कांग्रेस–एमालेबीच चुनावी तालमेल : कति सम्भव कति असम्भव ?

१२ बैशाख २०७०, बिहीबार ०७:५८ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । औपचारिक रुपमा दुईपक्षीय छलफल सुरु नभए पनि प्रजातन्त्र र राष्ट्रियताका सवालमा निकटता बढ्दै गएपछि आगामी संसदीय निर्वाचनमा कांग्रेस र एमालेबीच कुनै नै कुनै रूपको चुनावी तालमेल हुनसक्ने सङ्केतहरू देखिएका छन् । यस विषयले कांग्रेस केन्द्रीय कार्यसमितिमा यस विषयले प्रवेश नपाइसकेको भए पनि कांग्रेस सभापति सुशील कोइरालाले एमालेसँग चुनावी तालमेल हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएपछि यो विषयले एकप्रकारको तरङ्ग त पैदा गरेको छ । तथपि, कार्यसमितिमा सामान्य छलफलसम्म नभएको र अधिकांश स्थानमा काङ्गे्रसको एमालेसँग नै मुख्य प्रतिस्पर्धा हुने भएकाले एमालेसँग ‘राष्ट्रियस्तरमै’ चुनावी तालमेल हुने सम्भावना भने कम रहेको विश्लेषकहरुको बताउँछन् ।
पछिल्लो समयमा एमालेसँग काङ्गे्रसको निकटता बढेको छ र कांग्रेसका सबैजसो नेतामा यो निकटतालाई सुदृढ एवम् दिगो बनाउने चाहना पनि देखिन्छ । तथापि चुनावी तालमेलका विषयमा भने कांग्रेस नेताहरूको धारणा केही भिन्न छ । यस सम्बन्धमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलको ध्यानाकर्षण गर्दा उहाँको भनाइ छ, ‘केन्द्रीय र राष्ट्रियस्तरमै चुनावी गठबन्धन गर्ने स्थिति छैन । एमालेसँग कुनै न कुनै रूपको सामान्य समझदारी हुनसक्छ । जुन निर्वाचन क्षेत्रमा काङ्गे्रस र एमाले दुवैले जित्न नसक्ने अवस्था रहन्छ त्यहाँ एकले अर्कोलाई समर्थन गर्ने स्थिति बनाउन सकिन्छ । त्यसको संयोजन पार्टी केन्द्रीय समितिले नै गर्नुपर्न हुन्छ ।’
नेपाली काङ्गे्रसका अर्का प्रभावशाली नेता डा. रामशरण महतको भनाइ पनि पौडेलसँग मिल्दोजुल्दो छ । यस सन्दर्भमा डा. महतले भन्नुभयो, ‘पछिल्लो समयमा काङ्गे्रस र एमालेबीच जुन प्रकारको समझदारी विकास भएको छ, यो आफैँमा सकारात्मक छ । हामी दुई पार्टीबीचको समझदारी बढ्दा राष्ट्रियता र प्रजातन्त्रको रक्षा र विकासमा ठूलै योगदान पु¥याउन सकिने मेरो विश्वास छ । काङ्गे्रस–एमालेबीचको समझदारीलाई अझै प्रगाढ र दिगो बनाइनुपर्छ भन्ने मलाई लाग्छ ।’ चुनावी तालमेलको सम्भावनाचाहिँ कत्तिको छ नि भन्ने हाम्रो जिज्ञाशा मेट्दै डा. महतले भन्नुभयो, ‘केन्द्रीयस्तरमा सहमति भएर राष्ट्रियस्तरमै तालमेल गर्ने कुरा व्यावहारिक नहुन सक्छ । तर, चुनाव क्षेत्रको स्थिति अध्ययन गरेर कहाँ कसले कसलाई समर्थन गर्ने भन्ने सहमति बनाएर अघि बढ्न सकिन्छ । त्यस्तो आवश्यक पनि छ ।’
विचार र व्यवहारले काङ्गे्रस र एमालेको सम्बन्ध सुमधुर एवम् सुदृढ तुल्याउँदै लगेको भए पनि चुनावी मैदानमा यी दुई पार्टीबीच नै मूख्य प्रतिस्पर्धा हुने स्थिति विद्यमान छ । संसदीय प्रजातन्त्रमा पटकपटक भएका निर्वाचनमा जनविश्वास आर्जन गर्न सफल काङ्गे्रस र एमालेको जनाधार अन्य पार्टीको भन्दा राष्ट्रियस्तरमै बलियो देखिन्छ । एमाओवादीले गत निर्वाचनमा ठूलो दलको हैसियत बनाउन सक्नुका अनेकौँ कारण थिए । त्रास, आतङ्क, धाँधली र चुनावी ‘ट्याक्टिस’ले मात्र एमाओवादीले ठूलो दलको हैसियत बनाएको नभई जनसाधारणमा ‘यसले केही गर्छ कि हेरौँ’ भन्ने भावनाले पनि काम गरेको थियो । एमाओवादी आँधी–बेहरीजस्तै गरी आयो र अहिले ‘हावा खुस्किएको बेलुन’को नियति भोगिरहेको छ । एमाओवादीमा विभाजन आएको छ, प्रचण्डलगायत एमाओवादी नेताहरू नराम्रोसँग ‘एक्स्पोज’ भएका छन्, एमाओवादीको हैसियत र नियत बुझेका कारण जनता अब उनीहरूसँग नडराउने तहमा पुगेका छन्, निर्वाचनलाई सङ्घर्षको मैदानको रूपमा प्रयोग गर्दै ‘जसरी भए पनि जित्ने’ योजना अब कार्यान्वयन हुने स्थिति छैन, त्यसैले एमाओवादीले आगामी निर्वाचनमा तेस्रो स्थान प्राप्त गर्न पनि ठूलै कसरत गर्नुपर्ने देखिन्छ ।
एमाओवादी यसरी कमजोर भएका कारण देशका अधिकांश चुनाव क्षेत्रमा काङ्गे्रस र एमालेकै बीचमा प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । यसरी दुई दलबीच मुख्य प्रतिस्पर्धाको स्थिति भए पनि एकप्रकारको चुनावी समझदारी बन्ने सम्भावना भने विकसित भएको छ । केन्द्रीयस्तरका खासखास नेताहरूलाई जिताउन निश्चित क्षेत्रमा एक–अर्काेले कमजोर उम्मेदवार पेस गर्न, दुवै दलले केन्द्रीय तहमा विशेष कार्यदल बनाई चुनावी स्थितिको जायजा लिने र जुन क्षेत्रमा काङ्गे्रस–एमालेबाहेकका उम्मेदवार बलियो देखिन्छ ती क्षेत्रको पहिचान गरी सम्बन्धित क्षेत्रमा चुनावी तालमेल गर्ने, काङ्गे्रस र एमालेबीच कुनै क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको स्थिति उत्पन्न भएमा त्यसलाई सहज र सरल तुल्याउने तथा अन्य पक्षले काङ्गे्रस–एमालेलाई आक्रमण गरी अप्ठ्यारो पारेमा एक–अर्कालाई सहयोग पु¥याउने स्थिति बनाउन काङ्गे्रस–एमालेबीच केन्द्रीय तहमै सहमति हुने सम्भावना देखिएको छ । यसरी दुई प्रजातान्त्रिक शक्तिबीच समझदारी बनेमा चुनावी परिणाम काङ्गे्रस–एमालेकै पक्षमा आउने निश्चित मानिन्छ । तर, काङ्गे्रस–एमालेबीच त्यसप्रकारको समझदारी बनेमा त्यसलाई तोड्न प्रचण्डले भरमग्दुर प्रयास गर्ने सम्भावनालाई भने इन्कार गर्न सकिन्न । एमाओवादीका तर्फबाट हुनसक्ने सम्भावित षड्यन्त्रप्रति सचेत रहँदै उनीहरूको छलकपटलाई चिर्ने सामथ्र्य कांग्रेस–एमालेले दर्शाउन आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।