यातायातमा तुल्सीको रजाइँ

४ बैशाख २०७०, बुधबार ००:१५ मा प्रकाशित

काठमाडौं, ४ वैशाख । सार्वजनिक तथा निजी यातायातलाई सडकमा गुडाउने अनुमतिका लागि विभिन्न कागजात प्रदान गर्ने अञ्चल यातायात कार्यालय सरकारी कार्यालयका रूपमा नभएर कुनै प्राइभेट कार्यालय त होइन भन्ने किसिमको आभास त्यहाँ हुने गरेको छ ।
नेपालमै सबैभन्दा आकर्षक मानिने यो कार्यालयमा आउनका लागि कर्मचारीले पहिल्यै विभागीय उपल्लो तहका नेतृत्वकर्तालाई थैलीभेटी चढाएर आउने गरेको बताइन्छ । साइनबोर्डमा ‘नेपाल सरकार’ लेखिए पनि यो कार्यालयमा धेरै काम बाहिरी मान्छे अर्थात् दलालहरूले गर्ने गरेका छन् । यातायातसम्बन्धी विभिन्न काम लिएर जाने सर्वसाधारणको पहुँचबाहिर रहेको यो कार्यालय दलाल र त्यहाँ कार्यरत कर्मचारीका लागि नोट छाप्ने मेसिनजस्तै रहेको छ । साधारण काम गर्दासमेत रकम नबुझाएसम्म र दलालमार्फत नगएसम्म जालझेल गरिने यो कार्यालयमा सबैभन्दा कम रकम रातो प्लेटको गाडीको जाँचपास गर्दा तीन सय रुपैयाँबाट लेनदेनको सुरु हुने गरेको छ । आफूलाई एमाओवादीका नेता दीनानाथ शर्माको खाँटी मान्छेका रूपमा चिनाउने तुल्सी गौतम त्यहाँको प्रमुख भएर आएपछि खुलेआम भ्रष्टाचार गर्ने अखडा कार्यालयका रूपमा परिचित भएको यातायात कार्यालय यतिखेर त झन् बौतारिएको साँढेजस्तै छाडा भएको अनुभूति गरिएको छ ।
छेपारोले रङ फेरेजस्तै आफूलाई अवस्थाअनुसार बदल्न माहिर तुल्सीले आफू एमाले समर्थक रहेको भन्दै केही एमाले नेतालाई रिझाउने काम पनि गरेकै छन् । मुखमा रामको नाम जपेर बगलीमा छुरी राखेझैँ तुल्सीले आफू बाग्लुङवासी भएकाले एकीकृत माओवादीका बाग्लुङ घर हुने दीनानाथ शर्मा आफ्नो खास मान्छे भएको बताउने गरेका छन् । पहिला लुकी–छिपी लेनदेन हुने अञ्चल कार्यालय बागमतीमा उपसचिव तुल्सी प्रमुख बनेर आएपछि हरेक कामको मूल्य तोकेर काम गर्ने गरिएको छ । एक माइक्रोबस व्यवसायीका अनुसार आफूले अन्य अञ्चलको माइक्रो रिङरोडमा चलाउनका लागि अञ्चलीकरण गर्न जाँदा विभिन्न नियम सुनाएर नगरेपछि दलालमार्फत पचास हजार तिरेपछि सहजै सेतो प्लेट पाएको बताउँछन् । विभिन्न अञ्चलबाट राजधानीमा ल्याइने सेतो प्लेटका माइक्रो रिङरोडमा चल्ने गरे पनि ४० देखि ७० हजारसम्म रकम नलिँदासम्म अनुमति नदिइने व्यवसायीको भनाइ रहेको छ । अञ्चल यातायातका एक नाम नबताउने कर्मचारीका अनुसार तुल्सी गौतम प्रमुख बनेर आएपछि दिनमा चार सयको सङ्ख्यामा गरिने जाँचपास गर्दा तीन सय रुपैयाँ लिने गरिएको बताउँछन् । त्यस्तै नयाँ यातायात दर्ता गर्दा कम्तीमा दश हजारदेखि पचास हजारसम्म लिने गरिएको स्रोत बताउँछ । नयाँ रुट कायम गर्दा पचास हजार नलिएसम्म फाइलतिर आँखा नलगाउने तुल्सी गौतमको राजमा एउटा समितिबाट अर्को समितिमा रुट सट्टापट्टा गर्दा ठूलो बसबाट पन्ध्र हजार, मिनीबस र माइक्रोबाट दश हजार, ट्याम्पोबाट पाँच हजार लिएर मात्र अनुमति दिने गरिएको छ । कार्यालयको अगाडि रहेका दलालहरूले खोलेका जालरूपी कार्यालयमा मोलमोलाइ भएपछि मात्र फाइल भित्र लैजाने गरिएको छ । विभिन्न समितिका अध्यक्षहरूसमेत प्रमुख गौतमसँग मेल राखेर कामदामबाट पट्याउने गरेको स्रोतको दाबी छ । एक माइक्रोबसका अध्यक्षले त बेलाबेलामा विदेशी कालोझोल बोकेर जाने गरेकोसमेत बताइन्छ । मन्त्रालयका सचिव तुल्सी सिटौला एउटै नाम राशिको भएको र उनलाई समेत आफूले धनराशि बुझाउनुपर्ने गुनासो गौतमले आफू निकटका दलालसँग गर्ने गरेका छन् । अख्तियारदेखि सतर्कता केन्द्र सबै मिलाउनुपर्ने भएकाले आफैँले सबै कामदामका भरमा गर्ने गरेको बताउँछन् । वर्तमान सरकार पूर्वप्रशासकको भएकाले त्यसलाई कसरी लाइनमा ल्याउन सकिन्छ त्यो आफूसँग जादु भएको गौतमले भन्ने गरेको अञ्चल कार्यालयमा चर्चा–परिचर्चा हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९