दलहरुबीच फेरि देखियो विमति

५ जेष्ठ २०७०, आईतवार ०९:०१ मा प्रकाशित

काठमाडौं, ५ जेठ । प्रमुख राजनीतिक दलहरुबीच पछिल्लो चरणमा बन्दै गएको ठानिएको सहमतिको वातावरण पुनः बिग्रने सम्भावना बढेर गएको छ । संविधानसभा निर्वाचनको मिति तोक्नुअघि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका सम्पूर्ण राजनीतिक नियुक्तिहरूको खारेजीलाई कांग्रेस–एमालेले पूर्वसर्त बनाएपछि दलहरुबीच असमझदारी र अविश्वास बढेको हो । चारदलीय राजनीतिक संयन्त्रमा जनमत प्रभावित पार्ने सुकुम्बासी आयोगलगायत राजनीतिक नियुक्तिहरू खारेज हुनुपर्ने माग उनीहरुले राखेका छन् भने एमाओवादी ती नियुक्ति खारेजीको विपक्षमा उभिएको छ । 
तत्कालीन भट्टराई सरकारले भक्तिप्रसाद लामिछानेको अध्यक्षतामा गत मंसिरमा सुकुम्बासी आयोग गठन गरेको थियो । अहिले यो तराईका २१ र पहाडका ४ गरी २५ जिल्लामा जिल्लास्तरीय समितिसमेत बनेर काम गर्दै आएको छ । आयोगले सुकुम्बासीका नाममा बाँके, बर्दियालगायत जिल्लामा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न थालेको भन्दै कांग्रेस–एमालेले विरोध जनाउँदै आएका छन् । चुनावको मुखमा कार्यकर्तालाई लालपुर्जा दिने र त्यसले निर्वाचन निष्पक्ष नहुने तर्क कांग्रेस–एमालेको छ । तत्कालीन सरकारले निर्वाचनलाई लक्षित गरेर नै सुकुम्बासी आयोगलगायत सार्वजनिक संस्थान र कोषहरूमा नियम मिचेर नियुक्ति गरेकोले त्यो बदर गरेपछि मात्रै निष्पक्ष निर्वाचनको आधार खडा हुने धारणा कांग्रेस एमालेले अघिसार्दै आएका छन् । उनीहरुले गरिबी निवारण कोष, स्वरोजगार कोष, दूरसञ्चार संस्थानलगायतमा भएका राजनीतिक नियुक्तिसमेतको खारेजी हुनुपर्ने माग उठाएका छन् । गरिबी निवारण र स्वरोजगार कोषमार्फत कार्यकर्ताको भरणपोषण गरी करोडौं रुपैयाँ दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । त्यस्तै कर्मचारीले चलाउने कतिपय संस्थानमा नियमविपरीत राजनीतिक नियुक्ति भएको आरोप पनि उनीहरुको रहेको छ । यसरी राजनीतिक नियुक्ति खारेज गर्नेबारे सवाल पैदा भएकोमा प्रचण्ड पक्षधर खारेज गर्न तयार भएको तर भट्टराईले कुनै हालतमा हुँदैन भन्दै आएकाले पनि समस्या पैदा भएको बुझिएको छ । यस हिसाबमा माओवादीभित्रैको मतान्तरले यतिबेला राजनीतिक सहमतिमा बाधा सिर्जना भएको हो भन्न सकिन्छ ।
चुनावको मिति तोक्न नसकेको भनी रेग्मी सरकारको चौतर्फी आलोचना भइरहेको परिवेशमा चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिमा राजनीतिक नियुक्तिको खारेजी र प्रस्तावित निर्वाचन आयोगको अध्यादेशमा सहमति जुट्न नसक्दा निर्वाचन मिति तोक्न थप ढिलाइ भइरहेको स्पष्ट घएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस