कांग्रेस सभापति कोइराला आफ्नै ‘सहयोगी’हरूका कारण सङ्कटमा !

९ जेष्ठ २०७०, बिहीबार ०८:४९ मा प्रकाशित

काठमाडौं, ९ जेठ । देशका सर्वाधिक स्वच्छ छविका नेता मानिनुहुने काङ्ग्रेस सभापति सुशील कोइरालालाई कमजोर र असफल तुल्याउन पार्टीभित्र र बाहिरका व्यक्तिहरू सक्रिय भइरहेका बेला उहाँकै सहयोगीजस्तो बनेर वरिपरि बसेकाहरूसमेत कोइरालालाई सिध्याउन सक्रिय रहेको महसुस गर्न थालिएको छ । खासगरी काङ्ग्रेसको विभाग गठनमा कोइरालाका कथित सहयोगीहरूको भूमिकाले उनीहरूको नियतमाथि गम्भीर प्रश्न उठाएको छ । यसअघि तीसवटा मात्र विभाग रहेको काङ्ग्रेसमा सङ्ख्या बढाएर बयालिस पुर्‍याएको र केही नेताले आफ्ना मानिसलाई जथाभावी विभागमा राख्ने काम गरेकाले तिनको नियतमाथि प्रश्न उठेको हो । कुनै पनि नेताका सहयोगीहरू आफ्ना नेता विवादमा नपरून् र सफल बनून् भन्ने चाहना राख्छन् । तर, कथित सहयोगीहरूले कोइरालाको भद्रपनको फाइदा उठाउँदै आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको महसुस आमकाङ्ग्रेस कार्यकर्ताले गरेका छन् । त्यसैले यतिबेला सभापति कोइराला आफ्नै ‘सहयोगी’हरूका कारण सङ्कटमा पर्नुभएको छ ।
बयालीसवटा विभागमध्ये डा. शशाङ्क कोइराला संयोजक रहनुभएको स्वास्थ्य विभाग, डा. शेखर कोइराला संयोजक रहनुभएको बुद्धिजीवी विभाग र आनन्दप्रसाद ढुङ्गाना संयोजक रहनुभएको सङ्गठन विभागबाहेक अन्य उनाञ्चालीस विभागमा भएको मनोनयन समग्रमा हास्यास्पद मानिएको छ । सबै विभागमा गरी करिब हजारजनाको चयन भएको भए पनि कतिपय जिल्लाबाट विभागमा एकजनाको पनि प्रतिनिधित्व गराइएको छैन भने दश निर्वाचन क्षेत्र रहेको मोरङबाट दशजना र दुई निर्वाचन क्षेत्र भएको लमजुङबाट बाइसजनालाई विभिन्न विभागमा समेटिएको छ । त्यस्तै, तीन निर्वाचन क्षेत्र रहेको तनहुँबाट सोह्रजनालाई विभागमा राखिएको छ । पहिले केन्द्रीय सदस्य रहिसकेका नेताहरू तरिणीदत्त चटौत र जीपछिरिङ लामालाई अपमानजनक किसिमबाट विभागमा राखिएको छ । पूर्वसभासद् एवम् विख्यात अर्थविद् डा. तिलक रावललाई उहाँको अनुमतिबेगर कनिष्टहरूको झुन्डसँगै एउटा विभागको सदस्य बनाइएको छ ।
विभाग गठनको यस घटनाबाट विभागमा पर्न योग्य भएर पनि नपरेकाहरू त क्रूद्ध भएकै छन् विभागमा समेटिएकाहरूले समेत अपमानित महसुस गरेका छन् । यसरी निर्वाचनको मुखमा काङ्ग्रेसलाई विवादको भुमरीमा पार्ने र सभापति कोइरालालाई सङ्कटग्रस्त अवस्थामा पुर्‍याउने को–को हुन् त्यसको व्यापक खोजी कार्यकर्ताबाट हुन थालेको छ । यसक्रममा विवादास्पद निर्णय गरेर सभापति र पार्टीलाई अप्ठ्यारोमा पार्नेहरूको केही नाम कार्यकर्ताहरूले पत्ता लगाएका छन् । पार्टी प्रवक्तासमेत रहनुभएका दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, नेता गोपाल पहाडी र सङ्गठन विभागप्रमुख आनन्दप्रसाद ढुङ्गाना तथा तिनका केही आसेपासेहरूको आपसी मिलिभगतमा विभागहरूको विवादास्पद गठन गरिएको कार्यकर्ताहरूको ठहर छ । सभापति कोइरालाकै नजिक बसेर कोइराला र काङ्ग्रेसलाई अप्ठ्यारो पार्ने काम गरेकोले ती चार नेतालाई उचित कारबाही गरिनुपर्ने आवाज कार्यकर्ताले उठाउन थालेका छन् । उनीहरूले पार्टी र स्वयम् सभापति कोइरालालाई समेत धोखा दिएको ठहर आमकाङ्ग्रेसजनले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले