सुगौली सन्धिदेखि यता हामी पराधीन भएकै हौँ :: डा. बाबुराम भट्टराई

४ जेष्ठ २०७०, शनिबार ०८:५५ मा प्रकाशित

० असारमा नहुने भएपछि अब मङ्सिरमा पनि संविधानसभाको निर्वाचन हुँदैन भन्न थालिएको छ, चुनाव हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
– बेकारको आशङ्का गर्नुको कुनै तुक छैन, चुनाव गर्नैपर्छ, यसको विकल्पै छैन । चुनाव गराउनकै लागि त मैले सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरेको हुँ ।
० निर्वाचन नहुने देखेर नै तपाईंले प्रधानन्यायाधीशलाई सत्ता हस्तान्तरण गरेको पनि भनिन्छ नि ?
– चुनावमा आउन केही शक्तिहरूले आनाकानी गरे र राष्ट्रपतिले अध्यादेशहरू रोकेर चुनाव नहुने वातावरण बनाइदिनुभयो । यसरी म निर्वाचित प्रधानमन्त्रीलाई चुनाव गराउन नदिइसकेपछि लोकतन्त्रमा अपवादजन्य विकल्पको रूपमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपरेको हो । यो मात्रै विकल्प देखेर सरकार बनाएका हौँ । यो यथार्थविपरीत अन्य जे–जे अर्थ लगाए पनि त्यो निरर्थक हो ।
० संविधानसभा अवसान हुनुमा तपाईंको कति दोष छ भन्ने लाग्छ ?
– यसमा मेरो दोष कति छ भने नेपालमा राजनीतिको नाउँमा असाध्यै षड्यन्त्र र जालझेल चल्छ, यहाँ मूल्य–मान्यताको राजनीति छैन भन्ने कुरा बेलैमा नबुझ्नु र अन्तिम बेलासम्म आशावान भएर बस्नु मेरो कमजोरी हो । निर्वाचित प्रधानमन्त्रीलाई निर्वाचन गर्न नदिने जुन किसिमको वातावरण बनाइयो, पहिले तिनीहरूलाई सोध्नुस् लोकतन्त्रको हत्या कसले गर्‍यो भनेर । बाबुराम भट्टराईले त संविधानसभा बचाउनका निम्ति अन्तिमसम्म प्रयत्न गरेको थियो । मैले त जेठ ५ गते म्याद थप्नका निम्ति मन्त्रिपरिषद्बाट संविधान संशोधन विधेयक ल्याएको थिएँ । मैले आपतकाल लगाएर भए पनि म्याद थप्ने कोसिस गरँे तर राष्ट्रपतिजीले इन्कार गरिदिनुभयो । शेरबहादुर देउवाबाहेक कसैले पनि साथ दिएनन् । त्यसले गर्दा संविधानसभाको स्वत: अवसान भयो ।
० तपाईंकै कारणले संविधानसभाको निर्वाचन हुन नसकेको त मान्नुहुन्छ नि ?
– मैले पछिसम्म पर्खेर बस्नु मेरो कमजोरी रह्यो । मेरो कारणले त संविधान नै बन्थ्यो । मङ्सिर ७ का लागि मैले निर्वाचनको मिति घोषणा गरँे । त्यसका लागि ऐन चाहिन्थ्यो । मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष अध्यादेश पठायो तर राष्ट्रपतिले जारी नगरी थन्क्याएर राख्नुभयो । मेरो कारणले चुनाव हुन नसकेको पनि होइन र मैले चुनाव गर्न नसकेको पनि होइन । राष्ट्रपतिले अध्यादेश जारी नगरेर चुनाव गर्न नदिएको यथार्थलाई राम्ररी मनन गर्नुपर्छ ।
० काङ्ग्रेस र एमालेलाई मिलाउन र राष्ट्रपतिलाई कन्भिन्स गर्न त तपाईंले नै नसक्नुभएको हो नि, होइन र ?
– मैले सकिनँ कि एउटा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने प्रयास गरियो ? एउटा वैधानिक सरकारले पठाएको अध्यादेश पारित नगरेर निर्वाचन नहुने वातावरण बनाइयो । नेपाली जनताले के बुझेका छन् भने २००७ सालबाट सुरु भएको संविधानसभाको एजेन्डा महेन्द्रले खाए । त्यसपछि त्यो एजेन्डा ०४६ सालको निर्वाचनमा बाबुराम भट्टराईले उठाएको थियो ।
० माओवादीको संविधानसभाको एजेन्डा त असफल भयो होइन ?
– असफल भएको छैन । एकपटक एउटा बच्चा मर्‍यो भने बयस्क दम्पतीले अर्को प्रयत्न गरेर बच्चा जन्माउँछ, तर जो वृद्ध भइसकेका अर्थात् प्रजनन शक्ति गुमाइसकेका जोडीले कहिल्यै पनि बच्चा जन्माउन सक्दैन । नेपालमा यस्ता पनि राजनीतिक शक्तिहरू छन् जसको ‘बन्ध्याकरण’ भइसकेको छ । उनीहरूले संविधानसभालाई जन्माउन सम्भव छैन । तर, माओवादीले जन्माउन सक्छ र हुर्काउन पनि सक्छ ।
० तपाईंले प्रधानमन्त्री हुँदा सत्ताको साँचो अन्यत्रै रहेछ चाहिँ किन भन्नुभएको ?
– मैले त्यस्तो कहिल्यै पनि भनिनँ । मैले मिडियाका साथीहरूलाई भन्नुपर्नेछ कि कैयौँ कुरा आविष्कार गर्ने र दुष्प्रचार गर्दै भ्रम छर्ने प्रवृत्ति गलत हो । मैले नेपालको साँचो बाहिर छ कहिल्यै भनिनँ । नेपालको साँचो नेपाली जनताकै हातमा छ ।
० तर, नेपालका नेताहरू अन्यत्रैबाट सञ्चालित छन् भनिन्छ, किन होला ?
– किन यसो भनिन्छ तपाईंहरू आफैँ मूल्याङ्कन र विचार–विश्लेषण गर्नुहोस् न † माओवादी शक्तिले त यस्तो परिवेशलाई बदलेको अवस्था हो, यो यथार्थलाई कसैले बङ्ग्याउन मिल्दैन । सुगौली सन्धिदेखि यता हामी पराधीन भएकै हौँ । बाह्य शक्तिको चलखेल बढेकै हो । हामी र देश कमजोर भइसकेपछि छिमेकीले त्यसमा हात छिराउने प्रयत्न त गरिहाल्छ नि । त्यो स्वाभाविक कुरा हो ।
० खिलराज रेग्मीलाई आफँै निर्णय
गरेर प्रधानमन्त्री बनाएको कि बाहिरी शक्तिको पनि हात थियो ?
– निर्वाचित सरकार भएकाले कि त मेरै नेतृत्वमा चुनाव हुनुपर्दथ्यो, त्यो हुन नदिइसकेपछि अर्को विकल्प बंगलादेश, ग्रिसलगायतका देशमा प्रयोग गरिएको मोडल भनेको प्रधानन्यायाधीशको नेतृत्वमा सरकार हो । हामीले पनि त्यो नयाँ मोडलमा जाने प्रयत्न गर्‍यौँ । यो हाम्रै उपज हो तर यसमा बाहिरी शक्तिको सहयोग र समर्थन रहेको हो ।
० वैद्यले त भारतीय योजनाअनुसार निर्णय भएको आरोप लगाएका छन् नि ?
– म उहाँहरूको विषयमा टिप्पणी गर्न चाहन्न । इतिहासले नै त्यसको फैसला गर्छ । किनकि उहाँहरू वैचारिक राजनीतिक मतभिन्नताहरू राखेर हामीबाट अलग हुनुभएको छ । उहाँहरूको परीक्षण हुन बाँकी छ । तर, उहाँहरूको बाटो वस्तुसङ्गत छैन । त्यो बाटो सफल हुने सम्भावना म देख्दिनँ ।
० वैद्य समूहले भाग नलिए संविधानसभाको निर्वाचन होला ?
– उहाँहरू अहिले द्विविधामा हुनुहुन्छ । चुनाव हुने बेलासम्ममा उहाँहरूले पुनर्विचार गर्नुहुन्छ जस्तो मलाई लाग्छ । तर, भाग लिनुभएन भने पनि चुनाव त हुन्छ । अहिले उहाँले अगाडि सारेजस्तो माग पूरा हुन सक्दैन । खिलराज रेग्मी नेतृत्वको सरकारको विकल्प छैन । छिट्टै निर्वाचनको मिति तोक्नुपर्छ । चुनाव हुन्छ । पहिला एमाले–काङ्ग्रेस बाहिर थिए र चुनाव भएन । अहिले हामी प्रमुख दल एक ठाउँमा छौँ, त्यसैले पनि निर्वाचन हुन्छ ।
० तपाईं र राष्ट्रपतिबीचको द्वन्द्व कहिलेदेखि सुरु भयो ?
– राष्ट्रपति ‘व्यक्ति’सँग मेरो कुनै द्वन्द्व छैन । रामवरण यादवजीसँग मेरो राम्रो सम्बन्ध छ । तर, बेलाबखतमा केही शक्तिहरूले राष्ट्रपतिलाई उपयोग गर्ने प्रयत्न गर्छन्, अनि उहाँ अलि बहकिन खोज्नुहुन्छ । त्यसबाट उहाँ सतर्क रहनुपर्छ । त्यसो हुन सक्यो भने सरल तरिकाले राजनीति अघि बढ्छ ।
० तपाईंलाई राष्ट्रपतिले हटाउन खोजेकै
थिए त ?
– उहाँले मलाई हटाउन खोजेको कुरा त सबैले बुझेकै कुरा हो । मैले बाहिर आएजस्तो ‘कु’ शब्दको प्रयोग त गरेको छैन । तर, उहाँले निकै बाधा–अड्चन सिर्जना गरेर मेरो सरकारलाई असफल पार्ने कामचाहिँ गर्नुभएकै हो । अहिलेको अन्तरिम संविधानले उहाँलाई मन्त्रिपरिषद्ले पठाएको अध्यादेश रोकेर राख्ने अधिकार कतै पनि दिएको छैन । संविधानको संरक्षक भनेको संविधानको विपरीत जाने होइन । संविधान पालना गरेर मात्र संरक्षक हुन्छ, उल्लङ्घन गरेर होइन ।
० तपाईंको कार्यकालमा भ्रष्टाचारको त रेकर्ड नै बन्यो भन्छन् नि ?
– कहाँ भयो ? यो अमूर्त कुरा गरेर हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनेको छ । त्यसले छानबिन गरे भइहाल्छ नि † म र हिसिला दुवै इन्जिनियर हौँ । नक्सा कोरेर महिनाको करोडौँ रुपैयाँ आफँै कमाउन सक्छौँ । भएको सम्पत्ति छाडेर ज्यानको माया मारेर देशका लागि हिँडेका मान्छेलाई भ्रष्टाचार गरेको आरोप लगाउनुमा कुनै तुक छैन । मेरो, श्रीमती र छोरीको नाममा भएको सम्पत्तिको विवरण बुझाइएको छ । त्योभन्दा बाहेक एक पैसाको पनि सम्पत्ति छ भने लगे हुन्छ ।
० बाबुराम भट्टराईप्रतिको जनअपेक्षा त प्रधानमन्त्री भएपछि झन् घट्यो नि ?
– नेपाली जनताको मनमा परिवर्तनका अपेक्षा धेरै ठूला थिए । यो सङ्क्रमणकालमा जनताका ती अपेक्षाअनुसार काम गर्न गाह्रो थियो । पहिलो कुरा यो बहुमतको सरकार थिएन, संयुक्त सरकार थियो । सङ्क्रमणकालमा जनतालाई जुन राहत दिने गरी बजेट ल्याउनुपर्ने थियो त्यो ल्याउन दिइएन । यस्तै–यस्तै कारणले जनताका अपेक्षा पूरा नभएका हुन सक्छन् । त्यो म मान्छु, तर बाबुराम भट्टराईले नियतवश नै गरेन भनी जनताले भन्छन् या भनेका छन् भन्ने मलाई लाग्दैन ।
० फेरि प्रधानमन्त्री बन्ने तपाईंको चाहना छ कि छैन ?
– मेरो चाहना त यो देशमा विकास र समृद्धि होस् भन्नेमा छ । म अलिक राजनीतिक अर्थशास्त्रमा रुचि राख्ने मान्छे हुँ । त्यसैले म यो देशमा विकास र समृद्धि ल्याउन पाए हुन्थ्यो भन्ने चाहन्छु । शासन–सत्ता चलाउने या शक्तिको लालसा मलाई त्यति छैन ।
० तपार्इंलाई चीनले विश्वास नगरेको कारण के होला ?
– यो गलत कुरा हो । मेरो कार्यकालमा चीनका प्रधानमन्त्री नेपाल आउनु नै ठूलो कुरा थियो । १० वर्षपछि पहिलोपटक चिनियाँ प्रधानमन्त्री नेपाल भ्रममा आउनुभएको थियो, त्यो चानचुने कुरा होइन । चीन पनि नेतृत्व परिवर्तनकै कालखण्डमा थियो, त्यसको कारणले समय भएन होला । चीनसँग मेरो राम्रो सम्बन्ध थिएन भन्ने कुरा गलत हो ।
० लोकमानसिंह कार्कीलाई अख्तियारप्रमुख बनाउन भारतसहित मित्रराष्ट्रको भूमिका थियो ?
– जे कुरामा पनि विदेशीकै भूमिका हेर्ने हाम्रो यो मनोग्रन्थीबाट मुक्त हुनुपर्छ । उनलाई नेपालका चार राजनीतिक दलले सिफारिस गरेका हुन् । त्यसैको आधारमा संवैधानिक परिषद्ले सिफारिस गरेर राष्ट्रपतिलाई पठायो । राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नुभयो र कार्की अख्तियारप्रमुख बन्नुभयो ।
० किन लोकमान नै ?
– कोही न कोही आउनैपथ्र्यो । उहाँमा नै सबै सहमति बन्यो र उहाँ आउनुभयो । जनआन्दोलनमा दमन नगरेका व्यक्ति त को पाइन्छ र ? सेना र प्रहरीका, प्रशासनका, न्यायालयमा रहेका सबै व्यक्ति हिजोको जनआन्दोलनमाथिको दमनमा संलग्न थिए । ती सबैलाई हटाउने हो भने त नेपालमा कोही पनि बाँकी रहँदैनन् । अहिले हल्लाको आधारमा कसैलाई आरोपित गर्नु हुँदैन । भोलि भ्रष्टाचार गरेको अभियोग प्रमाणित भए संसद्ले महाअभियोग लगाएर हटाउन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न