‘विदेशीप्रभु’सँग प्रचण्ड लम्पसार !

१७ बैशाख २०७०, मंगलवार २२:१६ मा प्रकाशित

काठमाडौ, १८ वैशाख । एनेकपा माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणलाई व्यक्तिगत राजनीतिक फाइदाका लागि अत्याधिक उपयोग गर्ने प्रयास गरेको बुझिएको छ । भारतसँग बेलाबखत जोरी खोज्ने गरेका उनले दिल्लीमा भारतीय सत्तासमक्ष विगतमा गल्ती गरेको भन्दै माफी समेत मागे भने भारतीय नेता र उच्च अधिकारीसँगको भेटमा भारतलाई राम्ररी चिन्न नसकेको भन्दै आइन्दा त्यस्तो गल्ती नहुने कसम समेत उनले खाएका छन् । नयाँदिल्लीस्थित उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननलगायतका अधिकारीसँगको भेटमा उनले विगतका कमीकमजोरीबाट आफूले पाठ सिकेको खुलेरै बोले । आगामी दिनमा आफूलाई भारतले सहयोग र समर्थन गरे आफूले भारतको हितमा सहयोगी भूमिका निभाउन सक्ने बुँदाहरू प्रचण्डले प्रस्तुत गरे, जसमा जलस्रोत र सुरक्षामा भारतीय स्वार्थलाई सघाऊ पुग्ने विषय छन् । कर्णाली चिसापानी जलविद्युतलगायतका आयोजनामा भारतीय लगानीको सम्भावनालाई प्रचण्ड स्वयंले औंल्याए । आगामी चुनावमा आफूलाई सहयोग गरेमा भारतलाई समेत फाइदा हुने उनको तर्क गरेको स्रोतको भनाई छ । नेपालबाट भारतमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न आफूसँग मात्र सामथ्र्य र योजनाहरू रहेको दाबी समेत प्रचण्डले प्रस्तुत गरे । नेपालभित्र माथिल्लोदेखि तल्लो तहको जनतासम्म पकड बलियो भएको दाबी गर्दै भारतविरोधी गतिविधिलाई रोकेर नयाँ माहोल सृजना गर्न सक्ने समेतको व्याख्या गरे ।
गत महाधिवेशनबाट माओवादीका नयाँ अवधारणा तयार भएको र त्यसमा भारतविरोधी शब्दहरू हटाइएको समेत प्रचण्डले भेटमा उल्लेख गरे । भारतविरोधी लाइनमा मोहन वैद्य समूह रहेको र उनीहरू पार्टीबाट अलग भइसकेकाले आफ्नो दल भारतसँग मिलेर जान इच्छुक रहेको प्रचण्डको भनाई थियो । भारतलाई हेर्ने दृष्टिकोणकै सवालमा पार्टी विभाजन भएको र आफूले भारतसँगको सम्बन्ध बढाउनकै लागि खतरा मोलेको उल्लेख गर्दै सहयोगको याचनाहरू गरे । स्रोतका अनुसार भारतीय पक्षले भारतको स्वार्थमा माओवादीले के के गर्न सक्छ भनी जिज्ञासा राखेको थियो । उनीहरूले जलस्रोत, सीमा, नेपाली भूमिबाट हुनेगरेका भारतविरोधी गतिविधि, चीनप्रति प्रचण्डको झुकाव लगायतबारे समेत चासो लिएका थिए । प्रचण्डले चीनको समेत नेपालमा चासो बढेको र उसको भूमिकालाई हदभन्दा माथि नाघ्न नदिन त्रिदेशीय समझदारी आवश्यक रहेको तर्क गरेका थिए । यद्यपि भारतीय पक्ष प्रचण्डको तर्कबाट सतर्क भएको छ । भारतीय पक्षले द्विपक्षीय सहयोग अभिवृद्धिमै जोड दिई त्रिपक्षीय समझदारीलाई लत्याइदियो । चिनियाँ सहभागिताबारे भारत सकारात्मक छैन । विगतमा समेत भारतविरुद्ध चिनियाँ कार्ड प्रयोग गरेको बुझाई भारतीय पक्षको रहेको छ । प्रचण्डले लुम्बिनी विकासमा चीनलाई सहभागी गराउन खुलेर लागेकोबारे समेत भारतीय पक्षले प्रश्न ग¥यो । प्रचण्डले चाहिं भारतसमेत संलग्न भएर लुम्बिनीको विकास गर्नुपर्नेमा जोड दिए ।
जनयुद्धकालमै भारतले सहयोग गरेको, दिल्लीमा १२ बुँदे समझदारी गराउन भारतले भूमिका खेलेको र नयाँ संविधान बनाउन समेत भारतकै भूमिका अनिवार्य रहेको भन्दै आफूले मात्र शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो संविधान निर्माण पूरा गर्न सक्ने दाबी प्रस्तुत गरे । अन्य दलको नेतृत्वकर्ताहरूको कमजोरी उल्लेख गर्दै आफूले मात्र नेपालको सही नेतृत्व गरी भारतको हितमा भूमिका खेल्न सक्ने भन्दै पटक–पटक सहयोगको याचना प्रचण्डले गरेका थिए ।
भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँगको भेटमा चाहिँ प्रचण्डले कडा प्रश्नहरूको सामना गर्नुप¥यो । भेटका सहभागी सिंहनिकट एक नेताका अनुसार हिन्दू धर्ममाथि माओवादीले प्रहार गरिरहेकोबारे जिज्ञासा राखे । ‘तपाईंहरूको हिन्दू धर्म र संस्कृतीप्रतिको धारणा के हो ?’ सिंहले गरेको प्रश्न उदृत गर्दै स्रोतले भन्यो ‘अमेरिकीहरूले जतिसुकै भौतिक विकास गरेपनि स्वःधर्म र संस्कृतिको जगेर्ना छाडेका छैनन् ।’ राजसंस्था अन्त्य भइसकेकाले पुनःस्थापना हुनुपर्ने पक्षमा नरहेको तर नेपाल हिन्दु अधिराज्य बन्नुपर्ने भाजपाको भित्री धारणा रहेको राजनाथले स्पष्ट प्रस्ट्याउँदा प्रचण्डले चाहिं आफूहरूले हिन्दु धर्म र संस्कृतिविरुद्ध क्रियाकलाप नगरेको दाबी गरेका थिए । माओवादी रुपान्तरण भइसकेको र अतिवादी शक्तिहरू फुटेर गइसकेको उल्लेख गर्दै दोष जति मोहन वैद्य समूहको टाउकोमा थोपर्न उनले बाँकी राखेनन् । भारतविरोधी गतिविधि र भारतीय लगानीमाथि आक्रमण समेत आफूहरूले नभई वैद्य समूहले गरिरहेको उनको भनाई थियो । यस्तै क्रियाकलाप गरेकाले आफूले पार्टी फुट्दा समेत नरोकेको र जोखिम मोलेको तर्क गरे ।
जसलाई भेट्यो त्यस्तै बनेर कूटनीतिक सफलता हासिल गर्ने प्रयास प्रचण्डले भारतमा समेत गरे । उनले आफू भारतको असल मित्र र सहयोगी रहेको दाबी गर्दै विगतको गल्तीप्रति क्षमायाचना गरे । भारतीयहरू दाहालको याचनाबाट दंग परेका छन् तर उनलाई पत्याइहालेका छैनन् । कहिले भारतविरुद्ध सुरुङयुद्ध त कहिले मित्रशक्ति भन्दै हात फिजार्दै अंकमाल गर्न भारत पुग्ने शैली, कहिले विदेशी प्रभु भन्दै गालीगलौज गर्ने त कहिले आफूलाई भारतभक्तका रुपमा आफूलाई प्रस्तुत गर्ने रणनीतिलाई पत्याइ नहाल्लान् । उनलाई भ्रमणमा डाकेर महत्व दिए पनि भारतीयहरूले नाडी छाम्ने उपाय अपनाएको देखिन्छ । लाभ हासिल गर्न सकिन्छ कि भनी उनी सहयोग र समर्थनका लागि लम्पसारै परेर याचनाहरू गरिरहे ।
प्रचण्डसँग तय भएका केही भेटघाटहरू रद्द भए । भारतीय लोकभामा विपक्षी दलको नेता सुष्मा स्वराज भेट्न पुगिनन् । प्रचण्डलाई भेट्न उनी होटल ओबरायमा पुग्ने तय भएको थियो । मुलायम सिंह यादवसँगको भेट समेत रद्ध भयो । भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाहेक सत्तारुढ कंग्रेस आईका नेताहरूसँग भेटघाटको समय तय भएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको