असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन कोइराला र प्रचण्डबीच छलफल

२१ बैशाख २०७०, शनिबार ०५:५२ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । निर्वाचन आयोगले दल दर्ताको अभियान सुरु गरे पनि निर्वाचनको मिति घोषणा गर्न सरकार सक्षम नभएको भन्दै प्रमुख चार राजनीतिक दलका नेताहरूले आलोचना गर्न थालेका बेला वैशाख महिनाभित्रै मिति तोक्ने तयारी सरकारले गरेको बुझिएको छ । मिति तोक्ने विषयमा मन्त्रीपरिषदभित्रै सहमति बन्न नसकेकोले अहिलेसम्म यो प्रक्रिया लम्बिन पुगेको स्रोतको कथन छ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी अहिले मिति तोक्ने पक्षमा नभएका र केही मन्त्रीहरु भने आलोचनाबाट बच्नका लागि मात्र भए पनि तत्काल तिथि तोक्नुपर्ने पक्षमा रहेको सुत्रको दाबी छ । दलहरुबीच सहमति नबनेसम्म मिति तोकेर मात्र केही नहुने भन्दै रेग्मी दलको बाटो हेरिरहेका छन् भने दलहरु चाहिँ वैद्यपक्षीय माओवादी र उसको नेतृत्वमा रहेका ३३ दलको बिरोधका कारण अलमलमा परेका छन् । 
यसैक्रममा संविधानसभा निर्वाचनको विषयलाई लिएर असन्तुष्ट बनेका दलहरूलाई निर्वाचनमा सहभागी गराउनैपर्ने निष्कर्षमा दुई प्रमुख दलका नेताहरू सहमत भएका छन् । उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच यस विषयमा छलफलका लागि शुक्रबार भेटघाट भएको छ । भेटमा निर्वाचनप्रति असन्तुष्ट दलहरूलाई मनाउन प्रयास गर्ने सहमति बनेको बताइएको छ ।
दुई नेताबीच निर्वाचनको सुनिश्चितताका लागि असन्तुष्ट दलले उठाएका मागलाई सम्बोधन गर्न सामूहिक र एकल प्रयास गर्ने निचोड निस्किको एक कांग्रेस नेताले बताए । भेटमा नेकपा–माओवादीसहितका आन्दोलनरत ३३ दलको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफल भएको थियो । छलफलमा संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश चाँडो जारी गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नेताहरू सकेनन् । सो अध्यादेश जारी गर्नुअघि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधित्वको संख्या विगत संविधासनभाको तुलनामा घटाउन नहुनेलगायतका विषयमा असन्तुष्ट दलहरूले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा दुई शीर्ष नेताबीच छलफल भएको बताइएको छ ।
असन्तुष्ट दलहरूले १ प्रतिशतभन्दा कम मत ल्याउने दललाई समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधित्व नगराउने भन्ने प्रमुख दलहरूको सहमतिको चर्को रूपमा विरोध गरिरहेका छन् । सो सहमति खारेजीको माग गर्ने दलहरूलाई दलीय प्रतिनिधित्व निर्वाचनमार्फत संविधानसभामा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको थियो । कोइराला र दाहालले हालसम्म उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको वातावरण निर्माण गर्न गरेको प्रयासको समीक्षा गरिएको थियो ।
असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराउन मनाएपछि मात्र उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने विषयमा दुवै नेता सहमतिमा पुगेका थिए ।
प्रमुख चार दल एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक समितिको संयोजकको रूपमा एमाओवादी अध्यक्ष दाहाल चैत मसान्तसम्म थिए भने वैशाखमा कांग्रेस सभापति कोइराला समिति संयोजक छन् । जेठमा एमाले अध्यक्ष झलनाथ खनालको पालो छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।