बागलुङका विद्यूत आयोजना अलपत्र

२७ बैशाख २०७०, शुक्रबार ०८:०७ मा प्रकाशित

रासस, बागलुङ, २७ वैशाख । गाउँगाउँमा केन्द्रीय विद्युत् विस्तार भएपछि वर्षौंदेखि सञ्चालनमा आएका यहाँका दर्जनौँ लघुजलविद्युत् आयोजना बन्द भएका छन् । करोडौँको व्यक्तिगत र सामुदायिक लगानीमा निर्माण गरिएका त्यस्ता आयोजना केन्द्रीय विद्युतीकरणसँगै विस्थापित भएका हुन् । बागलुङको गलकोट क्षेत्रका विभिन्न गाविसमा सञ्चालित त्यस्ता आयोजनाहरु रुग्ण अवस्थामा पुगेपछि करोडौँको लगानी त्यसै खेर गएको छ । आयोजना बन्द भएपछि सञ्चालकहरु आर्थिक रुपमा तहसनहसको अवस्थामा पुगेका छन् । भौतिक स्रोत साधन जीर्ण बन्दै गएका छन् ।
विद्युत् आयोजनाका उपकरणहरु बिग्रँदै जान थालेका छन् । गलकोटको हरिचौर, मल्म र हटिया गाविसमा मात्रै छ वटा त्यस्ता आयोजना बन्द अवस्थामा पुगेका छन् । विसं २०५६ मा निर्माण गरी सञ्चालनमा ल्याइएको वसन्त वाटर टर्माइन तथा ग्रामीण विद्युतीकरण आयोजना दुई वर्षदेखि बन्द भएको छ । मल्ममा केन्द्रीय विद्युत् विस्तार भएपछि आयोजना बन्द भएको सञ्चालक वसन्त केसीले बताउनुभयो । रु ३६ लाख लगानीमा निर्माण गरिएको उक्त आयोजना बन्द भएपछि केसीले अहिले ऋणको भार बोक्नुपरेको छ । ‘भएको खेत पनि बेचेर आयोजनामा लगानी गरे, कृषि विकास बैंकमा पनि ऋण छ’ केसीले भन्नुभयो ‘तर आज आयोजना बीचमै बन्द भयो ।’ पैत्तीस ९३५० किलोवाट क्षमताको उक्त आयोजनाबाट मल्म गाविसका ४५० घरमा बिजुली बत्ती बलेको थियो भने स्थानीयस्तरमा फर्निचर, कुटानीपिसानी मिल सञ्चालित थिए ।
यस्ता साना आयोजनाहरुको बिजुली केन्द्रीय ग्रीडमा जोड्ने सरकारी नीति नभएका कारण आफूहरु मर्कामा परेको केसीले बताउनुभयो । केसीको आयोजनामा भएका जनेरेटर, टर्माइनलगायतका उपकरणहरु प्रयोगविहीन अवस्थामा पुगेका छन् । त्यस्तै हरिचौर गाविसमा सञ्चालित चारवटा त्यस्ता आयोजना अलपत्र बनेका छन् । मल्म गाविसलाई लक्षित गरी २०५५ सालमा हरिचौरमा निर्माण गरिएको कार्की बहुउद्देश्यीय राइस मिल तथा साना विद्युत् आयोजना पनि बन्द छ । ६५ किलोवाट क्षमताको उक्त आयोजनाबाट मल्म र हरिचौर गाविसका ४०० भन्दा बढी घरमा बिजुली पुगेको थियो । रु एक करोडको लगानीमा निर्माण गरिएको उक्त आयोजनाका सञ्चालक नै अहिले बिचल्लीमा पर्नुपरेको छ ।
‘घरखेत र साहुको ऋण काढेर लगानी गरियो आज यो अवस्थामा हुन्छ भन्ने थाहा थिएन’ आयोजनाका सञ्चालक गुमा भण्डारीले भन्नुभयो । कराडौँको लगानी गरेर आयोजना सुरु गरेको केही वर्षमै गुमाले श्रीमान् पनि गुमाउनुपरेको थियो । गुमाका श्रीमान् कृष्णको २०६५ सालमा बिजुलीको काम गर्दा पोलमा करेन्ट लागेपछि मुत्यु भएको थियो । एकातिर श्रीमान्को मृत्युको वियोग र अर्कोतिर करोडौँ लगानीको विद्युत् आयोजना अलपत्र बनेपछि गुमाको जीवन तहसनहस बन्न पुगेको छ । छ सन्तानसहित बस्दै आएकी कार्कीलाई बिहान–बेलुकाको गर्जो टार्न र छोराछोरीको पढाइलेखाइमा धौधौ परेको छ । योजना बनाउँदा काढेको रु ८० लाख ऋण साहुलाई तिर्न नसकेपछि भएको त्यही एउटा मिल र साना विद्युत् योजना पनि रु ३० लाखमा साहुलाई दिने सम्झौता भएको गुमाले बताउनुभयो ।
६५ किलोवाट क्षमताको अत्याधुनिक जेनेरेटर, ट्रमाइनलगायत विद्युत् आयोजनाका सामानहरु पनि प्रयोगविहीन अवस्थामा रहेको कार्कीले बताउनुभयो । गाउँमा विस्तार गरिएका तार र पोल पनि प्रयोग नलाग्ने अवस्थामा पुगेका छन् । आयोजना बन्द भएपछि उपकरण बिग्रने चिन्ताले सञ्चालकहरुलाई सताएको छ । सरकार र विद्युत् प्राधिकरणले कुनै नीति तथा कार्यक्रममार्फत समस्याको सम्बोधन गरिदिए आफूहरुलाई राहत मिल्ने सञ्चालकहरुको भनाइ छ । ‘हालसम्म कुनै त्यस्तो नीति बनेको थाहा पाएका छैनौँ, एकचोटि २५ किलोवाटसम्मको आयोजनालाई केन्द्रीय ग्रीडमा जोड्ने भन्ने पनि सुनियो पछि सय किलोवाटसम्मको भन्ने पनि सुनियो तर खै केही हुन सकेको छैन’ आयोजनाका सञ्चालक केसीले भन्नुभयो ।
केसीले मिनिग्रीडको अवधारणाअनुसार काम हुनसके रुग्ण अवस्थामा रहेका आयोजनाहरु पुनः सञ्चालनमा आउन सक्ने बताउनुभयो । त्यसका लागि पनि सरकारी स्तरबाटै पहल हुनुपर्ने केसीको माग छ । केसी र कार्कीको जस्तै त्यसक्षेत्रका अन्य दर्जनौँ आयोजना अलपत्र बन्न पुगेका छन् । हरिचौरमा ५० किलोवाटको गलकोट लघुजलविद्युत् आयोजना, रेशम मिल तथा साना विद्युत् आयोजना, हटिया गाविसमा रहेको मिल तथा साना विद्युत् आयोजनालगायतका लघुजलविद्युत् आयोजना अत्रपत्र बनेका हुन् । यता विद्युत् प्राधिकरणले भने केन्द्रमा रहेको शक्ति खरिद शाखाको अनुमतिमा मिटर जोडेर लघुजलविद्युत् योजनाको बिजुली केन्द्रीय ग्रीडमा जोड्न सकिने जनाएको छ ।
प्राधिकरण बागलुङ शाखाका प्रमुख विष्णुप्रसाद यादवले प्राधिकरणले अन्तर्राष्ट्रिय गुणस्तरको विद्युत् प्रणाली अपनाएको हुँदा त्यसैअनुसारको भएमात्र ग्रीडमा जोड्न सकिने सम्भावना औँल्याउनुभयो । जिल्लास्तरबाट क्षतिपूर्ति या व्यवस्थापनको कुनै पनि काम गर्न नसकिने जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड