प्रचण्डले अड्चन नपुर्याए आगामी चैतभित्रै चुनाव

५ बैशाख २०७०, बिहीबार ०४:५८ मा प्रकाशित

काठमाडौ, ५ वैशाख । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको रूपमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डको एकमहिने कार्यकाल सकिनै लागेपछि उनले निहुँ खोज्न थालेका छन्। एकातिर नेकपा–माओवादीका सर्वोच्च नेता मोहन वैद्य किरणलाई गुप्त सम्पर्क गरी आफूहरू पनि वर्तमान सरकार विस्थापनकै पक्षमा रहेको बताउँदै सरकारविरुद्ध सङ्घर्ष गर्न प्रेरित गर्ने र अर्कोतिर आगामी असारमै निर्वाचन गराइनुपर्छ भनेर सरकार तथा अन्य दलहरूमाथि दबाब दिने काम जुन प्रचण्डले गरिरहेका छन् यसले उनी षड्यन्त्रको तानाबाना बुन्दै छन् भन्ने स्पष्ट गरेको छ। असारमा चुनाव गराउन कठिन मात्र होइन असम्भव नै ठानिएको छ, तर प्रचण्ड असारमै गराइनुपर्छ भन्दै छन्। निर्वाचन मङ्सिरसम्म हुनसक्ने प्रबल सम्भावना छ, तर प्रचण्ड मङ्सिरमा गराउने चुनावलाई आफूले नमान्ने सार्वजनिक अभिव्यक्ति दिँदै छन्। सरकार सञ्चालन गर्ने उच्चस्तरीय संयन्त्रको संयोजकको भूमिकामा रहँदा त प्रचण्डले सरकारलाई अप्ठ्यारो पार्ने अभिव्यक्ति र व्यवहार प्रस्तुत गरिरहेका छन् भने संयोजकको एकमहिने कार्यकाल पूरा भएपछि उनी कति अराजक ढङ्गले प्रस्तुत होलान्– प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ। प्रचण्डका अति निकटवर्तीहरूले जनाएअनुसार खासमा प्रचण्ड अहिले चुनावमा जान चाहँदैनन्। नेकपा–माओवादीसँग चुनावी मोर्चा बनाउने र अन्य जातिवादी एवम् क्षेत्रीयतावादीहरूलाई समेत पछि लगाएर चुनावमा गए मात्र आफ्नो इज्जत जोगाउन सक्ने प्रचण्डको ठहर भएको बुझिन्छ। त्यसका लागि उनलाई केही थप समय चाहिएको छ। वर्तमान सरकारलाई चुनाव गराउन नसकेको आरोपमा विस्थापित गरी आफ्नै नेतृत्वमा राजनीतिक दलहरू सम्मिलित नयाँ सरकार गठन गर्ने र चुनावमा जाने योजना प्रचण्डको रहेको बताइन्छ। सरकारको नेतृत्व लिन नसके पनि नेकपा–माओवादी (वैद्य समूह) लाई तटस्थ (न्युट्रलाइज्ड) नगरी चुनावमा जाँदा ठूलो क्षति हुन सक्ने कुराले पनि प्रचण्डलाई चिन्तित तुल्याएको छ। त्यसैले माओवादीलाई ‘लाइनमा ल्याउने’ तयारीमा प्रचण्ड रहेका छन्। असारमा चुनाव नगराएको बहानाबाजी गर्दै वैद्य समूहसँग घाँटी जोड्न जाने सोच पनि प्रचण्डले बनाएको बुझिन्छ। त्यसैले अहिले प्रचण्डले चुनावलाई होइन, आफ्नो राजनीतिक भविष्यलाई प्राथमिकतामा राखेर, नीति, कार्यनीति र रणनीति तर्जुमा गर्ने सङ्केत दिइरहेका छन्।
संविधानसभाको निर्वाचनका लागि गठित रेग्मी नेतृत्वको सरकारलाई असफल तुल्याउने खेलमा प्रचण्ड लागेपछि आगामी ०७० चैत मसान्तभित्र पनि चुनाव नहुने हो कि भन्ने आशङ्का बढेको छ। रेग्मी नेतृत्वको सरकार प्रचण्डको प्रस्ताव भए पनि उनको भित्री चाहना बेग्लै थियो, एउटा बाध्यताबीच रेग्मीलाई प्रचण्डले स्वीकार गरेका थिए। जेठ/असारभित्रै चुनाव अवश्य हुनेछ भन्ने विश्वासका कारणले पनि सत्ता हस्तान्तरण गर्न प्रचण्ड र डा. बाबुराम भट्टराई तयार भएका थिए। असारभित्रै चुनाव गराउनुपर्ने त्यस्तो कुनै लिखित सम्झौता भएको थिएन, तैपनि प्रचण्ड–बाबुराम कुनै हालतमा असारभित्रै चुनाव हुन्छ भन्नेमा विश्वस्त थिए। यदि असारभित्र चुनाव नहुनसक्छ भन्ने तिलबराबर पनि आशङ्का भएको भए प्रचण्ड–बाबुरामले सत्ता छोड्ने थिएनन् भन्ने उनीहरू स्वयम्को व्यवहारले दर्शाएको छ। असारभित्रै गराउने गरी चुनाव घोषणा गरेमा एमाओवादीले चुनाव जित्नसक्ने सम्भावना बढी भएको विश्वास प्रचण्ड–बाबुराममा छ। प्रहरी, निजामती सेवा, जिल्ला प्रशासक, राष्ट्रिय अनुसन्धान विभाग, सरकारी सञ्चारमाध्यम र सशस्त्र प्रहरीलगायतका निकायहरूमा आफ्ना मानिसहरू व्यापक मात्रामा ‘चयन’ गरिएको हुनाले चुनाव जित्न सजिलो हुने विश्लेषण उनीहरूको छ। निर्वाचन असारमा नभई कात्तिक–मङ्सिरमा हुने हो भने त्यसको घोषणा तत्काल नहुने र तत्कालै निर्वाचनको तिथि सार्वजनिक नगरिएमा कर्मचारी प्रशासन तथा प्रहरीमा व्यापक फेरबदल हुनसक्ने भएकोण्ले प्रचण्ड–बाबुराम चिन्तित बनेका छन्। त्यसैले आगामी मङ्सिरमा चुनाव गर्ने गरी मिति घोषणा गरिएमा त्यसलाई एमाओवादीले नै अस्वीकार गर्ने सम्भावना प्रबल छ। मोहन वैद्य नेतृत्वको माओवादी त त्यसै पनि सरकारविरुद्ध सडकमा उत्रिएकै छ, अब प्रचण्ड नेतृत्वको माओवादीसमेत कुनै पनि दिन सङ्घर्षमा उत्रने निर्णयमा पुग्यो भने आश्चर्य हुनेछैन। वर्तमान सरकारलाई असफल तुल्याएपछि राजनीतिक दलहरूलाई सरकार गठनको मौका मिल्ने र त्यसको नेतृत्व आफैँलाई प्राप्त हुने सपना प्रचण्डले देखेका छन्। कदाचित आफ्नो नेतृत्वमा सरकार बन्न सकेनछ भने पनि माओवादीको वैद्य समूहसँग चुनावी मोर्चा बनाउन सकिने र त्यसरी मोर्चा निर्माण गर्न सकेमा फेरि पनि माओवादीले चुनाव जित्ने विश्वासमा प्रचण्ड छन्। असारमा निर्वाचन नहुने निश्चित हुँदै गएपछि प्रचण्डको बोली फेरिएर मोहन वैद्यको जस्तै हुन थालेको छ, कुनै पनि दिन रेग्मीको राजीनामा माग्दै प्रचण्ड र वैद्य एउटै मञ्चमा उभिए भने अनौठो मानिरहनु नपर्ने भएको छ।
प्रचण्डको यस्तै रहस्यमयी व्यवहारका कारण संविधानसभाको दोस्रो निर्वाचन हुनेमा आशङ्का उत्पन्न गराएको छ। दलहरूबीचको सहमतिअनुसार गरिएको अन्तरिम संविधान संशोधनमा २०७० साल मंसिरभित्र संविधानसभाको निर्वाचन गर्ने भन्ने छ। तर, प्रचण्डले आफैंले गरेको सहमति विपरित असारमा संविधान चुनाव भएन भने मंसिरमा पनि चुनाव हुन नसक्ने भन्दै हिडेका छन्। यसले पनि प्रष्ट पार्छ कि प्रचण्डमा सहमति गर्ने तर, कार्यान्वयन नगर्ने गम्भीर खालको रोग लागेको छ। असारमा चुनाव हुन नसक्ने, मङ्सिरमा प्रचण्डले चुनाव हुन नदिने हो भने अर्को सालको चैत/वैशाखतिर मात्र निर्वाचन सम्भव हुने देखिन्छ। तर, आफूले चुनाव जित्ने वस्तुगत परिस्थिति नभएसम्म निर्वाचन हुनै नदिने प्रचण्ड सोचका कारण कहिलेसम्म चुनावमा अड्चन पैदा भइरहने हो भन्न सकिने अवस्था छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै