एमालेलाई साफ पार्ने प्रचण्डको खतर्नाक अभियान

८ जेष्ठ २०७०, बुधबार ०७:३२ मा प्रकाशित

काठमाडौं, ८ जेठ । पार्टी विभाजनबाट पुगेको क्षति पूर्ति गर्न एमाओवादीका अध्यक्ष प्रचण्डले चुनावअघि नै एमालेलाई बढार्ने योजनाबद्ध अभियान सुरु गरेका छन् । जनजातीय समुदायका नेता अशोक राईमाथि नगदसमेत लगानी गरेर छुट्टै पार्टी गठन गराउने कार्य सम्पन्न गरेलगत्तै प्रचण्डले मधेसी नेता रामचन्द्र झालाई एमाओवादीमा भित्र्याएका थिए भने गत साता मात्र एमालेकी पोलिटब्युरो सदस्य उर्मिला अर्याललाई पनि एमाओवादी प्रवेश गराइएको छ । पहिले प्रचण्डसम्बद्ध पार्टीमा महिला सङ्घको नेतृत्वमा रहेकी उर्मिला अर्यालसँग युवक सङ्गठनको अध्यक्षमा आफू रहँदा प्रचण्डको विशेष घनिष्टता रहेको थियो । त्यसबेला प्रचण्डबाट अलग्याएर उर्मिलालाई ‘ठीक ठाउँमा ल्याउन’ एमालेका नेताहरूलाई निकै मुस्किल परेको थियो । पुरानो मित्रवत् सम्बन्ध पुनर्जीवित गर्दै प्रचण्डले उर्मिलालाई भित्र्याउने सफलता प्राप्त गरेका एमाले नेताहरूको भनाइ छ ।
जनजाति, मधेसी र महिलालाई एमालेबाट अलग्याउँदै आफ्नो पार्टीमा समेटेपछि प्रचण्डले अब एमालेका अन्य नेतातर्फ आँखा लगाएका छन् । यसक्रममा एमालेका पुराना नेता युवराज कार्की प्रचण्डको प्राथमिकतामा परेको बताइन्छ । कार्कीलगायत एमालेका केही उच्च तहका नेताहरूलाई एमाओवादीमा भित्र्याएपछि प्रचण्डले माधवकुमार नेपाल, केपी शर्मा ओली र झलनाथ खनाललगायतका प्रमुख नेताहरूको गृहजिल्लाका सक्रिय एवम् प्रभावशाली देखिएका एमाले नेताहरूलाई एमाओवादीमा तान्ने योजना बनाएको स्रोतको दाबी छ ।
यसक्रममा माधव नेपालको गृहजिल्ला रौतहटमा प्रचण्डले आवश्यक गृहकार्य सुरु गरिसकेका छन् । माधव नेपालका सहयोगी एवम् प्रभावकारी नेताहरूको सूची तयार पारिएको र ती व्यक्तिहरूको पृष्ठभूमि, नाताकुटुम्ब र कमजोरीहरूको समेत अध्ययन गर्ने काम प्रचण्डबाट भइरहेको जानकारीमा आएको छ । दुई सय चालीस निर्वाचन क्षेत्रमा हरेक क्षेत्रको वस्तुगत स्थिति अध्ययन विश्लेषण गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेलाई सफाया गर्ने योजना बनेको भए पनि प्रचण्डले माधव नेपालको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताइन्छ । एमाले कमजोर हुँदाको सम्पूर्ण लाभ आफूलाई प्राप्त हुने विश्वासका आधारमा प्रचण्ड एमालेविरुद्ध आक्रामक बनेको बताइन्छ ।
स्मरणीय छ, एमाओवादी नेताहरूले केही अघिदेखि नै ‘एमाले भनिने पार्टीको कुनै काम नरहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उनीहरू काङ्ग्रेससँग आफ्नो मुख्य प्रतिस्पर्धा रहेको तर काङ्ग्रेससम्बद्ध नेता–कार्यकर्तालाई पार्टीमा ल्याउन नसकिने भएकोले एमालेमाथि जाइलागेको देखिन्छ । यसरी प्रचण्ड एमाले बढार्ने अभियानमा योजनाबद्ध ढङ्गले सक्रिय रहेपछि चुनावी सरकारसमेत झस्किएको छ । प्रचण्डले यसैगरी एमालेविरुद्धको अभियान जारी राखेमा एमाले भड्किने र विभिन्न बहानाबाजी गरेर चुनावमा अड्चन पैदा गर्ने हो कि भन्ने चिन्ता चुनावी सरकारमा देखिएको छ । गत शनिबार प्रधानमन्त्री खिलराज रेग्मीले प्रचण्डसँग भेटका क्रममा तत्काल एमालेलाई चिढ्याउने काम नगर्न सुझावसमेत दिनुभएको बुझिएको छ । चुनावको मिति घोषणा भइसकेपछि जे गरे पनि अहिले नै एमालेविरुद्ध जेहाद छेड्दा एमाले भड्किने खतरा रहेको र एमाले भड्किँदा चुनावको मिति घोषणामा समेत अवरोध पैदा हुनसक्नेतर्फ प्रधानमन्त्री रेग्मीले प्रचण्डलाई सचेत गराउनुभएको बताइन्छ ।
प्रचण्ड यसरी एमालेविरुद्ध जाइलाग्नुअघि उनले मधेसी मोर्चासँग चुनावी गठबन्धन गर्ने घोषणा गर्नुभएको थियो । तर, मोर्चासँग गठबन्धनको सम्भावना नदेखिएपछि प्रचण्डले चुनावी रणनीति बदल्दै एमाले बढार्ने कार्ययोजना अघि सारेका हुन् । एमाओवादीको ‘स्याटलाइट’का रूपमा रहेको अशोक राई नेतृत्वको समूहसँग चुनावी एकता गर्ने या आवश्यक परे उक्त समूहलाई नै एमाओवादीमा विलय गराउने तयारीमा प्रचण्ड रहेका छन् । बुझिएअनुसार अशोक राईका कारण पूर्वीपहाडमा र रामचन्द्र झाका कारण मध्यतराईमा एमाले बढारिने विश्वास एमाओवादी नेतृत्वले गरेको छ । हरेक चुनाव क्षेत्रमा एमालेलाई बढार्ने काम भने अब चुनाव मितिको घोषणापश्चात् मात्र सुरु गरिने स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा