पूर्वपञ्चहरू एकताबद्ध हुँदै, महाधिवेशनमा हिन्दुवादी राष्ट्रको प्रस्ताव ल्याइने

१ जेष्ठ २०७०, बुधबार २१:०१ मा प्रकाशित

काठमाडौं, १ जेठ । सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टी र पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राप्रपा मिलेर बनेको राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आगाी ३ गते शुक्रबारदेखि जेठ ५ गतेसम्म राजधानीमा सम्पन्न हुने भएको छ । नवगठित पार्टीको नाम महाधिवेशनले राष्ट्रिय प्रजातन्त्र पार्टी कायम गर्ने निधो गरेको बुझिएको छ भने प्रथम अध्यक्ष सूर्यबहादुर थापा नै हुनुहुने भएको छ । पार्टीको शीर्ष तहमा पाँचजनाको अध्यक्षमण्डल राखिने र मण्डलमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, राजेश्वर देवकोटा तथा डा. प्रकाशचन्द्र लोहनी रहनुहुने बताइएको छ । 
निर्वाचनको सम्भावना बढ्दै गएपछि पूर्वपञ्चहरूले यसरी एकताबद्ध हुन जाँगर चलाएका छन् । सम्बद्ध स्रोतले जनाएअनुसार अध्यक्षमण्डलका सदस्यहरूले क्रमश: एक–एक वर्ष अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ । पचहत्तरवटै जिल्लाको सहभागिता रहने एकता महाधिवेशनले देशभरिका राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने विश्वास उक्त पार्टीका नेताहरूले गरेका छन् ।
यसै सन्दर्भमा राप्रपाका नेता जगत गौचनसँग सम्पर्क गर्दा उहाँले महाधिवेशनपछि देशमा राष्ट्रवादी र प्रजातान्त्रिक पक्षको एउटा बलियो शक्ति निर्माण हुने विश्वास प्रकट गर्नुभयो । एकता महाधिवेशनले मुलुकको राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञाशामा नेता गौचनको भनाइ छ, ‘नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादीले राष्ट्रहितमा काम गर्न नसकेकाले जनतामा नयाँ शक्तिको चाहना बढेको छ । जनचाहनाबमोजिमको शक्ति हामै्र पार्टी बन्ने विश्वास हामीले गरेका छौँ ।’ राजसंस्थाप्रति तपाईंहरूको धारणा कस्तो हुनेछ भन्ने हाम्रो प्रश्नको जवाफमा गौचनले भन्नुभयो, ‘राजसंस्थाबारे पार्टीभित्र विविध सोचहरू छन् । व्यक्तिगत रूपमा म राष्ट्रवादी र राजावादी हुँ । नेपालमा गणतन्त्र घोषणा हुनुमा हाम्रो कुनै योगदान छैन, अरूले ल्याएको गणतन्त्रलाई हामीले मानिदिएका मात्र हौँ । हामी देशका सबै शक्तिबीच एकता र सहकार्य हुनुपर्छ भन्ने मान्यता राख्दछौँ, राजा पनि एउटा शक्ति भएको हुनाले राजालाई समेत विश्वासमा लिनुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले आलङ्कारिक भए पनि राजसंस्था रहनु मुलुक र प्रजातन्त्रका लागि बेस हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।’ हिन्दु राष्ट्रका बारेमा चाहिँ के भन्नुहुन्छ नि भन्ने प्रश्नमा गौचनको जवाफ छ, ‘जुन प्रक्रियाबाट हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषणा गरियो त्यो गलत छ । यो विषयमा जनमतसङ्ग्रह नै गरिनुपर्छ भन्ने हाम्रो धारणा छ । व्यक्तिगत रूपमा म हिन्दूवादी हुँ, हिन्दूधर्म मान्छु र देशलाई पनि हिन्दू राष्ट्रकै पहिचान दिनुपर्छ भन्ने मलाई लाग्दछ ।’ गौचनले अगाडि भन्नुभयो, ‘एकता महाधिवेशनमा हामी नेपाललाई हिन्दू राष्ट्र बनाइनुपर्छ भन्ने प्रस्ताव राख्नेछौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल