म अब क्याप्टेन: दिनेश डीसी अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाज

२२ बैशाख २०७०, आईतवार १७:३२ मा प्रकाशित

० निर्देशकहरूकै नेता हुनुभएछ, कस्तो लागिरहेको छ?
– अवश्य नै राम्रो लागेको छ। निर्देशक भनेको चलचित्रको मस्तिष्क हो। मस्तिष्कको पनि क्याप्टेन हुन पाउँदा खुसी लागेको छ। ठूलो जिम्मेवारी छ, त्यो पूरा गर्नलाई चुनौतीका साथ अगाडि बढेको छु।
० तपाईंहरूको पार्टीगत हो कि स्वतस्फूर्त प्रतिस्पर्धा?
– स्वतन्त्र प्रतिस्पर्धा हो। पार्टीमा हामीले आफ्नो उम्मेदवारी दिएको कुरा पनि भनेका छैनौं। किनभने, यो स्वतन्त्र विचारका विशुद्ध पेसागतहरूको संगठन हो।
० यस समाजमा कति आबद्ध हुनुहुन्छ?
– संगठित र क्रियाशील सदस्य १ सय ४० जना हुनुहुन्छ। अरू साधारण सदस्य त धेरै हुनुहुन्छ।
० यसले के काम गर्छ?
– स्वाभाविक रूपमा निर्देशकहरूको हकहित र इज्जतका लागि यसले काम गर्ने नै भयो। त्यसबाहेक चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विधासँग राखेर यस व्यवसायको हित र प्रवर्द्धनका निम्ति काम गर्छ।
० चलचित्र निर्देशन क्षेत्रका समस्याहरू के–के छन्?
– प्रमुख समस्या भनेको नेपाली चलचित्रहरूलाई स्तरीय रूपमा राष्ट्रले सम्बोधन नगर्नु नै हो। यसलाई उद्योगको रूपमा स्वीकार नगर्नु पनि हो। नेपाल चलचित्रको बजार विस्तारीकरणका लागि संस्थागत पहल राज्यबाटै नगर्नु नै मुख्य समस्या हो। अहिले चलचित्रलाई रत्नपार्कमा बेचिने सामानजस्तो बनाउन खोजिँदै छ तर त्यस्तो होइन।
० चलचित्र निर्माताहरूबाट निर्देशकहरू निकै प्रताडित हुनुहुन्छ रे, वास्तविकता के हो?
– यो त कहीँ निर्माता प्रताडित भइरहेका हुन्छन् भने कतै निर्देशक। ‘स्व बिजनेस’को पहिले प्रकृति बुझ्न जरुरी छ। यसको दुनियाँ भनेको त्यहाँ उत्कृष्ट पाँचले मात्रै पैसा कमाउँछन्, अरूले त नाम न कमाउँछन्। ९५ जनाले त प्रताडित भएकै महसुस गर्छन्।
० निर्देशकहरूले महिला कलाकारलाई निकै शोषण गर्छन् रे नि!
– त्यस्तो हुँदैन। यो ‘स्व बिजनेस’ भएकाले समाचारमा आउने कुरा मात्रै हो। शोषण त समाजका हर गल्लीमा भइरहेकै हुन्छ नि! त्यसमा दुवै पक्ष दोषी हुन्छ।
० के यस्ता समस्या रोक्न निर्देशक समाजले आचारसंहिता बनाएको छ त?
– प्रकृतिको सिद्धान्तमै जीवन चल्ने हो। आफ्ना बाउलाई सम्मान गर्नुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ भन्ने सिद्धान्त कहीँ लेखिराख्नु पर्दैन। यो त सामान्य सिद्धान्त नै हो नि!
० चलचित्रका कलाकारलाई निकै राजनीति लाग्ने गरेको छ नि, किन होला?
– जब गाँस, बास र कपासको समस्याबाट माथि उठेकाहरू विचार र मुद्दाहरूको राजनीति गर्छन्। त्यस्ता मान्छेहरूले व्यक्तिको व्यक्तित्वलाई हेर्छन्। अब हाम्रो जस्तो संक्रमणकालमा रहेको मुलुकमा कुनै न कुनै पार्टीमा आबद्ध नहुञ्जेल केही काम गर्न सकिँदैन। त्यसैले यो बाध्यात्मक अवस्थाको उपज पनि होला। तर, म चाहिँ विद्यार्थी जीवनदेखि नै एमालेमा छु र भोलि पनि रहनेछु।
० तपाईं त एमालेको जनपक्षीय चलचित्रकर्मी संघको पनि उपाध्यक्ष पनि हुनुहुन्छ, दुवै कामको व्यवस्थापन कसरी गर्नुहुन्छ?
– अहिले प्राविधिक युग हो। प्रविधिलाई प्रयोग गर्ने हो। हामी इमेल, एसएमएसमार्फत नै कैयौं मुद्दाहरूमा आफ्नो विचार राख्न सक्ने अवस्थामा छौं। यो कुनै दोकान होइन। विचारलाई सम्पे्रषित गराउने हो, त्यसैले मलाई समयको व्यवस्थापन गर्न खासै समस्या छैन।
० सबै चलचित्रकर्मी माओवादी भए भन्छन्, तपाईं त अपवाद नै हुनुभएछ नि!
– म त कलेजको समयदेखि नै एमालेसँग निकटतम थिएँ। अखिलमा आबद्ध भएर काम गरें। एमाओवादी त अतिवादी शक्ति हो। म त्यस्तो हुलदंगामा विश्वास गर्ने मान्छे होइन। अहिले माओवादीमा प्रवेश गरेका कतिपय मान्छे टीका पुछेर बसेका छन्।
० तपाईं चलचित्र क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ?
– २१ वर्षदेखि छु।
० हालसम्म कतिवटा चलचित्रको निर्देशन र अभिनय गर्नुभएको छ त?
– निर्देशन त तीनवटा मात्रै गरेको छु। अभिनय त ५६ वटा गरेको छु। जसमा दुईटा विदेशी चलचित्र छन्।
० यसमा लागेर के कमाउनुभयो, के गुमाउनुभयो?
– जे जति अहिले मसँग छ, त्यो यसैबाट कमाएँ। नाम, सम्पत्ति, इज्जत र प्रतिष्ठा मसँग छ। अथवा केही बदनाम भए पनि यसैको प्रतिफल हो। संसारका मानिसले सबै काम गर्नै सक्दैनन् र भ्याउँदैनन् पनि। आवाज अभिनय र निर्देशनको संसारमा स्थापित भएँ। त्यसैले केही गुमाएजस्तो लाग्दैन।
० तपाईंको वास्तविक हिरो को हो?
– मेरो हिरो सन्तोष पन्त र विजय गिरी हुनुहुन्छ। उहाँहरूले नै यस क्षेत्रमा मलाई प्रशिक्षित गर्नुभएको हो। त्यसपछि मैले अर्को आदर्श उद्योगपति विनोद चौधरीलाई मान्छु।
० बिहे गर्नुभयो?
– मेरी छोरीको बिहे हुने बेला भयो।
० राजनीतिमा तपाईंले देखेको हिरो को हो?
– मदन भण्डारी।
० उहाँलाई भेट्न पाउनुभयो त?
– उहाँले काठमाडौं क्षेत्र नं. १ बाट चुनाव लड्दा म पनि ‘क्याम्पियन’मा थिएँ। अचानक मदन भण्डारी म भएको बुथमा आउँदै हुनुहुन्छ भन्ने हल्ला चल्यो। उहाँ गाडीबाट ओर्लिएर अगाडि आउनुभयो र ‘दिनेशजी’ भनेर हात मिलाउनुभयो। उहाँले त्यसो गर्दा म हर्षविभोर भएँ। पछि पो थाहा भयो, उहाँ त त्रिभुवन विश्वविद्यालय तथा कीर्तिपुरका गाउँ–गाउँमा भएको कार्यक्रममा सहभागी भएकाले मलाई राम्ररी चिन्नुहुँदो रहेछ। अहिले पनि मलाई मदनको झल्झली याद आइरहन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो