बालक गणतन्त्रलाई बयस्क बनाउने चिन्ता

१२ जेष्ठ २०७०, आईतवार ११:०६ मा प्रकाशित

विष्णु सुब्बा, झापा, १२ जेठ । नेपालको राजनीतिक इतिहासमा गणतन्त्र घोषणा भएको दिन जेठ १५ लाई हर्षोल्लासमय वातावरणमा राष्ट्रिय पर्वका रुपमा मनाउन देशमा तयारी चलिरहेको छ । २०६५ जेठ १५ गतेका दिन संविधानसभाको पहिलो बैठकबाट नेपाललाई एक गणतन्त्रात्मक मुलुकका रुपमा घोषित गरिएको उपलक्ष्यमा सो दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन थालिएको हो । 
सात वर्षअघि विश्वका गणतान्त्रिक मुलुकहरुको सूचीमा नेपाल पनि समावेश भइसकेको छ । गणतन्त्र घोषणा भयो तर, संस्थागत हुननसकेको अवस्थामा यसलाई संस्थागत गराउन यतिखेर नेपाली जनता दोस्रो संविधानसभा निर्वाचनको व्यग्र प्रतीक्षामा छन् ।
गणतन्त्र दिवसका सन्दर्भमा कुरा गर्दा २०६२/०६३ को जनआन्दोलनमा चन्द्रगढीमा सहादत प्राप्त गरेका सहिद सरोज विश्वासका पिता शान्ति विश्वास सहिदले देखेको सपनालाई साकार पार्न राजनीतिक पार्टीहरुबीच आपसी समझदारी आवश्यक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘सहिदको बलिदानलाई सार्थक बनाउनका लागि आगामी संविधानसभाको निर्वाचन सम्पन्न गराई सङ्घीयतासहितको संविधान निर्माण भएपछि मात्र गणतन्त्र दिवसको महत्व जनताले बुझ्ने छन् ।’’ राजनीतिक पार्टीहरुले सहिदको बलिदानलाई स्मरण गरेर काम गरेमा मात्र गणतन्त्र पनि संस्थागत हुने र सङ्घीयतासहितको संविधान पनि निर्माण हुने उहाँको विश्वास छ ।
यस्तै मेची बहुमुखी क्याम्पस भद्रपुरका सहप्राध्यापक चिन्तामणि दाहाल मुलुकमा आएको गणतन्त्रलाई संस्थागत गर्न संविधान आवश्यक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘चार वर्षमा संविधान बन्न नसकेको र यतिखेर दोस्रो संविधानसभाको निर्वाचनको वातावरण बनाउनका लागि जनताद्वारा राजनीतिक पार्टीहरुलाई दबाब दिनुपर्ने नत्र पुनरुत्थानवादीहरुका कारण प्राप्त उपलब्धि पनि गुम्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।” चन्द्रगढीका एक सर्वसाधारण मेघराज राजवंशी भोजनका लागि सबै सामान घरमा भए पनि खाना पकाउन कोही तयार नहुँदा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएजस्तै यतिखेर मुलुकको अवस्था रहेको विश्लेषण गर्नुहुन्छ ।
मुलुकमा सङ्घीयतासहितको संविधानका लागि संविधानसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ । झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमिया मुलुकमा संविधान नबनेसम्म अराजकता नियन्त्रणमा आउन नसक्ने भएकाले गणतन्त्रलाई संस्थागत गर्न र मुलुकको विकासका लागि संविधान निर्माण अति आवश्यक रहेको धारणा व्यक्त गर्नुहुन्छ । भद्रपुरका रिक्साचालक राजु मण्डल भन्नुहुन्छ, “गणतन्त्र दिवसको सार्थकता तव बुझिन्छ जब हामीजस्ता गरिब, असहाय र समाजमा पिछडिएका दलितलगायतका वर्गको उत्थानका लागि संविधानमा शिक्षा र रोजगारीको पक्का व्यवस्था हुन्छ ।” अधिवक्ता दीपेन्द्र भट्टराई अहिलेसम्म गणतन्त्र कागजमै मात्र सीमित भएकाले यसको अनुभूति जनताले पाउन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सैद्धान्तिक र व्यावहारिकरुपमा गणतन्त्रलाई उभ्याउन निकै गाह्रो भइरहेको छ र अबको अवस्थामा गणतन्त्रलाई शाब्दिक अर्थमा स्थापित गर्नका लागि राजनीतिक गतिरोध समाप्त पारी संविधानसभाको निर्वाचन सम्पन्न गरी संविधानको निर्माण गर्नु अपरिहार्य छ ।” पत्रकार गोपाल गिरी मुलुकमा गणतन्त्र स्थापनाका लागि राजनीतिक पार्टीहरुबीच देखिएको एक्यबद्धता गणतन्त्रको संस्थागत गर्ने समयमा पार्टीहरुबीचको विवादका कारण मुलुक अन्योलग्रस्त अवस्थामा पुगेको बताउनुहुन्छ । भद्रपुरका फलफूल व्यवसायी मनोज यादव गणतन्त्र दिवसको बारेमा आफूलाई त्यति जानकारी नभए पनि अब निर्माण हुने संविधानमा बन्द हडताललाई सधैँका लागि निषेध गरिने व्यवस्था भएमात्र उद्योग व्यापार फस्टाउने धारणा राख्नुहुन्छ ।
एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै संविधानसभाको सदस्यमा एकल महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, संविधानमा एकल महिलाका सन्तानका लागि राहतकोटा आरक्षित हुनुपर्ने र एकल महिलाको उत्थानका लागि पनि राहतको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।
विगतका कमीकमजोरीबाट पाठ सिकेर सबै राजनीतिक पार्टी, बुद्धिजीवी, मजदुर, किसान, महिला, दलित, विद्यार्थी, सहिद परिवारलगायत सबै वर्ग र समुदायलाई दत्तचित भएर सुझबुझका साथ बालक अवस्थामा रहेको गणतन्त्रलाई बयस्क बनाउन लाग्नुपर्ने आम नेपालीको धारणा रहेको यहाँ पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च