बेइजिङबाट प्रचण्डले केही पाउनेवाला छैनन् :: झलनाथ खनाल

४ बैशाख २०७०, बुधबार ००:३२ मा प्रकाशित

० बितेको एक वर्ष तपाईंहरूले बाबुराम भट्टराईको राजीनामा माग्दै गुजार्नुभयो, नयाँ सालमा देशका लागि अब के–के गर्ने योजना छ ?
– राजनीतिक रूपले घटनापूर्ण वर्ष २०६९ हामीले पार गरेका छौँ र नयाँ सम्भावना र नयाँ चुनौती बोकेको २०७० मा प्रवेश गरेका छौँ । मलाई लाग्छ– २०७० साल हाम्रो देशको इतिहासमा अत्यन्त महत्वपूर्ण सालका रूपमा स्थापित हुनेछ । किनकि, यही साल हामी संविधानसभाको अर्को निर्वाचन गर्न गइरहेका छौँ । ०६२/६३ को क्रान्तिका उपलब्धिलाई सम्पूर्ण रूपले संस्थागत गर्न हामीले अझै सकेका छैनौँ । यसलाई संस्थागत गर्नका लागि संविधानसभाबाट संविधान बनाउनैपर्ने हुन्छ । ठूलो दल एमाओवादीले त्यो भूमिका निर्वाह गर्न नसकेको जगजाहेर नै छ । अब नेकपा एमाले सबभन्दा ठूलो दल नबनेसम्म यो देशमा संविधान निर्माण हुन नसक्ने रहेछ भन्ने प्रस्ट भइसकेकाले हामी त्यसैको तयारीमा छौँ ।
० अहिलेको अवस्थामा कसरी बन्ला त एमाले सबभन्दा ठूलो पार्टी ?
– आगामी निर्वाचन वास्तवमा नेकपा एमालेको निर्वाचन हुनेछ । सम्पूर्ण जनता यतिबेला उग्रवामपन्थी अराजकताको विरुद्ध उभिएका छन् । दक्षिणपन्थी यथास्थितिवाद पनि जनता रुचाउँदैनन् । एमालेले दर्शाएको बहुदलीय जनवादको पक्षमा जनता भएकाले एमाले नै अब ठूलो दल बन्नेछ । साठी वर्षको इतिहास बोकेको एमाले संविधानसभाको दोस्रो निर्वाचनबाट पहिलो पार्टी बनेपछि यो देशको कायापलट हुनेछ ।
० चुनाव हुने कहिले–कहिले तपाईंको पार्टी पहिलो बन्यो अहिले ? निर्वाचन नै अनिश्चित बनेको भन्न थालेका छन् नि मानिस त ?
– ०७० मा जसरी पनि आमनिर्वाचन हुनेछ । आगामी कात्तिकको अन्तिम सातामा यो देशमा चुनाव हुन्छ । त्यो चुनावलाई कसैले पनि रोक्न–छेक्न सक्दैन । अहिले जस–जसले जे–जे भने पनि सबैलाई चुनाव चाहिएको छ । अन्त्यमा सबै चुनावको पक्षमा उभिनेमा म विश्वस्त छु ।
० कात्तिकमा पनि चुनाव नभए तपाईं के गर्नुहुन्छ ?
– यस्तो आशङ्का व्यक्त गर्नु रत्तिभर पनि जरुरी छैन ।
० ०६९ मा नेताहरूले बोलेका कुरा पूरा भएनन् भने अब ०७० मा तपाईंहरूका बोलीले मूर्तरूप पाउँछ भन्ने के ग्यारेन्टी ?
– आउने कात्तिक–मङ्सिरमा पहिलो कुरा– चुनाव हुन्छ, दोस्रो कुरा– चुनाव हुन्छ र तेस्रो कुरा– चुनाव हुन्छ..हुन्छ…हुन्छ । चुनाव नहोला कि भनी आशङ्का गर्नु किन पनि जरुरी छैन भने हामीसँग अहिले त चुनाव गर्नकै लागि गठित ‘चुनावी सरकार’ छ । निर्वाचन आयोग छ र हामी सम्पूर्ण दल निर्वाचनका लागि तयार छौँ, जनता भोट हाल्न तयार छन्, राष्ट्र त्यसैको प्रतीक्षा गरिरहेको छ । चुनाव हुन अरू के चाहिन्छ ?
० सबै दल तयार छन् त भन्नुभयो, तर के नेकपा–माओवादी तयार छ चुनावमा जानका लागि ?
– चुनावका लागि हामीले मूलतः तीनवटा काम गर्नुपर्ने हो, एक– कानुन बनाउने काम, दोस्रो– प्राविधिक पक्षका काम र तेस्रो– राजनीतिक वातावरण निर्माण गर्ने काम । कानुनहरू करिब–करिब बनिसकेका छन् र बाँकी पनि अब बन्छन्, प्राविधिक कार्य पनि निर्वाचन आयोगले अगाडि बढाइरहेकै छ र राजनीतिक वातावरण बनाउने काममा पक्कै केही चुनौती छन्, तथापि चुनौतीको टाउकोमा टेक्दै अगाडि बढ्ने हिम्मत गर्नुपर्छ ।
० काङ्ग्रेस सभापति सुशील कोइरालाले चार दलको सिन्डिकेटलाई ब्रेक गर्छु भनेका छन् नि, यो सम्भव छ होला ?
– हामी त्यो सिन्डिकेटलाई आफैँ तोडिदिन्छौँ र असन्तुष्ट पक्षलाई बाटो खुला गर्छौँ । बाटो खुला गरिदिएपछि उहाँहरू पनि चुनावमा आउनुहुन्छ, किनकि निर्वाचनबाहेक कसैका सामु पनि अरू कुनै विकल्प छैन यतिखेर ।
० त्यसो भए ०७० नेपालका लागि निर्वाचनकै वर्ष बन्ने भयो, होइन ?
– पक्कै पनि यो साल संविधानसभा निर्वाचनको वर्ष हुनेछ, देशको अग्रगति र प्रगतिको साल हुनेछ, नयाँ संविधान निर्माणका लागि ढोका खुला हुने साल सावित हुनेछ ।
० तर, यसका लागि दलहरूबीच मेलमिलाप र सहकार्य हुनुपर्नेमा आरोप–प्रत्यारोप सुरु भएको छ नि ?
– ठूला पार्टीबीच खास कुनै समस्या बाँकी छैनन्, अरू बाँकी दलबीच पनि हामीले छलफल जारी नै राखेका छौँ । नेकपा–माओवादीसँग पनि छलफल जारी नै छ । हामी सबै अन्ततः एकजुट भएरै अघि बढ्छौँ ।
० निर्वाचनमा गठबन्धन पनि गर्नुहुन्छ कि ?
– हाम्रा मुद्दामा सहमति जनाउनेसँग एकताबद्ध भएर जान्छौँ । हामी लोकतान्त्रिक शक्तिहरूको दुईतिहाइ बहुमत ल्याउने प्रतिबद्धताबाट अघि बढ्छौँ ।
० काङ्ग्रेस र एमालेबीच पनि चुनावी तालमेल सम्भव छ र ?
– कुरो कठिन छ, तर यो असम्भव पनि छैन भनेर बुझ्दा हुन्छ । प्रयत्न गरे के हुँदैन र ? लोकतान्त्रिक शक्तिहरू एक हुनु अत्यावश्यक छ र एक भएर नै जानेछन् ।
० तपाईं यसो भन्नुहुन्छ तर उता प्रचण्डजीले फेरि अर्को चमत्कार गर्ने कुरा गर्नुभएको छ । उहाँ चीन गइरहनुभएको छ, लगत्तै भारत जाने कुरा छ, ठूलो शक्ति आर्जन त एमाओवादीले नै गर्लाजस्तो छ नि ?
– हामीलाई राम्रोसँग थाहा छ कि चीन गएर पनि केही हुँदैन र भारत गए पनि केही हुनेवाला छैन । यहाँका कैयन मानिस दिल्ली गएर सिल्ली भएर आउँछन् । बेइजिङबाट पनि केही आउनेवाला छैन । विदेश गएर मात्र केही हुँदैन, नेपाली जनतासामु जानुपर्छ, गाउँ जानुपर्छ, जनता रिझाउनुपर्छ । मुलुकको विकासका लागि सही बाटो निर्धारण गर्नुपर्छ । विदेशी शक्तिका सामु त्वम् शरणम् गरेर मात्रै केही हुनेवाला छैन यो देशमा । कुनै व्यक्तिविशेषले कुनै देशको भ्रमण गर्नु आश्चर्यको विषय त होइन नि । पार्टीका तर्फबाट गरिएको निजी भ्रमणलाई राजनीतीकरण गरेर फाइदा उठाउने कोसिस प्रचण्डजीले नगर्दा नै उचित हुन्छ । उहाँ संसारकै भ्रमणमा निस्के पनि हामी टाउको दुखाउँदैनौँ, कुनै विरोध गर्नेवाला छैनौँ । तर, व्यक्तिगत या पार्टीगत भ्रमणलाई ‘राष्ट्रका तर्फबाट’ भनी प्रचण्डले हौवा पिटाउनुपरेको किन हो बुझ्न सकिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र