ध्वंसवादी प्रचण्डको नाम ‘कमरेड निर्माण’ :: अर्जुन मल्ल

११ बैशाख २०७०, बुधबार ०९:११ मा प्रकाशित

०४७ मा पार्टी एकता भएपछि ०४८ मङ्सिरको महाधिवेशनसम्म प्रचण्डको पार्टी नाम कमरेड ‘निर्माण’ थियो । करिबकरिब सबैजसो नेता नै ध्वंसवादी (ध्वंस मात्र गर्न जान्ने, निर्माण गर्न नजान्ने) भएको देशमा अझ सबभन्दा धेरै ध्वंस गरेका प्रचण्डको नाम करिब दुई वर्षसम्म कमरेड निर्माण थियो भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ ।
महाधिवेशनअगाडि मशाल समूहमा पुष्पकमल दाहालको पार्टी नाम प्रचण्ड नै थियो । तर, सबैतिर ध्वंस र भताभुङ्ग देखेर तथा मैले निर्माण गर्न सक्छु भन्ने लागेर होला अथवा प्रचण्ड नाम चर्को उग्रवादी लागेर हुन सक्छ, प्रचण्डले नाम परित्याग गरेर ०४७ सालमा पार्टी एकता भएपछि कमरेड निर्माण राखे । निर्मल लामाले प्रचण्ड नामभन्दा पनि पुष्पकमल दाहाल अर्थात् सही नामबाट नै चिनाएर जानु उपयुक्त हुन्छ भन्ने सुझाव प्रचण्डसँग राखेका थिए तर प्रचण्डले निर्माण नाम राखे । यो निर्माण नाम ठीक छैन भनेर किरण, रवीन्द्र श्रेष्ठलगायतले असहमति जनाए । जनयुद्ध गर्न जाने हो भने निर्माण नाम हास्यास्पद हुने, बरु प्रचण्ड नाम नै सही हुने तर्क उनीहरूको थियो ।
०४८ को महाधिवेशनपछि कमरेड प्रचण्ड महासचिव बने । यसबेला प्रचण्ड ३७ वर्षका युवा नेता थिए, जब कि अहिले २०७० सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ ४७ वर्षका र नन्दकिशोर पुन ‘पासाङ’ ४९ वर्षका भइसके । ३७ वर्षका प्रचण्डका अगाडि बडेबडे नेताहरू र नौजना भूतपूर्व महासचिवहरूलाई एउटै पार्टीमा राखेर नेतृत्व गर्नु सजिलो थिएन । प्रचण्डमा एकातिर आफू क्रान्तिकारी भएको अहमताबोध थियो भने अर्कोतिर युवा भएकोले हीनतावोध पनि थियो । यस्तै बीचमा उनले महाधिवेशनलगत्तै बसेको बैठकमा अर्को गल्ती गरे । सहरिया सङ्घर्ष गर्नका लागि भनेर निर्मल लामाको नेतृत्वमा केन्द्रीय सङ्घर्ष समिति बनाएर सङ्घर्षको नेतृत्व निर्मल लामालाई प्रचण्डले सुम्पे । एकातिर यो हीनताबोधको अभिव्यक्ति थियो भने अर्कोतिर अरूलाई अगाडि राखेर पछाडिबाट आफूले नेतृत्व गर्न खोज्ने चाणक्य प्रवृत्ति वा कृष्ण प्रवृत्ति थियो । यही चाणक्य प्रवृत्ति र हीनताबोधले गर्दा सङ्गठनात्मक रूपमा प्रचण्ड मुख्य नेता भईकन पनि पार्टीभित्र र जनतामा भने मुख्य नेताका रूपमा स्थापित हुन सकेनन् । चुनावमा संयुक्त जनमोर्चाका नामबाट भाग लिएकाले त्यसका संयोजक बाबुराम भने नेताका रूपमा स्थापित हुँदै गए भने अर्कोतिर पार्टीको केन्द्रीय सङ्घर्ष समितिको संयोजक निर्मल लामा बनाइएकाले (एकता केन्द्र)को नेता भनेर निर्मल लामा नै स्थापित भए । प्रचण्ड भने निर्मल लामा र बाबुरामका कार्यकर्ता मात्रै बन्न पुगे ।
नेपालमा गृहयुद्ध सुरु : २०४८ चैत २४
नेपालमा नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्ध कहिले सुरु भयो ? सबैलाई थाहा छ– २०५२ फागुण १ गते । तर, नेपालमा गृहयुद्ध कहिले सुरु भयो र कसले सुरु ग¥यो भन्ने विषय विवादित छ । यथार्थवादी ढङ्गले बिनाआग्रह–पूर्वाग्रह विश्लेषण गर्ने हो भने नेपालमा गृहयुद्धको सुरुवात तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेरबहादुर देउवाले ०४८ चैत २४ गते गरेको देखिन्छ ।
प्रचण्ड महासचिव रहेको नेकपा (एकता केन्द्र)ले निर्मल लामाको नेतृत्वमा गठन गरेको ‘केन्द्रीय सङ्घर्ष समिति’ले विभिन्न माग राखेर शान्तिपूर्ण सङ्घर्ष र ०४८ चैत २४ गते ‘नेपाल बन्द’को आह्वान गरेको थियो । त्यही समयमा आन्दोलनकारीहरूमाथि दमन गर्ने र गोलीसमेत चलाउने निर्देशन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेरबहादुर देउवाले दिएर नेपालमा गृहयुद्धको विधिवत् सुरुवात गरेका थिए । चैत २४ गते प्रहरीको गोलीबाट १४ जना आन्दोलनकारी र सर्वसाधारण मारिए र सयौँ घाइते भए ।
उक्त आन्दोलन संयुक्त रूपमा गर्ने प्रस्ताव एकता केन्द्रले राखेको भए तापनि एमालेलगायत अरूले अस्वीकार गरेकाले सो आन्दोलन नेकपा(एकता केन्द्र) एक्लैको मात्र हुन पुगेका थियो । तर, आन्दोलन चर्कंदै गएपछि र नेपाल बन्द सफल हुने देखिएपछि एमालेलगायतका कम्युनिस्ट पार्टीहरूले पनि आन्दोलनप्रति नैतिक समर्थन जनाएर वक्तव्य दिएका थिए । चैत २४ को नेपाल बन्द पूर्णरूपले सफल भयो ।
आन्दोलन विकासको कारणबारे ०४९ वैशाखमा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रचण्डले लिखित दस्तावेज पेस गरे जसमा भनिएको थियो–‘बहुदलको स्थापना र निर्वाचित सरकार बने पनि जनताले जुन राहत र शान्तिसुरक्षाको आशा गरेका थिए ती केही पनि पूरा नहुनु, चरम महँगी, देशव्यापी गुण्डागर्दी र हत्याकाण्डका घटनाले जनजीवन अस्तव्यस्त हुनु, कर्मचारीलगायत जनताका कुनै पनि तप्काका जायज माग र आन्दोलनलाई सरकारले षड्यन्त्रपूर्वक निर्मम दमनको नीति लिँदै गएको अवस्था, काङ्ग्रेसीकरणको प्रक्रिया र सरकारद्वारा भारतसँग गरिएको नदीनाला र भूभागसमेत बेचिने राष्ट्रघाती सम्झौताद्वारा जनतामा उत्पन्न राष्ट्रिय स्वाभिमानको भावनाको विकास आदि कारणहरूले आन्दोलनलार्ई सशक्त आधार प्रदान ग¥यो ।’ (दस्तावेजहरू — पृष्ठ २६४)
आन्दोलन सफल हुनमा पार्टी कार्यकर्तामा उत्पन्न प्रतिष्ठाको भाव र साथै निर्मल लामाको व्यक्तित्व, नेतृत्व र तीव्र सक्रियताले पनि महत्वपूर्ण भूमिका निभायो ।
नेपाल बन्द सफल पार्नु भनेको मुख्यत काठमाडौं उपत्यका, त्यसमा पनि मुख्यतः काठमाडांै र पाटनका रिङरोडभित्रको इलाका बन्द गर्नु हो । यसका लागि विशुद्ध शान्तिपूर्ण तरिकाले मात्र नहुने बुझेर बिहानपख चल्ने गाडीहरू व्यापक रूपमा तोडफोड गर्ने निर्देशन प्रचण्डले दिएका थिए । साथै चैत २३ साँझ ब्ल्याकआउट सफल पार्न गुलेली किन्ने र कार्यकर्ताबीच बाँड्ने काम आलोक, दिनेश शर्मा, रवीन्द्र श्रेष्ठ, हितमान शाक्यहरूले गरे । गुलेली हानेर चिम फुटाउने अभियान चलाएपछि चैत २३ को ब्ल्याकआउट सफल भयो ।
नेकपा (एकता केन्द्र)लाई गुलेली पार्टी भनेर प्रचार गरिन थाल्यो । एकता केन्द्र र जनमोर्चाको कार्यालयमा ‘यो गुलेली पार्टीको कार्यालय हो ?’ भनेर फोन आउन थाल्यो । एकपटक निर्मल लामाले फोन उठाउँदा पनि यो गुलेली पार्टीको अफिस हो भनेर सोधिएछ । उहाँको जवाफ थियो–तपाईं चराको टाउको बोल्या हो ?
नेपाल बन्दमा हुने गाडी तोडफोड पञ्चायतकालदेखिको निरन्तरता मात्र हो । नेपालमा पहिलोपटक गुलेली उठाउने पार्टी नेकपा(एकता केन्द्र) हो भन्न सकिन्छ । तर, गुलेली चलाएर ब्ल्याकआउट ग¥यो भन्दैमा भोलिपल्ट आन्दोलनकारीमाथि बन्दुक चलाउने र १४ जनाको हत्या गर्ने आदेश दिनेहरू नै नेपालमा गृहयुद्धका सुरुवातकर्ता हुन् भन्नु सही ठहर्छ ।
चैत्र २४को हत्याकाण्डले नेकपा (एकता केन्द्र)भित्र जनयुद्ध गर्नुपर्छ भन्ने धार हावी हुन थाल्यो र नेताहरूमाथि जनयुद्धको तयारी गर्न थाल्नुपर्छ भन्ने दबाब चर्किन थाल्यो ।
०४९ वैशाखमा भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले ‘सहरिया सङ्घर्षलाई ग्रामीण वर्गसङ्घर्षको विकासको मूल दिशासँग जोड्न जरुरी छ’ भन्ने प्रस्ताव पेस गरे । वैशाख १५सम्म गिरिजा सरकारले राजीनामा नदिएमा वैशाख २१ गते पुनः नेपाल बन्द गर्ने कार्यक्रम पनि केन्द्रीय सङ्घर्ष समितिले सार्वजनिक ग¥यो । केन्द्रीय समितिको बैठकमा प्रचण्डले राखेको थप प्रस्ताव यस्तो थियो– ‘केन्द्रीयस्तरमा एउटा ग्रामीण सङ्घर्ष समिति बनाउनुपर्छ । त्यसले पार्टी कार्यदिशाअनुरूप केही निश्चित इलाकाहरूमा व्यवस्थित रूपले सामन्ती, जाली–फटाहाहरूका विरुद्ध किसान सङ्घर्ष उठाउने ठोस तयारी गर्नुका साथै आमरूपमा पार्टी कार्यदिशाको कार्यान्वयनमा जोड दिनेछ । पार्टी प्रभाव भएको केही निश्चित जिल्लामा निम्न कामहरू सुरु गर्नुपर्छ………….अनुशासित र योग्य युवाहरूलाई लिएर क्षेत्र–क्षेत्रमा सुरक्षा दल बनाई उनीहरूलाई आवश्यक प्रशिक्षण र काममा लगाउनुपर्छ । यसप्रकारका दलहरूमा भएका योग्य सदस्यहरूलाई छानेर जिल्लामा एउटा लडाकु दल बनाउने काम सुरु गरिनुपर्छ । यसरी निश्चित जिल्लाहरूमा पार्टी, संयुक्त मोर्चा र सेनाको बिउ रोप्ने प्रक्रिया थालेर सङ्घर्षलाई अगाडि बढाउनु जरुरी छ ।’ (दस्तावेजहरू–पृष्ठ २६८)
यसरी बल्ल ०४८ चैत २४ को हत्याकाण्डपछि मात्रै सुरक्षा दल, लडाकु दल बनाउने र जनसेनाको बिउ रोप्ने प्रस्तावसम्म पारित भयो । तर, त्यसबेला नेताहरूले यो प्रस्ताव कार्यान्वयन गरेनन् । त्यो प्रस्ताव कार्यान्वयन गरियोस् भन्नेहरूलाई प्रचण्ड, किरण, बादलहरूले ‘निम्न पुँजीवादी अधैर्यपन’ भनेर उल्टै गाली गर्न थाले ।

प्रतिक्रिया
सम्बन्धित खवर

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने