नम्बरबिनाका ट्याक्टरमाथि ट्राफिकले कारबाही थाल्ने

११ बैशाख २०७०, बुधबार ०८:५७ मा प्रकाशित

विष्णु सुब्बा, दमक, ११ वैशाख । अधिकांश ट्याक्टरहरूका पछाडि नम्बरप्लेट नभएको पाइएको छ । विभिन्न ढुवानीमा प्रयोग गरिँदै आएको ट्याक्टरको पछाडिको ढालीमा नम्बरप्लेट हुँदैनन् । यातायातको नियममा हरेक सवारी साधनहरूले अगाडि र पछाडिका दुवै भागमा गाडीको नम्बर उल्लेख हुनुपर्ने भनिएको छ । तर, ट्याक्टरधनीहरूले भने ती नियमलाई उल्लङ्घन गरेको पाइएको छ । झापा कन्काई माई ट्याक्टर सङ्घका अध्यक्ष बद्रीप्रसाद खनाल ट्याक्टरमा अगाडि र पछाडिका दुवै भागमा स्पष्ट देखिने गरी नम्बर समावेश गर्नुपर्ने बताउँछन् । ‘नियम मान्नुपर्छ,’ कतिपय ट्याक्टरहरूमा गाडी नम्बर नै नराखी सञ्चालन गरिआएको स्वीकार्दै अध्यक्ष खनाल भन्छन्, ‘नियम नमान्नेलाई कारबाही गरिनुपर्छ ।’ ट्याक्टरको अगाडिको भागमा मात्र नम्बरप्लेट राखेर धेरै ट्याक्टर सञ्चालनमा रहेको उनको दाबी छ । ‘हामीले ट्याक्टरचालकहरूलाई पटक–पटक सचेतना दिइरहेका छौँ,’ उनले थपे, ‘हामीले आफैँले ट्याक्टर व्यवसायलाई मर्यादित बनाउनुपर्छ ।’
इलाका ट्राफिक प्रहरी कार्यालयका प्रनानि पुष्पकराज निरौला ट्याक्टरका नम्बरप्लेटमा समस्या देखिएको बताउँछन् । ‘ट्याक्टरका दुवै भागमा प्रस्ट देखिनेगरी नम्बर राखिनुपर्छ,’ प्रनानि निरौलाले सडक दुर्घटना हुँदासमेत ती ट्याक्टर पहिचान गर्न नम्बर बुझिने गरी उल्लेख गर्नुपर्ने बताउँछन् । ‘दमक आसपासमा गुड्ने अधिकांश ट्याक्टरहरूमा नम्बरप्लेट समस्या हटाउन नियमानुसार कडाइ गरिने उनको भनाइ छ । प्रनानि निरौलाले अब ट्राफिक प्रहरीले बिनानम्बरप्लेटका ट्याक्टरलाई कारबाही गर्ने बताए । पुराना, नयाँ ट्याक्टरहरूले समेत नम्बर नराख्ने, मेटिए पनि पुनः नलेखाउने समस्या रहेको बताइएको छ । कतिपय अवस्थामा ट्याक्टरले दुर्घटना गराएपछि आफू सुरक्षित रहने हेतुले समेत ट्याक्टरमा नम्बरप्लेट नराख्ने गरिआएको बताइएको छ ।
ट्याक्टरमा बालश्रम :- कतिपय ट्याक्टरहरूमा बालश्रम गरेको पाइएको छ । बालबालिका उमेरमा नै मजदुरी काम गरिआएका उनीहरू अन्य क्षेत्रझैँ ट्याक्टर व्यवसायमा समेत बालश्रम गर्न बाध्य छन् । ढुङ्गामाटो, इँटा हाल्न, झिक्नलगायतका काममा यस्ता बालबालिकाहरूले काम गरिआएको बताइएको छ । ट्याक्टर व्यवसायी सङ्घका सचिव, कोमल खतिवडा भन्छन्, ‘बालश्रम हटाउन हामी आफैँले पहल गर्नुपर्छ ।’ ट्याक्टरको ढुवानी काममा बालबालिकाहरूको प्रयोग बढ्दै गएको अनुमान उनको छ । भन्छन्, ‘पढ्ने उमेरमा बालबालिकाहरूले ट्याक्टरको ढुवानीमा काम गरिआएका छन् ।’ ट्याक्टरमा बालश्रम गरिआएका उनीहरूले पारिवारिक अवस्थाका कारण काम गर्न बाध्य हुनुपरेको तोपगाछी–९ का १५ वर्षीया बाल मजदुर कृष्ण किस्कु बताउँछन् ।
सडकमै ट्राफिक शिक्षा :- दमक ट्राफिक प्रहरीले सडकमै ट्याक्टरका चालक, सहचालकहरूलाई ट्राफिक नियमका शिक्षा दिइएको छ । रिफ्लेक्टर राख्ने कार्यको सुरुवात गर्न एकत्रित भएका बेला ट्याक्टरका चालक, सहचालक र कामदारहरूलाई मंगलबार चियाबगान क्षेत्रमा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको थियो । सडक दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरचालकहरूको समेत भूमिका हुने भएकाले ट्याक्टर सङ्घ र ट्राफिकले संयुक्त रूपमा प्रशिक्षण प्रदान गरिएको थियो । करिब दुई दर्जन ट्याक्टरका चालक, सहचालक, कामदारहरूको सहभागिता रहेको थियो भने ट्राफिक नियमबारे ट्राफिक प्रनानि निरौला, ट्राफिक हवल्दार ईश्वर भण्डारीलगायतले सहजीकरण दिएका थिए ।
रिफ्लेक्टर टाँसियो :- ट्याक्टरबाट हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा रिफ्लेक्टर राख्ने कार्यलाई तीव्रता दिइएको छ । रातिपख ट्याक्टर चलाउँदा सङ्केतका रूपमा रिफ्लेक्टरले दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउने भन्दै दमकमा चल्ने ट्याक्टरहरूमा त्यस्तो सङ्केत राख्ने कार्य थालिएको हो । मंगलबार दमक– ९ स्थित चियाबगान क्षेत्रमा ट्राफिक प्रहरीले र ट्याक्टर व्यवसायी सङ्घले दर्जनौँ ट्याक्टरहरूलाई एकत्रित गरी रिफ्लेक्टर राख्ने कामको सुरुवात गरेका छन् । ट्राफिक प्रनानि निरौला र सङ्घका अध्यक्ष खनालले संयुक्त रूपमा सो कार्यको शुभारम्भ गरेका थिए । सो अवसरमा प्रनानि निरौलाले सडक दुर्घटना न्यूनीकरणमा रिफ्लेक्टरको भूमिको चर्चा गरेका थिए । सङ्घका सचिव खतिवडाका अनुसार संघमा आबद्ध दुई सयभन्दा बढी ट्याक्टरहरूमा सो रिफ्लेक्टर राखिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच