‘आज नयाँ वर्षको पहिलो दिन !’

१ बैशाख २०७०, आईतवार ०६:३२ मा प्रकाशित

काठमाडौं, १ बैशाख । आज नयाँ वर्ष २०७० को पहिलो दिन । ‘नयाँ’ भन्ने शव्द त्यसै–त्यसै सुन्दर सुनिन्छ, नवीन कुरा सबैका लागि जिज्ञासा र पे्रमको विषय नै बन्दछ । त्यसैले होला हरेक नयाँ वर्षलाई संसारभर नै यथासक्य  हर्षोल्लासका साथ मनाउने गरिएको । तर, ‘मान्नु’ र ‘मनाउनु’ दुई अलग कुरा रहेछ । मान्नु भनेको हृदयदेखि प्रस्फुटन भएको अर्थात् स्वाभाविक रुपमा नै ‘मानौँ–मानौँ’ लागेर मान्ने हो । कुनै पनि कुरा त्यसरी मान्नुमा प्राप्त हुने आनन्द नै अलौकिक प्रकृतिको हुन्छ । र, मनाउनु भनेको चाहिँ देखावटी कुरा हो जो एउटाले गरेकोलाई अर्कोले देखासिकी गर्छ । यसरी देखावटीका खातिर मनाउने कार्यले आनन्द नै दिन्छ भन्न सकिन्न, बरु उल्टै पीडा प्रदान गर्न सक्छ । मनाउनका लागि मनाउन खोज्नु फगत अर्काको निम्ति हो न कि आफ्नो लागि ।
हो, यसपटकको नयाँ वर्ष पनि आमनेपालीका निम्ति देखावटीका लागि मात्र उल्लास र उमङ्गको दिन बन्न पुगेको छ । ‘न्यू इयर’का नाममा शुभकामना बाँड्ने काम त भए, भोजभतेर या पार्टी र पिकनिक आयोजना गरेर रमाइलो गर्ने प्रयत्नहरु पनि नयाँ वर्षको बहानामा धेरै भए होलान् । तर, यी सबै ‘मनाउन’का लागि मात्रै गरिए, अन्तरहृदयबाट मान्ने त कोही भए कि भएनन् ?! या निकै कम मात्रै भए । वास्तविक अर्थमा त एउटै त्यस्तो कुनै कारण छैन जसले ‘नयाँ वर्ष २०७०’को आगमनमा नेपालीजनलाई खुशी प्रदान गरोस् ।
यस्तै शुभकामनाका आशा बोकेर आएको वर्ष २०६९ ले नेपाल र नेपालीलाई खुशी दिन सकेन । केही वर्षदेखि उकुसमुकुसको अवस्थामा रहेको देश झनै अभिसप्त बनेर गुज्रिन पुग्यो । राजनीतिक रुपमा मुलुक निकै लुलो बन्न पुगेको अवस्था छ । राजनीति कमजोर भएपछि सबै कुरामा तल परिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बन्न पुगेको छ यतिबेला नेपाल । नयाँ वर्षमा जुन खालको नयाँ उत्साह देखिनुपर्ने हो, त्यो देखिएको छैन। जनतामा चरम निराशा छ। छ वर्षदेखि जनता एकैखाले वर्ष बिताइरहेका छन्। देशमा शान्ति छाए पनि जनताको मनमा शान्तिको अनुभूति हुन पाएन। आफ्नो अधिकार स्थापित गर्न संविधानसभामा मत हाले पनि जनताले चाहेको संविधान पाउन सकेनन्। नेताहरूले जनतालाई गोलचक्करमा घुमाइरहे। आज हुन्छ, भोलि हुन्छ, यति दिनमा त पक्कै हुन्छ भन्दै नेताको जनता झुक्याउने क्रम अहिले पनि जारी नै छ। जनताले यो किचलोको अन्त्य खोजेको छ।  गरेर खान पाउने अवस्थाको सिर्जना होला कि भन्ने अपेक्षा गरेको छ। तर, राजनीतिक नेतृत्व जहिले पनि बेइमान भइदिनाले जनताको यो इच्छा अझैसम्म पूरा हुन सकेको छैन, हुने सम्भावना पनि देखिएको छैन ।  व्यग्र प्रतीक्षा थियो आमनेपाली र नेपाललाई नयाँ संविधानको, त्यो ०६९, ०६८, ०७, ०६६ र ०६५ हरु कसैले पनि दिन सकेनन् । ०६९ ले जनताको चाहना नहुँदानहुँदै पनि बाध्यतावश अर्को चुनाव दिन्छु भन्यो, दिन सकेन । चुनाव मात्रै होइन धेरै कुरा दिन सकेन जो नेपाल र नेपालीका चाहना थिए, अपरिहार्य चाहना । उल्टै अनेक अभिसापहरु दिएर गएको छ ०६९ साल । लोकतान्त्रिक व्यवस्थाको मुख्य आधारमै प्रहार भई दलीय व्यवस्थालाई नै तिलाञ्जली दिएको सन्देश दिँदै बिदा लिएको छ वर्ष ०६९ ले । यसरी पुरानो वर्ष जानु नै थियो– गयो, तर आउने वर्षलाई पनि धमिल्याउने संकेतहरु छोड्दै गयो ।
एक महिना भयो, असारभित्रै चुनाव गराउने उद्देश्यका साथ नयाँ चुनावी सरकार बनेको छ । तर, अहिलेसम्म सरकारले चुनावको पक्षमा कुनै आशा र विश्वास जगाउन सकेको छैन । मानिसहरु भन्न थालिसकेका छन्, यो सरकारले असार त के कहिल्यै पनि निर्वाचन गराउन सक्ने छैन । आखिर यो निराशा किन प्रकट भइरहेछ त ? हो, बिहानीले दिनको संकेत गर्दछ भन्ने प्रसिद्ध भनाईसँग सहमत हुने हो भने नयाँ वर्ष २०७० विगतको जस्तै अस्वस्थ राजनीतिक खिचातानीमै गुज्रने छ । हिजोको दिनका छायाले नै आज पनि नेपाल र नेपालीलाई पछ्याईरहेको छ । यतिसम्म दीनहीन भएर नेपाल बाँच्नु परेको अवस्था छ कि शान्तिका दूतका रुपमा नेपाल र नेपालीले गर्व गर्दै आएका भगवान बुद्ध ‘नेपालमै जन्मेका हुन्’ भनी विश्वलाई चिनाउन–बुझाउन आज नयाँ–नयाँ विधिमा आवाज बुलन्द गर्नु परिरहेको छ । हामी उन्नति या अवनति कुन बाटोमा अग्रसर छौँ, विश्वमञ्चमा हाम्रो पहिचान, इज्जत, मान्यता या अस्तित्व कुन रुपमा छ भन्ने बुझ्नका लागि यो एउटा गतिलो सन्दर्भ हो । यस्ता नरमाइला उदाहरण अनगिन्ती छन् जसको फेहरिस्त प्रस्तुत गर्नु भनेको भावी दिनलाई जानाजान थप कहालीलाग्दो तुल्याउने धृष्टता गर्नु हो । ‘नयाँ वर्ष’को आगमन भएको छ । चलिआएको चलन अनुसार फगत ‘मनाउन’कै लागि भए पनि मीठा र आशाका कुरा गर्नु बाध्यता नै छ । यसर्थ, भन्नैपर्छ– नयाँ वर्षले सबैलाई हर्ष प्रदान गरोस्, सुख, समृद्धि ल्याओस्, नेपाली घर–आँनमा खुशी छाओस्, नयाँ वर्ष–२०७० को अवसरमा सबैमा हार्दिक शुभकामना !

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा