अब आउँछ संविधान: प्रोफेसर एवम् नेपालविज्ञ -एसडी मुनी

२२ चैत्र २०६८, बुधबार १९:३४ मा प्रकाशित

जवाहरलाल नेहरू विश्वविद्यालय नयाँदिल्लीका प्रोफेसर एवम् नेपालविज्ञ एसडी मुनी नेपालमा सङ्घीय लोकतन्त्रको संस्थागत विकास भएको हेर्न चाहन्छन् । शान्ति र संविधानको सुनिश्चितताको वातावरण बन्दै गएकाले जेठ १४ भित्रै नेपालले नयाँ संविधान पाउने कुरामा उनी ढुक्क छन् । प्रमुख दलका शीर्ष नेताहरू सहमति र सहकार्यका साथ अगाडि बढ्न तयार भएकोले पनि नेपालमा अब शान्ति र संविधानको विकल्प नभएको उनको भनाइ छ । नेपालमा राजसंस्था फर्काउन भारतले नचाहेको बताउने मुनी अहिले नेपाल-भारत सम्बन्ध विषयक सम्मेलनमा भाग लिने क्रममा काठमाडौंमा छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीका प्रमुख अंश :

जेठ १४ भित्र संविधान आउला ?

आउँछ, निश्चिन्त हुनुस् । कस्तो र कुन स्वरूपको संविधान आउँछ भन्नेमा बहस हुन सक्ला । तर, अब संविधान रोक्न सक्ने हिम्मत कोहीसँग पनि छैन ।
शान्तिप्रक्रिया टुङ्गिएला ?
टुङ्गिन्छ, टुङ्गिने दिशामा नेपाल अगाडि बढिसक्यो । दलहरूबीच सहमति पनि भइसकेको छ । सातबुँदे सहमतिअनुसार नै अगाडि बढ्ने निर्णय
भइसकेकोले सानातिना विवादले अब यो प्रक्रिया रोकिँदैन ।

बाबुराम भट्टराईकै नेतृत्वमा शान्ति र संविधानको काम पूरा होला ?

पूरा हुन्छ, म पूर्ण विश्वस्त छु । शान्ति र संविधान निर्माणको काम प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा सम्पन्न हुन्छ । अहिले तत्काल सरकार परिवर्तनको कुरा गर्नुभन्दा पनि समयको पावन्दीलाई बुझेर शान्ति र संविधानलाई अगाडि बढाएर जानुको विकल्प छैन । त्यसैले सरकार परिवर्तन गर्न अहिले दलहरू लाग्नुहुन्न । शान्तिप्रक्रिया टुङ्गिएपछि र संविधान जारी भएपछि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दलहरू लाग्नुपर्छ ।
राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा ?
शान्ति र संविधान निर्माणको काम सकिएपछि काङ्ग्रेसकै नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्छ भनेर प्रचण्डले नै मसँग भनिसकेका छन् । त्यसैले अब चुनावी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्नुपर्छ । काङ्ग्रेसभित्रको आन्तरिक द्वन्द्वले केही असर पार्नसक्छ । तर, त्यो पनि मिल्छ । काङ्ग्रेसकै नेतृत्वमा सहमतिको सरकार बनाउनु उपयुक्त हुन्छ ।

काङ्ग्रेस नेतृत्वमा सहमतिको सरकार बन्नसक्ला ?

किन नसक्नु, माओवादी र काङ्ग्रेस मिलेपछि असम्भव के छ ?

माओवादी अध्यक्षको नेतृत्वमा सरकार बन्ने अवस्था देख्नुहुन्न ?

अहिले मैले बुझेअनुसार प्रचण्ड नै प्रधानमन्त्री बन्न तयार देखिनुहुन्न । बाबुरामजीलाई नै उहाँ समर्थन गरिरहनुभएको छ । बाबुरामपछि काङ्ग्रेसको नेतृत्वमा सरकार बनाएर उहाँ चुनावमा जाने पक्षमा म देख्छु । त्यसपछि प्रचण्डजी मुलुक राष्ट्रपतीय पद्धतिमा गए राष्ट्रपति बन्नुहोला, प्रधानमन्त्रीय पद्धतिमा गए प्रधानमन्त्री बन्नुहोला । तर, चुनावपछि प्रचण्डजी नै बन्नुहुन्छ ।

तपाईंको प्रचण्डजीसँग धेरै राम्रो सम्बन्ध छ भन्छन् नि ?
मेरो सबैसँग सम्बन्ध छ । म नेपाल आउँदा सबैसँगै भेट्ने गर्छु, प्रचण्डसँग पनि मेरो राम्रो सम्बन्ध छ । शान्तिप्रक्रियामा गिरिजाप्रसाद कोइरालापछि प्रचण्डले निर्वाह गरेको भूमिकाको म प्रशंसा गर्छु ।

सङ्घीयतामा धेरै जटिलता छ, कसरी संविधान जारी होला त ?

नेपालमा सङ्घीयता स्वीकार नगरेको संविधान जारी हुनै सक्दैन । सङ्घीयतालाई स्वीकारे सङ्घीयताको संरचना कस्तो हुने भन्ने विषयलाई पछि टुङ्ग्याउने गरी आधा अधुरो संविधान जारी हुन सक्छ । संविधान जारी भएपछि निर्वाचित हुने संसद्ले बाँकी विषयमा छलफल गरेर टुङ्ग्याउँछ । पहिला सङ्घीयता स्वीकार गर्नुस्, बाँकी विषय पछि छलफल गरेर टुङ्ग्याउन सकिन्छ ।

सङ्घीयताबिनाको अपुरो संविधान जारी हुन दिन्नौँ भनेर स्वयम् दलहरूले नै बताइरहेका छन् नि ?


संविधान निर्माण हुनासाथ अन्तिम हुँदैन, जनताको हितको पक्षमा संशोधन गर्दै अगाडि बढ्न सकिन्छ । भारतमा पनि त पचासौँपटक संविधान संशोधन भएको छ नि । पहिला सङ्घीयता स्वीकारेको संविधान बन्नुपर्‍यो, त्यसपछि कस्तो सङ्घीयता, कति प्रदेश भन्ने कुरा मिलाउँदै लान सकिन्छ । संविधान जारी भएपछि सङ्घीयतामा रहेको विवाद पनि मिलाउँदै जान सकिन्छ । पहिला संविधान त जारी गर्नुपर्‍यो नि ।
नेपालमा राजतन्त्र फेरि फर्किने सम्भावना कत्तिको देख्नुहुन्छ ?
नेपालमा राजतन्त्र अब कहिल्यै आउँदैन । नेपालमा राजतन्त्र ब्युँताउने कुरामा भारतको सरकार, राजनीतिक दल र जनता कसैको पनि समर्थन रहँदैन । राजतन्त्र फर्काउने प्रयास सफल हुनै सक्दैन । पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय नेताहरूले समेत कहिल्यै पनि राजतन्त्र ब्युँताउने कुरा गरेका छैनन् ।

तर, राजालाई भारतको सहयोग छ भन्छन् नि त ?


नेपालमा लोकतन्त्रलाई समर्थन छ, अहिले भारतले ज्ञानेन्द्रलाई समर्थन गर्ने कुनै सम्भावना मैले देखेको छैन । भारतलाई मैले जसरी बुझेको-जानेको छु कोही पनि ज्ञानेन्द्रलाई समर्थन गर्ने पक्षमा छैन ।

तर, विभिन्न नाममा उनी सक्रिय हुन खोज्दै छन् त ?


शान्ति र संविधान निर्माणमा देखिएको अन्योलको फाइदा उठाउन उनी सक्रिय भएका हुन् । दलहरूले शान्ति र संविधान निर्माणमा ध्यान केन्द्रित गरे अन्योलको फाइदा लिन खोज्नेहरू आफैं समाप्त भएर जान्छन् । नेपालको अन्योलबाट अल्ट्रा राइटिस्ट र लेफ्टिस्टले फाइदा उठाउने प्रयास गरेका छन् । ‘राजा’को सक्रियता र माओवादीमा आएको फुट पनि त्यसको उदाहरण हो ।

तर, नेपालमा त भारतीय भूमिका महत्त्वपूर्ण मानिन्छ नि ?

नेपालका नेताहरूले आफ्नो शक्ति देखाउन भारतको समर्थनको कुरा गर्ने गरेका हुन् । भारतलाई नेपालमा के गर्ने भन्दा पनि अमेरिका, चीन र पाकिस्तानको विषयमा के गर्ने भन्नेमा छलफल गर्दैमा फुर्सद छैन । भारतको चाहना नेपालमा शान्ति, लोकतान्त्रिक संविधान स्थायित्व, विकास र लोकतन्त्र मात्रै हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी