फिल्मी मसला आइटम डान्स; छुनलाई होइन, हेर्न चाहिं पाइन्छ…

२३ चैत्र २०६८, बिहीबार ०२:३४ मा प्रकाशित

छुनलाई होइन, हेर्न चाहिं पाइन्छ,
आँखालाई सेक्न, जति नि पाइन्छ
उध्रेको चोली छ है, त्यही पनि लाइन्छ ।

यतिखेर धेरैको मुखमा झुण्डिएको ‘लुट’ सिनेमाको यो गीत सुन्दा दुईअर्थी लाग्न सक्छ । यौनिक आमन्त्रणको झल्को दिने गीतको प्रयोग फिल्ममा अतिरिक्त रुपमा गरिएको छ । फिल्मको कथ्य सिलसिलासँग नमिले पनि सुष्मा कार्कीको यही आइटम डान्सले ‘लुट’लाई थप मसला दियो । साथै नेपाली फिल्मी परम्परामा सुस्ताउँदै गरेको आइटम नृत्यलाई पुनः झक्झकाइदियो ।

यही आइटम डान्सपछि सुष्मालाई धेरैले आइटम गर्लसम्म भने । प्रायः कलिउड नायिकाहरुले यस्ता आइटम गीतमा नृत्य गरेका छन् । करिष्मा मानन्धर, रेखा थापा, रेजिना उप्रेती, ऋचा घिमिरे, विपना थापा, उषा पौडेलले नेपाली चलचित्रमा आइटम डान्स गरेका छन् । ‘धनसम्पति’बाट आइटम डान्स गर्न थालेकी रेजिनाले अहिलेसम्म यसालाई छोडेकी छैनन् । रिलिजको पर्खाइमा रहेको ‘परेली’मा उनले आइटम डान्स हेर्न सकिने छ ।

के हो आइटम डान्स ?
जानकारहरुका अनुसार फिल्म क्षेत्रमा आइटम डान्स -नम्बर) भनिने यो नृत्यमा सुन्दर युवतीलाई नचाएर दर्शकलाई भरपूर आनन्द दिइन्छ । नृत्य निर्देशक वसन्त श्रेष्ठका अनुसार देवीदेवताकै पालादेखि सुन्दरी नचाएर आनन्द लिने गरिन्थ्यो, जुन पछि आएर चलचित्र क्षेत्रमा समेत प्रयोग गर्न थालिएको हो ।

श्रेष्ठका अनुसार उर्वशी, मेनकालाई नचाएर देवताहरुले लिने आनन्द पनि आइटम डान्समै पर्छ । ‘त्यसको नामकरण अहिले भएको मात्रै हो,’ श्रेष्ठको जिकिर छ । नेपाली सिनेमा क्षेत्रमाचाहिं आइटम डान्स बलीउडबाट छिरेको हो । विजयन्थीमालाले बलीउडमा यो नाचको प्रयोग गरेकी थिइन् । ‘नेपाली चलचित्रका धेरै कुरामा भारतीय प्रभाव झल्किएको छ । आइटम नम्बर पनि उतैबाट आएको हो,’ श्रेष्ठ भन्छन्, ‘आइटम नम्बर अहिलेको समयको माग हो ।’
नेपाली फिल्मी क्षेत्रमा भने आइटम डान्सको प्रयोग २०३० सालमा बनेको ‘मनको बाँध’बाट शुरु भएको मानिन्छ । यो फिल्ममा विमला श्रेष्ठले पहिलोपटक आइटम डान्स गरेकी थिइन्, मेरो मुटुको माझमा, एउटा बत्ती बलिरहेछ बोलको गीतमा । यद्यपि त्यतिबेला यो नाचलाई आइटम नम्बर भनिएन । ‘तर त्यो नाच आइटम नम्बर हो ,’ थुप्रै चलचित्रमा आइटम डान्स गराएका श्रेष्ठ भन्छन् । त्यसपछि सारङगा श्रेष्ठ, सोनी गुरुङ, सीता गुरुङले नेपाली फिल्ममा आइटम डान्सलाई निरन्तरता दिए । यी तीनजनाले नृत्यको क्षेत्रमा एकछत्र राज नै गरे, लगभग एक दशक । सारङगाले भोजपुरी, सीताले मोडर्न र सोनीले सेमी क्लासक नृत्यको प्रतिनिधित्व गरे । (स्रोत : फिल्मनेपाल.कम)

३० को दशकमा भित्रिएको आइटम डान्सले अहिले फेसनकै रुप लिएको नृत्य निर्देशक राजु शाहको मूल्यांकन छ । फिल्मलाई रोचक र आकर्षक बनाउन यस्तो नृत्य राख्ने गरिन्छ । फिल्ममा पुरुष दर्शकलाई लोभ्याउनका लागि महिला नर्तकीलाई ग्ल्यामरस पाराले नचाउने गरिएको उनको भनाइ छ । ‘यसको मुख्य काम भनेको फिल्मको प्रमोसन नै हो,’ शाह भन्छन् ।

आइटम डान्सले पुरुष दर्शकलाई तान्ने अपेक्षा राखिएको हुन्छ । ‘अभिनयबाहेक शरिरका अंगहरुले पनि मान्छेलाई आकषिर्त गर्छ,’ शाह थप्छन् । उत्तेजक पाराले युवती नचाउँदा दर्शकले ज्यादा रुचाउन थालेपछि आइटम डान्सको प्रयोग पनि फेसनकै रुपमा बढ्न थालेको हो । फेसनको ट्रेन्डमा जान थालेपछि यसले छाडापनको रुप लिएको हो कि जस्तो देखिएको नृत्य निर्देशक वसन्त श्रेष्ठको मूल्यांकन छ । ‘मीठो र कलात्मक तरिकाले प्रस्तुति दिंदा र सोझै भन्नुमा फरक हुन्छ,’ उनले भने, ‘सोझै भन्दा त्यसको कलात्मक पक्ष ओझेलमा पर्छ । यसको ख्याल गर्नु पर्छ ।’

आइटम डान्सलाई फिल्मको मसला मानिन्छ, जसले फिल्मलाई रोचक र आकर्षक बनाउन मद्दत गर्छ । अझ कथावस्तुसँग क्रम मिलाएर राखियो भने यसले झनै राम्रो गर्ने श्रेष्ठको भनाइ छ । आइटम डान्सबाटै कतिपय फिल्मको टर्निङ प्वाइन्ट समेत शुरु हुन्छ । ‘पुरुषलाई आकािर्षत गर्न मात्रै होइन सिंगो फिल्मको प्रस्तुतिकरणमा समेत आइटम डान्सले प्रभाव पार्न सक्छ,’ श्रेष्ठले भने ।

आइटम डान्समा आजकाल त ‘आगै पार्ने’ दृश्य आउन थालेको तीनवटा फिल्ममा आइटम डान्स गरेकी नायिका रेखा थापाको बुझाइ छ । ‘फिल्मको मसला भएपछि यो नराम्रो कुरा होइन,’ उनले भनिन् ।
सेक्स अपिल गर्ने किसिमका छोटा पहिरनमा युवतीलाई स्टेजमा उतारेर उसको अंग प्रदर्शन नै गराइन्छ, आजकाल फिल्ममा । ‘सामान्य किसिमले हिंड्दा त वाह भन्नेहरुको शरिरका अंगप्रत्यंग कलात्मक पाराले पस्किंदा कसले नरुचाउला र ?’ वसन्त श्रेष्ठको भनाइ छ ।

तर पछिल्लो समय अंग प्रदर्शनीलाई नै आइटम डान्सको रुपमा लिन थालिएकोले यसको कलात्मक पक्ष क्रमशः ओझेलमा पर्दै गएको ठहर छ, नृत्यंगानाबाट प्रशिक्षक बनेकी सोनी गुरुङको । ‘कम्मर देखाउँदैमा कसैले वाह भनेकै भरमा त्यसैको पछाडि लाग्नु कलाको महत्व नबुझ्नु हो,’ उनको व्याख्या गरिन् ,’फिल्मी कलाकारमा साधना गर्ने जाँगर छैन । अंग देखाउँदैमा हिट भइन्छ भने किन मिहेनत गर्ने भन्ने सोच छ, उनीहरुमा ।’

राम्रो आम्दानी
फिल्म सुटिङ गर्न र गीत सुटिङमा लाग्ने समयावधिको तुलाना गर्दा आइटम डान्सबाट बढी पारिश्रमिक पाइने कलाकारहरुको अनुभव छ । महिनौं लगाएर फिल्मको सुटिङ गर्दा पाइने पारिश्रमिक र दुई दिनमा सकिने आइटम डान्स गरेर पाइने पैसामा आइटम डान्सबाटै बढी फाइदा हुने नायिका रेजिना बताउँछिन् । । ‘फिल्ममा अभिनय गरेर कमाइने पैसाभन्दा आइटम डान्स गरेर बढी कमाइन्छ,’ रेजिना भन्छिन् ।

चारवटा चलचित्रमा आइटम डान्स गरेकी नायिका सुष्मा कार्कीको अनुभवमा पनि आइटम डान्सबाटै राम्रै आम्दानी हुने गरेको छ । ‘आइटम डान्सबाटै बढी फाइदा हुन्छ,’ चार फिल्ममा आइटम डान्स देखाएकी नायिका कार्की भन्छिन् । पारिश्रमिक राम्रो पाइने भए पनि एउटा आइटम डान्स पस्किंदा कति पारिश्रमिक लिने गरेको छ भन्ने चाहिं यी दुवैले खुलाएनन् ।

नपाली सिने क्षेत्रमा पहिलोपटक आइटम डान्स गर्ने विमला श्रेष्ठले आफ्नो तलब ६ सय हुँदा ‘मनको बाँध’मा दुई घण्टा आइटम डान्स गरेर ८ हजार रुपिायाँ पाएकी थिइन् भने पछि अर्को फिल्मले २० हजार रुपियाँ दिएको थियो । नृत्य निर्देशक राजु शाह पनि आइटम डान्स गर्ने कलाकारले अभिनयको तुलनामा रामै्र आम्दानी हुने बताए ।

कतिपय नायक नायिकाले आइटम डान्सकै कारणले नाम र दाम एकसाथ कमाउने गरेको पाइन्छ । जस्तोः झण्डै एक दर्जन चलचित्रमा अभिनयमा गरेर पनि जम्न नसकेकी नायिका सुष्मा कार्कीले चौथो आइटम डान्स ‘लुट’को उध्रेको चोलीले चर्चामा ल्याइदियो । उनलाई कतिपयले ‘आइटम गर्ल’ भनेर टिप्पणी समेत गरे ।

पहिलो आइटम डान्सर विमला श्रेष्ठको अनुभव

नाच्नु, गाउनु भनेको जीवन बर्बाद बनाउनु हो । बिग्रेकाहरुले गर्ने काम हो भन्ने धारणाले गाँजेको उबेलाको समाजमा आइटम डान्स गर्नु चानचुने कुरा थिएन । तर नृत्यंगना विमला श्रेष्ठले त्यो आँट गरिन् । र, २०३० सालमा रिलिज भएको चलचित्र ‘मनको बाँध’मा आइटम डान्स गरेर पहिलो आइटम डान्सर बनिन् ।
घरबाट भागीभागी नाच्नुपर्ने हुन्थ्यो । यस्ता कार्यक्रम भएको दिन त विमला घरै जान्नथिइन् रे । ‘वरिपरिका मान्छेले तथानाम गाली गर्थे । वेश्या आई भन्दै ढुंगा हिर्काउँथे,’ बरर्र आँशु झार्दै विमलाले संघर्षका ती दिन सम्झिन् ।
यति कडिकडाउ संस्कार र सामाजिक बन्धनमा हुर्किएकी विमलाले ‘मनको बाँध’ फिल्ममा आइटम डान्स गर्ने निधो गरिन् । ‘मेरा बाआमाले थाहै पाएनन्,’ उनले भनिन् ,’उहाँहरुले कुनै पनि फिल्म नै हेर्नुभएन ।’
फिल्मको सबै छायांकन सकिएपछि क्यामेरामेन वैकुण्ठ मास्केको बारम्बारको अनुरोधलाई काट्न नसकेपछि उनी आइटम डान्सका लागि राजी भएकी हुन् । त्यही पनि शर्त राखें,’ विमलाले भनिन् ,’दुइटा हात र अनुहार मात्रै देखिनुपर्छ ।’ यही सहमतिपछि उनले अतिथि कलाकारको रुपमा फिल्ममा आइटम डान्स गरिन् । शंकर होटलमा दुई घण्टामा सुटिङ सकेको यो फिल्ममा विमला आफैंले जानेको मेकअप गरेर अरुले सजिलै नचिन्ने बनाएकी छिन, आफ्नो अनुहार । जतिबेला मेकअप भन्ने चीज नै थिएन । ‘यतिमात्रै देखाएर नाच्नु पनि निकै ठूलो कुरा थियो,’ विमला भन्छिन्, ‘शरिर हल्लाउनै नपाउने त्यो जमानामा अंग देखाएर नाच्न हामी सक्दैन थियौं । तर मैले आँटे ।’
आफ्ना अभिभावकले नहेरेको यो नाच उनी आफैंले पनि हलसम्म पुगेर हेर्ने हिम्मत भने गरिनन् । ‘विश्वज्योति हलको दूलोबाट चिहाएर फर्किएँ,’ ६७ वर्षृ विमलाले ती दिन खोतलिन्, ‘अफ्ठेरो लाग्यो । अहिलेको जस्तो समय कहाँ हुनु ?’
‘मनको बाँध’बाट आइटम डान्सको बाँध तोडेर नेपाली फिल्मकी पहिलो आइटम नम्बर बनेकी विमलाले त्यसपछि भोजपुरी फिल्म ‘माया प्रीति’, ‘मजबुत’ नेवारी फिल्म ‘राजामति’मा आइटम डान्स गरिन् । त्यसपछि भने फिल्मी क्षेत्रमा यस्तो नृत्य उनले गरिनन् । ‘इच्छै भएन,’ उनले यतिमात्र भनिन्, ‘फिल्मी क्षेत्र मलाई सायद मन नपरेको हो कि ।’

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले