कांग्रेसमा विभाग गठनको असन्तुष्टिले उग्र रुप लिने सम्भावना

११ जेष्ठ २०७०, शनिबार ०९:२१ मा प्रकाशित

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसमा गत साता भएको विभिन्न विभाग गठन र त्यसमा मनोनयन गरिएका नौ सय सदस्यहरुका विषयमा उत्पन्न असन्तुष्टि र विवादले उग्र रुप लिने सम्भावना बढेको छ । सभापतिले सहमति र सल्लाहमा निर्णय गर्ने भने पनि आफूहरुलाई बाइपास गरेर एकलौटी निर्णय लिएको भन्दै देउवा खेमाले चर्को विरोध र प्रतिवादको तयारी गरिरहेको बुझिएको छ । यस प्रकरणलाई जग बनाएर सभापति सुशील कोइरालालाई कमजोर र असफल तुल्याउन चाहनेहरूले एकपटक फेरि ठूलै मौका पाएका छन् । काङ्ग्रेसका विभिन्न विभाग गठन गर्ने क्रममा कोइरालाले गर्नुभएको हेलचेक्र्याइँका कारण काङ्ग्रेसभित्रका असन्तुष्टहरूले कोइरालाविरुद्ध औंला उठाउने मौकाका रुपमा ‘उपयोग’ गर्न खोज्नुलाई अस्वाभाविक रुपमा हेरिएको पनि छैन । 
विभिन्न ४२ वटा विभागको गठन गर्दा योग्य, सक्षम, अनुभवी र राम्रा मानिसलाई भन्दा बढी कनिष्ठ एवम् पार्टीमा कुनै योगदान नभएकाहरूलाई समेटेपछि कोइरालासमर्थकहरू नै सबैभन्दा बढी क्रूद्ध र रुष्ट भएका हुन् । विभाग गठनका क्रममा उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, प्रभावशाली नेताहरू रामशरण महत, अर्जुननरसिंह केसीलगायतका अन्य नेता र सम्बन्धित विभागका प्रमुखहरूलाई समेत सहभागी नगराएको बुझिएको छ ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा जसले कोइरालाकै कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आउनुभएको थियो, उहाँहरूबीचको असन्तुष्टिकै कारण नौ महिनादेखि पार्टीका सबै काम तथा निर्णयहरू प्रभावित हुँदै आएका थिए । संविधानसभाको आगामी निर्वाचनलाई लक्षित गर्दै विवादित विषय टुङ्गो लागेपछि विभागलाई पूर्णता दिइएको थियो । तर, हचुवाको भरमा विभाग गठन भएपछि पार्टीमा एकाएक देउवाको पक्षमा माहौल बन्न पुगेको देखिन्छ भने कोइराला पक्षका नेताहरूले समेत देउवालाई साथ दिने सोच बनाउन थालेका छन् । सूत्रका अनुसार कोइराला पक्षका नेताहरूलाई समेत समेटी अब महासमितिको विशेष बैठक बोलाउन लगाई सभापतिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीसमेत सुरु भएको छ ।
महासमितिका चालीस प्रतिशत सदस्यले लिखित रूपमा बैठकको माग गरे बैठक अनिवार्य रूपमा बोलाइनुपर्ने वैधानिक प्रावधान रहेको छ । असन्तुष्ट नेताहरूले महासमिति बैठक बोलाए सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा परामर्श सुरु गरेका छन् । कोइरालाले तत्काल विभाग गठनमा भएको त्रुटि सच्याउने तत्परता नलिएमा आगामी साताभित्रै कोइरालाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन महासमिति सदस्यहरूले हस्ताक्षर अभियान सुरु गर्ने तयारी भइरहेको बुझिएको छ ।
चुनावी माहौल काङ्ग्रेसको पक्षमा बनिरहेको अवस्थामा विभाग गठनको घटनाले पार्टीमा गम्भीर मतभेद पैदा गरेको छ । उत्पन्न विवाद तत्कालै समाधान नगरिए आगामी निर्वाचनमा समेत काङ्ग्रेसलाई गम्भीर क्षति पुग्ने देखिएको छ ।
यसैबीच प्राप्त जानकारीअनुसार सभापति कोइरालाले विभाग गठनमा त्रुटि भएको स्वीकार्दै त्यसलाई सच्याउन राजी हुनुभएको छ । उहाँ विभाग गठनका क्रममा हावी हुनुभएका ‘सहयोगी’हरूसँग क्रूद्ध बन्नुभएको बताइन्छ । अब कोइरालाले फेरि छलफल गरी गत आइतबार मनोमानी किसिमबाट बनाइएको काङ्ग्रेसका विभागहरू बदर गरी नयाँ ढङ्गले विभाग गठन गर्ने प्रक्रिया तत्काल सुरु हुने विश्वास गरिएको छ ।
कोइराला र देउवा दुवै खेमाका नेताहरूले आफूहरूसँग कुनै थप छलफल र सल्लाह नगरी विभागका प्रमुख तथा सदस्यहरू मनोनीत गरेको भन्दै आपत्तिसमेत जनाइसकेका छन् । देउवापक्षीय नेता विमलेन्द्र निधिले भन्नुभयो, ‘छलफल नै नगरी विभागप्रमुख तथा सदस्यहरू नियुक्त गरिएको छ, यो मान्य हुँदैन ।’ ‘हामीले सभापतिलाई बुझाएको नामावलीअनुसार पनि मनोनीत गरिएको छैन,’ उहाँले थप्नुभयो, ‘सुरुमा शेरबहादुरले नेताहरूको लिष्ट बुझाएनन् भन्ने तर, बुझाएपछि कुनै सल्लाह नै नगरी एकतर्फी रूपले मनोनीत गर्ने यो तरिका ठीक भएन र स्वीकार गर्ने कुरा पनि हुँदैन ।’ विभागप्रमुखसँग समेत छलफल नगरी विभागको प्रमुख बनाउने काम भएको छ, उहाँको भनाइ थियो, ‘विभागप्रमुखसँग छलफल र सरसल्लाह नगरी विभागमा सदस्य मनोनीत गरिएको र नेताहरूको क्षमताअनुसारको विभागमा नियुक्ति भएको छैन ।’
गैरसरकारी संस्था एवम् सामाजिक सेवा विभाग प्रमुखको जिम्मेवारी पाउनुभएका डा. नारायण खड्काले विभागमा राख्नेबारे आफूसँग सल्लाह नै नगरेको भन्दै विरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘विभागबारे मलाई जानकारी छैन, यस विषयमा म के प्रतिक्रिया दिऊँ ।’ विभाग गठन प्रक्रिया अव्यावहारिक भएको र मान्य हुने खालको पनि नरहेकाले यस विषयमा पार्टीमा कुरा राख्ने खड्काले जानकारी दिनुभयो ।
काङ्ग्रेस नेता गगन थापाले पनि विभाग गठनबारे कुनै जानकारी नभएको बताउनुभयो । ‘मलाई सङ्घीय मामिला विभागमा प्रमुख बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘यसबारे मलाई केही सोधिएको छैन, मेरो संयोजकत्वमा रहेको समितिका सदस्यहरू पनि हचुवाको भरमा राखिएको देखिन्छ, यसले कसरी काम गर्न सक्छ ?’ ‘विभाग गठन गर्नु आफँैमा राम्रो भए पनि काम गर्ने प्रक्रिया नै निकै त्रुटिपूर्ण रहेकाले यस विषयमा पार्टीमा गम्भीर छलफल हुन्छ,’ थापाले घटना र विचारसँग भन्नुभयो ।
संसदीय विभागका प्रमुखको जिम्मेवारी पाउनुभएका पूर्णबहादुर खड्काले विभाग गठन प्रक्रिया र यसमा राखिएका व्यक्तिलाई लिएर विरोध गर्नुभएको छ । उहाँले विभाग गठन गर्दा सामान्य मूल्यमान्यता बिर्सिएको र आफूअनुकूलका मानिसलाई भर्ती गर्ने काम मात्र भएको बताउनुभयो ।
शिक्षा विभागका प्रमुख चन्द्र भण्डारीले पार्टी विभागमा राख्दा एकपटक पनि नसोधी कसरी राखियो ठूलो आश्चर्यको विषय रहेको बताउनुभयो । विभाग गठन हुँदा पार्टीमा कुशलता प्रदान गरेका, महत्त्वपूर्ण योगदान पुर्‍याएका, विज्ञ तथा जिम्मेवार व्यक्तिलाई राख्नुपर्नेमा हचुवा र आफूअनुकूलका मानिसलाई राखिएको छ, यसले पार्टीलाई अघि होइन निकै पछि धकेल्नेछ,’ भण्डारीले थप्नुभयो, ‘यस विषयमा विभागमा रहेका साथी तथा पार्टीले गम्भीर भएर छलफल गरी पुनर्विचार गर्नुपर्ने हुन्छ ।’ उहाँले यस विषयमा पार्टीमा गम्भीर छलफल हुने पनि बताउनुभयो ।
पर्यटन विभाग प्रमुख बनाइएका किशोरसिंह राठौरले पनि आफूसँग कुनै छलफल नै नगरी विभागमा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबारे मलाई पछि मात्र जानकारी भयो, अब के गर्ने भन्ने विषयमा सरसल्लाह हुँदै छ ।’ यस्तै खेलकुद विभागका प्रमुख धनराज गुरुङले पनि आफूलाई विभागमा राखिएकोबारे जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबारे मलाई केही जानकारी छैन, पछि मात्र जानकारी पाएको हुँ, विभागमा रहेका सदस्यहरूलाई त जानकारी हुने कुरै भएन ।’
नेता डा. प्रकाशशरण महतले पार्टीले विभाग गठन गरेको र त्यसअन्तर्गत आफूलाई प्राकृतिक स्रोतसाधन समितिको संयोजक बनाएकोबारे कुनै जानकारी नभएको बताउनुभयो । पक्षपातपूर्ण तरिकाबाट विभागको जिम्मेवारी दिने काम भएको छ, यसले पार्टीलाई नै घाटा पुर्‍याउँछ, महतले भन्नुभयो, ‘यस विषयमा साथीहरूसँग गम्भीर छलफल गरी कसरी अघि बढ्ने भन्ने निर्णय गर्छौं ।’
यसैबीच काङ्ग्रेस प्रवक्तासमेत रहनुभएका दिलेन्द्रप्रसाद बडूले विभाग गठनमा देखिएको समस्या खासै ठूलो नभएको र सबै पक्षसँगको सल्लाहमा विभागलाई पूर्णता दिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘विभागमा रहेका सबै सदस्यसँग सम्पर्क गर्न नसकिएको हुनसक्छ, तर संयोजकलाई जानकारी दिइएको छ ।’
यसअघि गठन गरिएको ४२ विभागका प्रमुखमा कोइराला पक्षका ३० र देउवा पक्षका १२ नेता रहेका छन् । सभापति कोइरालाले पार्टी विधानको धारा २४(८) र नियमावली २०६८ को परिच्छेद– ३ दफा १३ (२) अनुसार विभाग गठन गर्नुभएको छ । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गरिसक्नुपर्ने भए पनि एक सहमहामन्त्रीका साथै केन्द्रीय समिति, संसदीय समिति भने अझै गठन हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं स् गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीको साथमा नयाँ

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै