केही दिनभित्रै सुशासनको अनुभूति हुने नतिजा दिने कार्कीको प्रण

२६ बैशाख २०७०, बिहीबार ०६:११ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख लोकमानसिंह कार्कीले आयोग प्रमुखको हैसियतले आगामी केही दिनभित्रै सर्वसाधारणलाई सुशासनको माध्यमबाट परिवर्तनको अनुभूति हुनेगरी नतीजा दिने प्रण गरेका छन् । करको दायरामा नरहने कतिपय ब्यक्ति, व्यावशायी, प्रतिष्ठान वा निकायलाई करको दायरामा ल्याई आमजनतामा भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको क्रमिकरुपमा विकास गर्न पहल गर्ने 
पनि उनले जनाएका छन् । बुधबार बिहान शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाइएपछि कार्कीले एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिवद्धता जनाएका हुन् ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीद्वारा जारी गरिएको प्रेश विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ :

१) नेपाल प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन ब्यवस्थामा प्रवेश गरिसकेको सन्दर्भमा कानूनी शासनका अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पूर्ण प्रतिवद्धता मेरो आधार बिषय वन्नेछन् । मुलुकमा शान्ति, सुव्यवस्था कायम गरी नेपालीहरुको सम्वृद्धि तथा आर्थिक सामाजिक परिवर्तनको लागि मुलुकमा व्याप्त भ्रष्टाचारलाई निराकरण गरी स्वस्थ्य र समुन्नत नेपाली समाजको स्थापना गर्नु मेरो पहिलो दायित्व हुनेछ । नेपालको अन्तरिम संविधान, २०६३ ले आत्मसाथ गरेको आधारभूत मान्यताहरु मेरो लागि मार्गदर्शन हुनेछन् । तिनै बिषयलाई केन्द्रमा राखी लोककल्याणकारी समाजको स्थापना गर्नेक्रममा भ्रष्टाचारजन्य कार्यलाई नेपाली नागरिकहरुको साथमा रहेर नियन्त्रण गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ ।

२) भ्रष्टाचारले आज नेपालमा मात्र होइन विश्वलाई नै आक्रान्त पारिरहेको छ । मुलुकका हरेक पक्षहरुमा भ्रष्टाचारको उपस्थितीले गर्दा आम नागरिकहरु यसवाट प्रताडित हुनुपरेको छ । संविधानले सुनिश्चित गरेका समाजका आर्थिक लगायतका आधारभूत मानव अधिकारहरुको प्रचलनमा अवरोध सिर्जना भएको छ । यसवाट आम नागरिकलाई त्राण दिलाउनु मेरो कर्तव्य हुनेछ ।

३) भ्रष्टाचारले आम नेपाली नागरिकको जीवन, प्रतिष्ठा र मर्यादामा आंच पुर्‍याउने कुरामा हामी सचेत हुनुपर्छ । भ्रष्टाचारको नियन्त्रणबाट नेपालको समग्र क्षेत्रको बिकास गरी विश्व सभ्यताको चरम शिखरमा निसन्देह पुग्न सकिन्छ । तर यसको लागि आयोगको एक्लो प्रयासले मात्र सम्भव छैन । नेपाल सरकार आम नेपाली नागरिक तथा संचार जगतको समन्वयात्मक सहकार्यको आवश्यकता पर्ने कुरामा द्विविधा हुन सक्दैन । भ्रष्टाचारजन्य कसूरको बिषयमा आम विश्व समुदायले भ्रष्टाचारको विषयमा शून्य सहनशिलताको नारा बनाएको छ । नेपालले पनि यस सिद्धान्तलाई आफ्नो लक्ष्य वनाएको छ । यसलाई ब्यवहारमा उतार्ने प्रतिवद्धताका साथ मेरो यात्रा शुरु भएको छ । म आज यसै माध्यमद्वारा के ब्यक्त गर्न चाहान्छु भने भ्रष्टाचारयुक्त समाजको सिर्जना गरी आम नागरिकलाई आफ्नो मानवोचित जीवन निर्वाह गर्ने वातावरण सिर्जना गर्न प्रयत्नरत रहने छु ।

४) सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै जनताको जीवनस्तर उकास्ने सरकारी प्रयासलाई अख्तियारले नजिकबाट नियाल्ने छ । नागरिकता वितरण, राहदानी वितरण, लिखत पारित, उद्योगधन्दा दर्ता, वन पैदावरको उपयोग, कृषि बीउ–वीजन मल र प्राविधिक सेवा, निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, सामाजिक सुरक्षा, सडक, बत्ती, खानेपानी, टेलिफोन जस्ता जनसरोकारका आधारभूत सेवाहरु वितरणको अवस्थालाई आफ्नो निगरानीमा राखी सहज र सुनिश्चित बनाउन प्रयाश गर्ने छु ।

५) विकास योजनाहरु निर्धारित समयमा संचालन नगर्ने वा समयमै निर्णय प्रक्रियामा नल्याउनेहरुलाई कारवाही गर्ने आवश्यक कानूनी ब्यवस्थाको लागि पहल गर्ने छु ।

६। आयोगले कुनैपनि आग्रह÷पूर्वाग्रह नराखी निष्पक्ष ढंगबाट अनुसन्धान गर्ने प्रणाली स्थापित गर्ने छ, आफ्नो अनुसन्धानको कार्य प्रक्रियालाई परिणाममा हेर्ने नीति अवलम्वन गर्नेछु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीलाई प्रभावकारी, निष्पक्ष र पारदर्शी बनाउने छु । आयोगको विद्यमान कार्य प्रणालीलाई पुनरावलोकन गरिने छ । कार्य प्रणालीलाई पारदर्शी बनाइने छ । यसको लागि आवश्यक पर्ने कानूनहरु र नीतिहरुमा पनि पुनरावलोकन गरी आयोगलाई थप सुदृढ एवं शसक्त बनाउने छु । आयोगका कर्मचारीहरुको सदाचारिताको परीक्षण गरी आयोगवाटै सुदृढीकरणको थालनी गर्ने छु ।

७) राज्यको महत्वपूर्ण श्रोत राजश्व हो । राजश्वको बृद्धि विना आर्थिक उन्नति अर्थात विकास सम्भव छैन । यसर्थ राजश्व छली गर्ने जो सुकैलाई कानूनको दायरामा ल्याई आम जनतामा भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको क्रमिकरुपमा विकास गराउने छु ।

८) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतले आगामी केही दिनभित्र सर्वसाधारणलाई सुशासनको माध्यमबाट परिवर्तनको अनुभूति हुनेगरी नतीजा दिने प्रण गर्दछु । यो मेरो प्रयासमा आयोग परिवार र सम्वद्ध सबैको सहयोगको अपेक्षा राख्दछु ।

९) भ्रष्टाचार नियन्त्रण यस मुलुकको प्रमुख आवश्यकता हो । हाम्रा सामु भ्रष्टाचार नियन्त्रण गर्नु ठुलो चुनौतीको बिषय रहेको छ । मुलुकमा आम पद्धतिहरुलाई एउटा निश्चित दिशा दिएर जानसकेको खण्डमा भ्रष्टाचार नियन्त्रण हुनसक्ने मेरो मान्यता छ । सार्वजनिक व्यक्तिहरुको नैतिक आचरणमा सुधार ल्याई सदाचारीता पालन गराउनु, विद्यमान कार्यप्रक्रिया र पद्धतिहरुमा पारदर्शिताको गुञ्जायस कायम गर्नु तथा हरेक ब्यक्तिको जिम्मेवारीपनमा व्यापकतावाट मात्र भ्रष्टाचार नियन्त्रण हुनसक्ने भएकोले विद्यमान कानूनहरुको आवश्यकता अनुसारको संसोधन र नयां कानूनको निर्माणमा जोड दिनुपर्ने देखेको छु ।

१०) यसैगरी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचार बिरुद्धको महासन्धिको पक्ष राष्ट्र भैसकेको परिप्रेक्षमा नेपालका दायित्वहरु पनि सिर्जना भै सहकेका छन् । नेपालले अन्तराष्ट्यि क्षेत्रमा भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिवद्धता जाहेर गरिसकेको सन्दर्भमा महासन्धिमा भएको व्यवस्थालाई आत्मसाथ गरी सोही अनुकूल कानुन निर्माण देखि नीतिगत व्यवस्था देखि व्यवहारिक पक्षमा लाग्न म आफूलाई समर्पित गर्ने छु ।

११) आयोगले विद्यमान संविधान एवं कानूनहरु अनुकुल भ्रष्टाचार विरुद्धका रणनीति एवं कार्यनीतिलाई फुनरावलोकन गरी भ्रष्टाचार विरुद्धको अभियान लाई सशक्त बनाई जनताले सुशासनको अनुभूती गर्ने गरी नयां रणनीति तथा कार्यनीति तर्जुमा गरिने छ । आयोगका कार्यप्रणालीहरुलाई आधुनिक प्रविधियुक्त ९क्थकतझ ब्लबथिकष्क० बनाइने छ । त्यसको लागि आवश्यक पर्ने क्यातधबचभ तत्काल निर्माण गर्ने प्रयत्नरत रहने छु ।

१२) विशेष प्रकृतिका वा उच्च प्रविधियुक्त बिषयहरुको अनुसन्धानको लागि आयोगको जनशक्ति अपुग वा अपर्याप्त भएमा वाहिरका दक्ष जनशक्ति आपूर्ति गरी अनुसन्धान गराने नीति अवलम्वन गर्ने छु ।

१३) संविधानले नै कानूनी शासनको प्रत्याभूती गरेको परिप्रेक्ष्यमा सम्पूर्ण नागरिकहरुले कानूनी शासनको अनुभुत गर्ने पद्धतिको छिट्टै विकास गर्ने छु ।

१४) सरकारको कार्यप्रणाली एवं सुशासनको असल शासनको ध्बतअजमयन को रुपमा आयोग रहेको सन्दर्भमा सरकारका विभिन्न निकायहरुवाट सम्पादन हुने वा भैरहेका कामहरुको प्रभावकारी अनुगमन गरी जनतालाई आयोगको उपस्थितीको अनुभूत गराउन प्रयत्नरत छु ।

१५) जनताले तिरेको राजश्ववाट हामी सार्वजनिक व्यक्तिहरुले तलव भत्ता खाँदै आइरहेका छौँ । अतः जनताको आकांक्षा पूरा गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा रहेको छ, करको दायरामा नरहने कतिपय ब्यक्ति, व्यावशायी, प्रतिस्ठान वा निकायलाई करको दायरामा ल्याई आम जनतामा भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको क्रमिकरुपमा विकास गर्न पहल गर्ने छु ।

१६ कानूनको दृष्टिमा सवै नागरिक समान भएकोले कोही कसैप्रति दूराग्रह, पूर्वाग्रह नराखी आम नागरिकलाई कानूनी समानताको अनुभूती दिलाउने छु ।

१७) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको पदमा नियुक्तिका लागि सवैधानिक परिषद्ले सिफारिश गर्नुपूर्व र गरिसकेपछि मेरो बारेमा अनेकौं टिका टिप्पणीहरु भए । यी टिका टिप्पणी, आलोचना समालोचनालाई म नजिकबाट नियालिरहेको छु । लामो समयदेखि प्रचारमा आएका टिप्पणीहरुलाई हाम्रा जस्तो खुल्ला समाजमा हुने स्वभाविक वहस ठानेको छु र यसलाई सकारात्मक रुपमा पनि लिएको छु । लोकतन्त्रमा मर्यादित ढंगमा राख्न पाइने यस्ता विचारहरुले व्यक्ति, समाज र देशलाई नै सुधारको मार्गतर्फ उन्मुख गराउँछ भन्ने सोचले पनि मैले मेरो सम्बन्धमा व्यक्त विचारमा कुनै प्रतिक्रिया जनाउनु बान्छनीय देखिन । पछिल्ला दिनहरुमा भने केही व्यक्तिगत लाञ्छना लाग्ने गरी एकतर्फि ढङ्गबाट आएका अभिव्यक्तिहरुको सम्बन्धमा भने छोटकरीमा विनम्रतापूर्वक आफ्नो भनाइ राख्न चाहन्छु ।

क) जन आन्दोलनताका म तात्कालिन श्री ५ को सरकारको मुख्य सचिवको भूमिकामा थिएँ । मेरो कार्यानुभवमा मुख्य सचिव कुनै कार्यकारी पद होइन । मन्त्रिपरिषद्को निर्णय प्रमाणित गर्ने र अन्तर मन्त्रालय समन्वय गर्ने, मुख्य सचिवको समन्वयकारी र सहजकर्ताको भूमिकामा मात्र मैले आफूलाई केन्द्रित गरेको हुँ । यसर्थ, जन आन्दोलन दवाएको आरोपमा सत्यता नभएको हुँदा त्यही रुपमा सबैले बुझि दिन म आग्रह गर्दछु ।

ख) अर्को तर्फ २०५१ सालमा भएको सुन पैठारीको विषयमा त्रिभूवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखले आधार, प्रमाण र वास्तविकता सहित पेश गरेको रायलाई अनुमोदन मात्र गरेको विषयलाई लिएर आर्थिक विवादमा मुछिएको भनिएको पाएँ । सार्वजनिक ओहदामा निर्णायक भूमिकामा रहँदा गरेको कानून सम्मत निर्णयको सम्बन्धमा लागेको आरोपको विषयमा पुनरावेदन अदालत तथा सम्मानित सर्वोच्च अदालतबाट निर्दोष प्रमाणित भई सफाइ पाएको अवस्था हो । यस विषयमा सर्र्वाच्च अदालतबाट पुनरावलोकन गर्न नपर्ने गरी निर्णय पनि भै सकेको छ । कानूनी राज्यमा कानून बमोजिम भएका फैसलाको सम्बन्धमा न्यायमूर्तिलाई समेत विवादमा तानिदिंदा दुःख व्यक्त गर्नु बाहेक म के गर्न सक्छु र रु उल्लिखित फैसला पछि मेरो वृत्ति विकासमा दुई तह बढुवा हुँदा यी विषयहरु उठेनन् तर यी विषयहरु अहीले उठ्दा आश्चर्य लागेको छ ।

ग) म २० वर्षभन्दा बढी सार्वजनिक सेवामा स्थायी रुपमा सेवा गरेकै कारण निजामती सेवा ऐन तथा नियम अनुसार निवृत्तिभरण लिइरहेको व्यक्ति हुँ । कानुन अनुसार २० वर्ष स्थायी सेवा अवधि नपुगी निवृत्तिभरण दिन मिल्दैन । प्रचलित कानून अनुसार अवकाश लिई निवृत्तिभरण पाइरहेको अवस्थामा २० वर्ष सेवा अवधि नपुगेको भनी गरिएको प्रचार गलत भएको निवेदन गर्न चाहान्छु ।

घ) खुल्ला वहस र अन्तरक्रिया लोकतन्त्रका सुन्दर र सवल पक्ष हुन् । यसो भन्दैमा, व्यक्तिगत चरित्र, क्षमता र योग्यतामा आँच आउने गरी मिथ्या प्रचार भइदिंदा व्यक्तिका स्वतन्त्रतामा पनि असर पर्ने अवस्था पर्दोरहेछ । यसर्थ, व्यक्ति तथा संस्थाका विषयमा हुने टिका टिप्पणीमा तिनका भनाइ पनि समेटिदिने पत्रकारिताको न्यूनतम मान्यता पुरा गरिदिन पनि म विनम्रताका साथ आग्रह गर्दछु ।

ङ) प्रमुख आयुक्त पदमा नियुक्त हुनु अगाडि नै मेरो बारेमा भएका टिका टिप्पणीले मेरो काँधमा ठूलो जिम्मेवारी आएको मैले महसुस गरेको छु । कतिपय टिप्पणीहरु मेरा लागि मार्गदर्शन हुनेछन् । संक्रमणकालको यो अवस्थामा मुलुकलाई सुशासनको प्रत्याभूति दिन म प्रतिवद्ध छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर