धेरै चोटी मरे म त धेरै चोटि बाँचे …. – निरुपा ढुंगाना

२१ चैत्र २०६८, मंगलवार १९:५८ मा प्रकाशित

खै उसले जितेर गयो कि हारेर गयो
कसरी भनुँ मरेर गयो कि मारेर गयो
नयन यो मदिरा माग्यो पिलाईदिएँ
विचराले सद्धे बानी बिगारेर गयो
ओढेर आएको त्यो इमानको च्यादर
आज उसले यतै कतै उतारेर गयो
आँउदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो
मन मथिंगल मेरै छेऊमा थुपारेर गयो
उज्यालो देखि सायद डराउँछ होला ऊ
मध्यरातमा किन ढोका उघारेर गयो
कादम्बिनी अर्थात मडारीएर आउँने कालो बादल भनौँ जुन बादलले पानी पार्ने निश्चित हुन्छ त्यही बादलनै हो कादम्बिनी। अर्को अर्थमा सधै कदमको रुखमुनि कृष्णलाई पर्खिबस्ने राधालाई पनि कादम्बिनी भनेर सम्बोधन गरीन्छ। बिल्कुलै उही उस्तै छिन् शीतल कादम्बिनी। सार्मध्यवान लेखाई र प्रेम–प्रणयका भाषा। कस्तो अद्भुत संयोजन नाम र अर्थको।
साहित्यको विधा मध्ये धेरैले मन पराउने विधा गजल पनि एक हो। धेरैले गजल लेख्न कोसिस गर्छन तर त्यो गजल बनेको हुँदैन। साँच्चिकै जानेर गजल लेख्नेहरु न्युन छन् त्यसमध्य पनि पुरुषको तुलनामा महिला एकदमै नगन्यमात्रामा। तीनै मध्यकी एक हुन शीतल गुरुङ अर्थात शीतल कादम्बिनी । उनको जन्म वि.सं. २०२५ सालमा गोरखामा भएको थियो। उनको बाल्यकाल यौवनकाल केहि नेपालगञ्जमा र धेरै वर्षहरु चितवनमा बितेको थियो। चितवनलाई गजलको राजधानी भनेर चिनिन्छ। यसो हुनुमा उनको पनि महत्वपुर्ण योगदान रहेको छ। हाल भने उनको बसाई काठमाडौंमा रहेको छ।
‘जुन समयदेखि होश सम्हाले त्यो बेलादेखि लेख्न थाले।’ मुख्यतय गीत गजल लेख्ने कादम्बिनी यसो भन्छिन्।
‘मेची तिम्रो कोशी तिम्रो तिम्रै रारा फेवा ….’ गीतले वि.सं. २०६५ सालमा रेडियो नेपालबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो भने वि.सं.२०६६ सालमा निस्किएको ‘कादम्बिनी’ एल्बम त्यो बर्ष श्रोताले सर्वाधिक रुचाएको एल्बममा पर्न सफल भएको थियो। ‘धेरै चोटि मरे म त धेरै चोटि बाँचे ….’ भन्ने गीतले त ८ अवार्ड नै पाएको थियो। भने गायक शिव परिवारले गाएको सोहि एल्बम भित्रको
‘कहाँ थियौ तिमी रगंमञ्च उठेपछि आयौ ….’ भन्ने गजलले गायकको लोकप्रियता संगै उनको चर्चा पनि चुलियो। गीत चर्चित हुदाँ गायकमात्र चर्चित हुने परिपाटि विपरित गायकसँगै गीतका सर्जक शीतल कादम्बिनी स्थापित भईन। यो कुराले उनलाईमात्र होईन अरु रचनाकारहरुलाई पनि सुखको अनुभुति दिन्छ।
त्यसो त उनलाई उनको सुन्दर गीत र गजल साथमा उनको वाचन कलाले धेरै अघिदेखि नै निश्चित माहोलमा स्थापित गराइसकेको थियो। उनी जुन कार्यक्रममा आफ्नो गजल गीत प्रस्तुत गर्छिन् त्याहाँ बिछट्टै आनन्दीत माहोल बन्छ। जति सुन्दर लेख्छिन् त्यति नै कर्णप्रिय आवाजमा गाँउछिन पनि। साहित्य पढ्न पनि त्यतिकै शौखिन उनी, हिन्दी, उर्दुमा पनि गजल लेख्छिन्।
समझ ना सका क्यूँ इशारोंको मैने
यूँही जाने दिया बहारोंको मैने
इतना गुरुर आप मत किजिएगा
देखा है गिरते मनारोंको मैने
क्यों हरसु अन्धेराये छाया हुवा है
सजाया है दिल मे सितारोंको मैने
किया जब भी यलगार यादोंने मुझपर
बनाया हैं सहारा मवारोंको मैने
यही दस्तुर है ‘शितल’ यहाँका
देखा न दर्द यारोंको मैने
कर्म गर्दै जाँदा फल अवश्य प्राप्त हुन्छ भन्ने भनाई उनमा चरितार्थ हुन्छ। उनको थुप्रै गीत, कविता, गजलहरु विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट धेरै अघिदेखि प्रकाशित प्रसारित भैरहेका थिए। वि.सं.२०६२ मा गजलसंग्रह ‘सुगन्ध–यात्रा’ प्रकाशित भएको थियो भने वि.सं.२०६६मा ‘कादम्बिनी’ र वि.सं.२०६७मा ‘शितल’ एल्बम उनका रिलिज भएका एल्बमहरु हुन्।
गजलसम्बन्धमा बरिष्ठ गजलकार बुँद राना भन्छन्,
‘एकपल्ट पर्नुपर्छ नजर त्यो शीतलको
सुनभन्दा आकासिन्छ दरभाउ पितलको’
दिलको आवज दिलमै ठोक्किएर आउने त्यो प्रतिध्वनिनै साहित्य हो भन्छिन्। त्यसो त उनलाई लाग्छ साहित्य भनेको मिठो फुलको सुगन्ध हो। सागरभित्रको मोति जस्तै हो साहित्य यो माथि माथि खोजेर भेटिदैन। उनी थप्छिन्।
त्यसैले त उनको सृजना सुन्दर हुन्छ र फुल जस्तै सुगन्धित पनि । कालजयी र सुकोमल छन् उनका कविता, गजल र गीतहरु। प्रत्येक मान्छेले आफ्नै ढुकढुकी सुने जस्तो , आफ्नै जीन्दगी लेखे जस्तो अनुभुत गराँउछ उनको गीत गजलहरुले।
मेरो बचपन खर्चेको आँगनी छोडेर आएँ म
सुन्लान् कसैले भनेर पैजनी खोलेर आएँ म
प्रेममा अन्धो हुन्छ भन्छन् म पनि सोही भएछु
बस्तीको त्यो टहटह चाँदनी छोडेर आएँ म
मध्यान्हको आश्वासन र प्रलोभनमा परेर
जिन्दगीको त्यति सुन्दर बिहानी छोडेर आएँ म
आफन्तको माया अनि बर–पिपलको छायाँ
मैले बोक्ने घैला र तटिनी छोडेर आएँ म
मेरा अबोध भावहरुमा युगले भर्लान शब्दहरु
पखेरीलाई अलिखित कहानी छोडेर आएँ म
हृदयमा बस्न भनि पृथक संसार रच्न भनी
आफ्नोपनलाई पोलिकन खरानी छोडेर आएँ म
कादम्बिनी भन्छिन्, ‘सिगों एउटा महाकाव्यले जत्तिकै भाव गजलको एउटा शेरले दिन्छ। गजलको एउटै शेरले मान्छेको जिन्दगी परीर्वतन गर्न सक्ने सामर्थ्य हुन्छ।’ उनी हिसाब गरेर दिमाग लगाएर भन्दा पनि मनभित्रैबाट लेख्छिन्। तब न एउटा मनभित्रको भावले अर्को मनलाई छुन सक्छ। मनमुटु निचोरेर लेख्ननै मन पर्छ उनलाई।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार