राणाको घाँटीमा मासुको चोक्टो अड्किँदा :: वीरेन्द्रमणि पौडेल

१ जेष्ठ २०७०, बुधबार ०७:१५ मा प्रकाशित

मान्छेको जिन्दगीमा अनेक–अनेक हुन्छ भनेको साँच्चै रहेछ । सोचेजस्तो नहुने, नसोचेकोचाहिँ देख्नुपर्ने, सुन्नुपर्ने र भोग्नुपर्ने । हुन्छ भन्ने सोच्यो, हुँदैन । हुँदैन होला भनेर कल्पना ग¥यो त्यही हुने । असल मान्छे सोचेर विश्वास ग¥यो, विश्वासघात गरेर ढाडै भाँचिदिन्छ । बेइमान होला भनेर सङ्गत गर्न डरायो, त्यही मान्छे अकस्मात काम लाग्ने भइदिन्छ । फलानोले त पक्कै पनि सहयोग गर्छ होला भनेर सोच्यो, कठिन अवस्थामा सहयोग गर्दैन । पानी पर्ने छेकछन्द हुँदैन, आकाश सफा र खुल्ला छ तर एकैछिनमा मेघ गर्जिन्छ र मुसलधारे पानी पर्छ र वित्यासै पार्छ । अघिसम्म स्वस्थ भएको व्यक्ति कुरा गर्दागर्दै भुइँमा ढलेर भुतुक्कै हुन्छ । अर्कोतिर अब त फलानो नबाँच्ने अवस्थामा पुग्यो एक–दुई दिनभित्र मर्छ होला भन्ने अनुमान ग¥यो १० वर्ष बढी ऊ नै बाँच्छ । यस्ता सयौँ होइन हजारौँहजार उदाहरण पेस गर्न सकिन्छ मान्छेले नसोचेको र नपत्याएको घटनाबारे । यस्ता घटना रमाइला पनि हुन्छन् र दुःखदायी पनि । जिन्दगीमा थुप्रैथुप्रै घटना घटे । कतिपय घटना सम्झनाबाट ओझेल परिसके भने केही घटना सुन्न र सुनाउन लायक घटना अझै बाँकी छन् । ती सुनाउन लायक एक घटना आज सम्झेँ । लाग्छ यो घटना चितवन पोस्टका पाठकलाई पढ्न लायक हुनेछ, किनकि यो घटना चितवनका धेरै पुराना राजनीतिज्ञसँग सम्बन्धित छ ।
०६४ सालको अन्तिमतिर हुनुपर्छ, राजा महेन्द्रले औधी मन पराएर तिनले बडाहाकिम पद पाएका । महेन्द्रका छोरा वीरेन्द्रलाई पनि औधी मन परेकाले पञ्चायतीकालभरि विभिन्न मन्त्रालय सम्हालेर करिब ३० वर्षसम्म नेपालको शासन व्यवस्थामा शासक बन्न पाएका भाग्यमानी व्यक्ति उनै लीलाराज विष्टको घर भरतपुरमा हामी पाँचजना थियौँ । चितवनको पटिहानीतिर घर भएका ठूलो ज्यानका, जानेका कुराजति स्पष्ट बोल्ने, पञ्चायती व्यवस्थामा राजनीति गरेका र त्यो व्यवस्था ढलेपछि बहुदलीय कालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रही सुस्तसुस्त राजनीतिक गतिविधिमा संलग्न एकजना थिए मुक्तराज पन्त ।
जिन्दगीको लामो समय कम्युनिस्ट पार्टीमा समर्पित भई वैकल्पिक पोलिटब्युरो सदस्यसमेत भएका, निडर स्वभावका, कम्युनिस्ट पार्टी छाडेर ०२४ सालदेखि पञ्चायती व्यवस्थालाई स्वीकारेर त्यसै व्यवस्थामा राजनीति गरेका, पञ्चायतको अवसानपछि लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) मा आबद्ध र पछि दुवै राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भई राजनीतिक चिन्तन गरिरहेका पुन्यप्रताप राणा त्यतिबेला त्यो घरमा, त्यो भेटघाट र कुराकानीमा सामेल थिए ।
अर्का थिए– रेसमबाबु श्रेष्ठ । लीलाराज विष्ट, पुन्यप्रताप राणा र मुक्तराज पन्तको तुलनामा त्यति धेरै चर्चा गर्न लायक र त्यति धेरै राजनीतिक सुझबुझका मानिस रेसमबाबु नभए पनि पञ्चायती कालमा युवक सङ्गठन चितवनका सभापति भएका, तत्कालीन राजाबाट गोरखा दक्षिण बाहुसमेत पाएका र अलि हक्की स्वभावका कारण र पञ्चायती व्यवस्थालाई स्वीकारेका व्यक्ति भएका हुनाले रेसमबाबु र लीलाराज, पुन्यप्र्रताप, मुक्तिराजबीचमा राम्रै चिनाजानी, सम्बन्ध र उठबस थियो । ती चारजनाबीच मसमेत सहभागी थिएँ । म आफू पञ्चायतीकालमा सानै उमेरको भएको, राजनीतिक चेतनास्तर नफस्टाएको, अलिअलि जान्ने भएपछि कम्युनिस्ट विचारसँग नजिक भएको, ०४६ सालमा राजाको निरङ्कुश शासनविरुद्धको आन्दोलनमा सहभागी भएको, कम्युनिस्ट पार्टीमा केही समय पसिना बगाएपछि वाक्किएर स्वतन्त्र बसेको, पछि पुन्यप्रताप राणाको सङ्गतले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएको नाताले र पत्रकार हुनुको नाताले त्यस्ता पुराना राजनीतिज्ञ राजनीतिक कुरा सुन्नु मेरो एक प्रकारको नियमित जागिरसमेत भएकाले ती व्यक्तित्वहरूसँग मेरो भेटघाट भइरहन्थ्यो । म ती चारैजनाभन्दा उमेरले कान्छो छु । छुट्टाछुट्टै ती व्यक्तिहरूसँग मेरो अलगअलग किसिमले सङ्गत भएको थियो । पुन्यप्रताप राणाले मलाई पहिलाको नेपाल र भारतको राजनीतिबारे जानकारी दिनुहुन्थ्यो । नेपालका कम्युनिस्ट पार्टीका नेताहरूका कमजोरी र वामपन्थी आन्दोलनको विषयमा जानकारी दिनुहुन्थ्यो । म उहाँको घर गुलावबाग, कल्याणपुर जान्थेँ । उहाँ देश बिग्रिएमा साह्रै चिन्तित हुनुहुन्थ्यो । म उहाँसँग नेपालको राष्ट्रिय राजनीति मात्रै होइन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, भुटान, चीन, अमेरिका र संयुक्तराष्ट्र सङ्घसँग सम्बन्धित विषयहरूमाथि लगातार छलफल गर्थें । छलफलका क्रममा कहिलेकाहीँ चर्काचर्कीसमेत पथ्र्यो । कुल मिलाएर ती राणा मेरो एकप्रकारको राजनीतिक छलफल गर्ने सहयात्री बन्नुभएको थियो भने मेरो नेतृत्वमा सञ्चालन भइरहेको नारायणी टुडे राष्ट्रिय मासिकका सल्लाहकारसमेत हुनुहुन्थ्यो । लीलाराज विष्टलाई मैले धेरै अघिदेखि चिन्थेँ तर उहाँले मलाई पछि उहाँ राजनीतिबाट रिटायर्ड भएपछि मात्रै चिन्नुभयो । म उहाँको घर पुन्यप्रताप राणाको सङ्गतका कारण जान पाएको थिएँ । तीसवर्षे राजनीतिक यात्रामा उहाँ कस्तो हुनुहुन्थ्यो मलाई थाहा भएन । मैले जहिलेदेखि उहाँलाई भेटेँ असाध्यै सहयोगी, चतुर, सहनशील र रमाइलो खालको भेटेँ । राजाको छत्रछायामा बसेर फलामे अनुशान पालन गरेकाले होला सबैलाई अनुशासित ढङ्गले सम्मान गर्ने खालको पाएँ । सहयोगीको हकमा त उहाँ यतिसम्मको सहयोगी कि एउटा घटना स्मरण गर्दा अझै प्रस्ट हुन्छ ।
शेरबहादुर देउवाले सङ्कटकाल घोषणा गरेर माओवादीहरूको टाउकाको मूल्य तोकेपछि बिग्रिन सुरु भएको राजनीति राजा ज्ञानेन्द्रले शासनसत्ता एकलौटी हातमा लिएको अवस्थामा गुज्रिरहेको थियो । त्यसैबेला चितवनका दुई होनहार पत्रकार, राष्ट्रका सम्पत्ति जो मेरा उमेरका हिसाबले भाइहरू हुन् तिनलाई धेरै ठूलो आपत् आइलाग्यो । त्यतिबेलाका सुरक्षाकर्मी ती दुई पत्रकारसँग बेपत्तै रिसाएका थिए । रिसको झोंकमा कसैले ‘वेद’ पढ्दैन भन्ने जानकारी भएकाले मैले लीलाराज विष्टलाई गएर पत्रकारमाथिको खतरा ‘टारिदिन’ अनुरोध गरेँ । बूढाले ठूलो गुन लाए । मेरैअगाडि कतै फोन गरे र भने ‘ल म फलानो विष्ट बोलेको, पत्रकार भनेका देशका सम्पत्ति हुन् । यिनले केही उपद्रो गर्दैनन् । कहिलेकाहीँ लेख्दाखेरि यताउता त भइहाल्छ नि, दुःख मानिदिन भएन, फलानो पत्रकार नराम्रो मान्छे होइन’ भनिदिए । त्यति मात्रै होइन, निकै ठूलो ठाउँमा पनि फोन गरेर ती पत्रकारलाई सुरक्षा दिए । राजाको शासनसत्ता ढलेपछि ती पत्रकारले विष्टलाई घरैमा गएर ‘धन्यवाद’ पनि भने । अर्का एक पत्रकारचाहिँ धन्यवाद भन्न गएनन् । एउटा यो सहयोगका कारण पनि म ती बूढाप्रति सकारात्मक भएँ । म राप्रपामा छँदा मुक्तराज पन्त चितवन जिल्ला अध्यक्ष भएका कारण चिनाजानी भएको थियो । रेसमबाबु श्रेष्ठसँग पनि यी तीनजना बूढाकै कारण मेरो चिनाजानी भएको थियो । प्रायः राजनीतिक छलफल गर्ने उद्देश्यले हामी लीलाराज विष्टको घर भरतपुर अलि सेन्टर पर्ने भएकाले त्यहाँ भेला हुन्थ्यौ“ । यस्तै सिलसिलामा त्यो कुनै एक दिन हामी लीलाराज विष्टको आँगनमा राखिएको टेबुललाई घेरेर कुराकानी गरिरहेका थियौँ । कहिले कुराकानी निकै चर्काचर्की पाराले हुन्थ्यो । बूढाहरूको मुख रातै पनि हुन्थ्यो । मचाहिँ उनीहरूको चर्काचर्की सुनेर मुसुमुसु हास्थेँ । त्यस दिन पनि अवस्था त्यस्तै थियो । कहिले खित्का छाडेर हाँस्थे बूढाहरू त कहिले मुख रातो पारेर मैले भनेको भविष्यवाणी मिल्छ तिमीले भनेको मिल्दैन भनिरहेका थिए । त्यस दिन कुराको जोसमा टेबुल ठोकाठोकसमेत भयो । कुरा तात्दै गएर सेलाएपछि खाजा खाने कुरा भयो । खाजाको प्रसङ्ग चलेपछि लीलाराज विष्टले ‘ए † सुने, खाजा लिएर आइज’ भने । ‘सुने’ भन्ने विष्टको घरमा सेवा गर्ने दिदीको नाम हो । सुने दिदीले टेबुलमा एक थाल मासु, भुजा, चिउरा र अचार ल्याएर राखिदिइन् । सबैले झिक्दै खाँदै कुरा गर्दै थियौँ । अकस्मात् पुन्यप्रताप राणाले ख्वाक्क खोके । एकपटक खोकेपछि उनले मुखभित्र औँला हाले । मासुको एउटा ठूलो चौटा अड्किएछ । पहिले आफै“ले निकाल्न प्रयास गरे । तर, वाक्कवाक्क मात्रै गरिरहे । हामीतिर हेरेर आत्ति“दै फुस्रो आ“खा पल्टाए । सबैजना आत्तिएर ए पानी † पानी † भन्यौ“ । सुुने दिदीले हत्तपत्त पानी लिएर आइन् । पुन्यप्रतापको मुखमा पानी रेसमबाबुले हालिदिए । पानी खान दिँदा पानी मात्रै बाहिर आयो । मासुको चौटो आएन । लौ भित्रभित्र भन्दै लीलाराज विष्टले पुन्यप्रतापलाई घिच्याए । भित्र बेसिनको धारै खोलेर पुन्यप्रतापको मुखमा लगाइदिए । त्यो उपायद्वारा मासुको चौटो घाँटीबाट बाहिर निस्किएन । पुन्यप्रतापले आँखा माथिमाथि हेर्न थाले । अब बाँच्ने कुनै सम्भावना छैन भन्ने हामी सबैलाई लाग्यो । कसोकसो यो अवस्थालाई राम्रैसँग हेरिरहेका रेसमबाबुले पुन्यप्रतापको पछाडिको घुच्चुकमा एकमुक्का हिर्काए । बल्ल त्यसपछि बडेमानको मासुको चौटो, झन्डै पौने एक पाउको हुँदो हो फुत्त बाहिर ¥याल सिँगानसहित निस्कियो । पुन्यप्रताप स्याँस्याँ र फ्वाँफ्वाँ गर्दै भुइँमा थचक्कै बसे । हामी सबै रमायौँ । सबैले एकै स्वरमा ‘ल अब त ज्यान बाँच्यो’ भन्यौँ । पुन्यप्रतापको ज्यान जोगिएकोमा हामी सबै खुसी भयौँ । रेसमबाबुले धन्यवाद पाए । मुक्तराज पन्तले पुन्यप्रतापलाई बेस्सरी गाली गरे र भने ‘जिन्दगीमा आजदेखि मासु नखानु तपाईंजस्तो खान नजान्ने मान्छेले’ । त्यस दिन त्यो ठूलो चौटो मासुले पुन्यप्रतापको ज्यान लिन सकेन । तर दुर्भाग्य † पुन्यप्रताप राणालाई मासुको ठूलो चौटोले ज्यान लिन नसके पनि उनलाई ०६५ साल चैत २५ गते कालले लगिछाड्यो । पुन्यप्रतापले धर्ती छाडेको केही समयपछि रेसमबाबुले पनि भौतिक शरीर छाडे । राजनीतिक छलफलमा भाग लिने पुन्यप्रताप र रेसमबाबु मरे । मुक्तराज पन्त मर्न बाँकी छ । म र लीलाराज विष्ट पनि मर्न बाँकी छ । मर्न त एक दिन संसारका सबै मानिस मर्छन् । मर्ने मरेर गए । बाँचेकाहरू मर्न लाइनमा बसेका छन् । कसको पालो कहिले र कसरी आउँछ त्यो त ईश्वरलाई थाहा होला । मर्नेलाई बा“च्नेले हेर्छ, मर्नेको कुरा बाँच्नेले गर्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ । फरक यत्ति हो– बाँच्नेले चर्चा गर्दा त्यस्ता घटनाको मात्रै चर्चा गर्छ जुन अस्वाभाविक छ, नसोचेको छ, नपत्याएको छ जस्तो नपत्याएको एक चौटा मासु र पुन्यप्रतापको चर्चा यहाँ गरियो । स्मरण र अनुभवकै चर्चा गर्दा यतिबेला पनि मलाई यस्तो लाग्छ– सके मासु नखाएकै वेश, खाए पनि होसियारीपूर्वक सानोसानो चौटा बनाएर निलेकै वेश तर अड्किने गरी, अपच र अटसमटस हुनेगरी मासु नखाएकै वेश ।

प्रतिक्रिया
सम्बन्धित खवर

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न