तो भयो ।
० साँच्चै उहाँहरूलाई समेटेर चुनाव गराउने हो भने त यो सरकार खारेज गर्न तपाईंहरू पनि तयार हुनै प¥यो नि, होइन र ?
– यो सरकार खारेज गरेपछि त चुनाव हुने होइन अनेक–अनेक वेथिति पैदा भई सधैँका लागि चुनाव टर्छ भन्ने हाम्रो बुझाइ छ । यस्ता सर्त राखेर मुलुकलाई अराजकतामा धकेल्ने र झन् सङ्कट निम्त्याउने काम गर्नु हुँदैन । यो व्यवहारिक कुरा होइन । सरकार परिवर्तनबाहेकका कुरा सम्बोधन गर्न हामी तयार छौँ ।
० काङ्ग्रेस सभापतिले रेग्मीजीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने कुरा उठाउनुभएको छ, तपाईं कसरी लिनुहुन्छ उहाँको यो अभिव्यक्तिलाई ?
– यस्तो अव्यवहारिक कुरा उहाँजस्तो नेताले गर्न सुहाउँदैन । उहाँ कसैको बहकावमा पो पर्नुभयो कि भन्ने आशङ्का उठेको छ । कसैको प्रश्नको उत्तर दिन नसकेर प्रश्न गर्नेकै लहैलहैमा लाग्नुभएको जस्तो छ कोइरालाजी त । नेतृत्वले त कसैको एउटा कुरा सुन्नेवित्तिकै लहैलहैमा दौडने नभई सोचेर निर्णय लिने र लिएको निर्णयमा दृढताका साथ उभिने स्वभाव दर्शाउनु पर्छ भन्ने सुझाव उहाँलाई दिन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्